पुनर्निर्माणको बाँकी कामलाई स्रोत उपलब्ध गराउन निर्देशन

140
Shares

काठमाडौं, (नेस) ।

भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै पूरा गर्न प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

बैठकले निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्र्नुपर्ने उल्लेख गर्दै अहिलेसम्म स्थानीय सामाजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा समितिले चासो राखेको छ । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने जानकारी दिनुभयो । पछिल्लो तथ्यांकअनुसार हालसम्म ८ लाख ६६ हजार १६० लाभग्राही पहिचान भएका छन् जसमध्ये ९५ दशमलव ७८ प्रतिशत अर्थात् ८ लाख २९ हजार ६६७ ले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गरेकामध्ये ९९दशमलव ८९ प्रतिशतले पहिलो, ९०दशमलव ४५ प्रतिशतले दोस्रो र ८४ दशमलव ७७ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् । अनुदान सम्झौता गरेकामध्ये ७ लाख ५८ हजार ९७३ अर्थात् ९१ दशमलव ४६ लाभग्राहीले घर निर्माण कार्य शुरु गरेका छन् । सार्वजनिक संरचनातर्फ हालसम्म ८८ प्रतिशत अर्थात् ६ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात् ९०६ विद्यालयको पुनर्निर्माण जारी छ ।

त्यस्तै ६४ दशमलव ५२ प्रतिशत अर्थात् ७५१ वटा स्वास्थ्य संस्था, ६३ दशमलव ७० प्रतिशत अर्थात् ५८६ वटा पुरातात्विक सम्पदा ९३ दशमलव ४९ प्रतिशत अर्थात् ३८८ वटा सरकारी भवनहरु र शतप्रतिशत अर्थात् २१६ वटा सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण भइसकेको छ । साथै पुनर्निर्माण गर्नुपर्ने ६६४ किलोमिटर स्थानीय स्तरका सडकमध्ये ६६ प्रतिशत सडकको पुनर्निर्माण भइसकेको छ भने बाँकी ३६ प्रतिशतको काम भइरहेको छ । एक सय किलोमिटर रणनीतिक सडकमध्ये ८८ प्रतिशतको काम सम्पन्न भएको छ भने १२ प्रतिशतको जारी छ । १५ वटा पुलमध्ये ९ वटाको पुनर्निर्माण भइसकेको छ । पुनर्निर्माण जारी बाँकी ६ वटा पुलको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।