यार्सागुम्बाको आम्दानी गुम्दै

1k
Shares

दिलकुमार लिम्बु ताप्लेजुङ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रका समुदायले यार्सागुम्बा संकलनबाट आम्दानी गुमेको छ । जिल्लाको एक मात्र क्षेत्रमा संकलन हुँदै आएको यार्सागुम्बा कोभिडका कारणले यस वर्ष संकलन हुन नसके पछि तोक्पेगोलाका समुदायको आम्दानी गुम्दै गएको हो ।

विगतका वर्षहरूमा प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको यार्सागुम्बा कोभिड—१९ का कारणले चीनको नाका बन्द भएसँगै यार्सा संकलनबाट स्थानीयले आम्दानी लिन नसकेका हुन् । जेठ अन्तिम सातादेखि संकलनका लागि अनुमति खुल्ला भए पनि संकलनका लागि अनुमति पुर्जी लिन नआएको तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेन्जीङ शेर्पाले बताउनुभयो । समुद्र सतहदेखि चार हजार ५सय मिटर उचाइ भएको क्षेत्रमा यार्सागुम्बा पाइने भए पनि यस वर्ष कोभिड—१९ का कारणले संकलन हुन नसकेको शेर्पाले बताउनुभयो ।

यार्सा संकलन गर्न अनुमति तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिले दिंदै आएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो–‘कोभिडका कारणले अघिल्लो वर्ष पनि धेरै संकलन गर्न आएनन् र यो वर्ष पनि कोभिडकै कारण यार्सा संकलन हुन सकेन ।’
सामुदायिक वन उपभोक्ता समितिले यार्सा संकलनका लागि नियम बनाएको छ । मिक्वाखोला गाउँपालिका–५ का स्थानीयवासीलाई यार्सा संकलन गर्न अनुमतिका लागि प्रतिव्यक्ति ५सय रुपियाँ दस्तुर बुझाउनु पर्नेछ । अन्य वडा र अन्य गाउँपालिकाका नागरिकले संकलन अनुमतिका लागि एक हजार ५सय रुपियाँ दस्तुर बुझाउनु पर्ने नियम रहेको शेर्पाले बताउनुभयो ।

विगत वर्षहरूमा ६० जनाभन्दा धेरैलाई यार्सा संकलन अनुमति दिंदै आएको भए पनि कोभिडका कारणले अनुमतिका लागि आवदेन नआएको शेर्पाले बताउनुभयो । विगतका वर्षमा विद्यालय छोडेर यार्सा संकलन गएको दुई वर्षयता यार्सा संकलन हुन नसकेको स्थानीय फुपू ग्यापु लामाले बताउनुभयो ।

‘दिनभरि संकलन गर्यो बेलुका संकलन गर्ने ठाउँमै व्यापारी आएर खरिद गर्नुहुन्थ्र्यो । तर, कोभिडका कारणले दुई वर्षयता संकलन हुन सकेको छैन’ –लामाले भन्नुभयो । तोक्पेगोलमा संकलन भएको यार्साको मुख्य बजार भनेको चीनमा हो । चीनको बजारमा राम्रो बजार मूल्यमा खरिद बिक्री हुने शेर्पाले बताउनुभयो ।

ताप्लेजुङ एक हिमाली जिल्ला भए पनि यार्सा भने तोक्पेगोलामा मात्र संकलन हुँदै आएको मिक्वाखोला गाउँपालिका—५ वडाका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पोगोलामा संकलन भएको यार्सागुम्बाको मुख्य बजार भने चीनसँग हुने गरेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । कोभिडका कारणले चीन नाका बन्द भएको छ । नाका बन्द भएको दुई वर्ष भएको छ । संकलन भएको यार्साले बजार नपाउने भएकाले पनि संकलन गर्न जान छोडेको लामाले बताउनुभयो ।

तोक्पेगोला सामुदायिक वन उपभोक्ता सममितिका अनुसार विगतका वर्षहरूमा दुई किलोदेखि तीन किलोसम्म यार्सा संकलन भएको तथ्यांक रहेको छ ।