खोपमा प्राथमिकता दिन उद्योगी व्यवसायीको माग

266
Shares

काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसंघका पदाधिकारीले भेट गरी जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् ।

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्न आग्रह गर्दै कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखै नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको छ ।

उत्पादनमुखी अर्थतन्त्र अहिलेको अपरिहार्य आवश्यकता हो भन्नुहुँदै अध्यक्ष अग्रवालले त्यसलाई वास्तविकतामा परिणत गर्न परिसंघले ‘मेक इन नेपाल – स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो। अग्रवालले गत वर्ष मौद्रिक नीतिले तरलता व्यवस्थापन र एकल दरको ब्याजदर कायम राख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै यस वर्ष पनि अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका लागि आवश्यक तरलता व्यवस्थापन र ब्याजदर वृद्धि रोक्ने गरी गर्ने गरी मौद्रिक नीति आउनेमा आफूहरू विस्वस्त रहेको उल्लेख गर्नुभयो।