म्याग्दीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता

252
Shares

प्रताप बानियाँ, म्याग्दी ।

सरकारले बेरोजगार व्यक्तिहरूलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा निरन्तरता पाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कुल एक करोडभन्दा बढीको बजेटबाट विभिन्न ११ वटा योजनामा बेरोजगारलाई समावेश गरी रोजगारी प्रदान गरिएको हो ।

नगरपालिकाभित्र विभिन्न वडामा सञ्चालित योजनाहरूबाट नगर क्षेत्रका २ सय ६ जना बेरोजगारले प्रत्यक्षरूपमा रोजगारी पाएको बेनी नगरपालिकाले जनाएको छ । बेरोजगारलाई लक्षित गरेर रोजगारी सिर्जना गर्नका लागि गतवर्ष नेपाल सरकारको ७० लाख ३१ हजार दुुईसय र विश्व बैंकको ५१ लाख ७० हजारसहित कुल एक करोड १७ लाख रुपियाँको बजेट आएको थियो ।

उक्त बजेटमध्ये ९४ लाख ५२ हजार आठसय २८ रुपियाँ बजेट खर्च भई औषतमा ८८ दिन रोजगारी सिर्जना भएको बेनी नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक कुलचन्द्र रेग्मीले बताउनुभयो । बाँकी बजेट भने रोजगारी सिर्जनाका लागि काम हुन नसकेपछि फ्रिज भएको छ । गएको वर्ष नगरपालिकाका कुल ८ सय ३५ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए भने तीमध्ये २ सय ६ जनाले दैनिक ज्यालादर पाँचसय १७ रुपियाँमा काम गरेको रोजगार संयोजक रेग्मीले जानकारी दिनुभयो ।

बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्नेगरी आएको बजेटबाट नगरपालिकाको विभिन्न वडामा पदमार्ग निर्माण, मोटरबाटो मर्मत र सोलिङ लगायतका काममा बजेट परिचालन गरिएको थियो । रोजगारी सिर्जना बजेट तथा कार्यक्रममार्फत बेनी नगरपालिका क्षेत्रमा खासगरी पर्यटन प्रवद्र्धन तथा सामुदायिक पूर्वाधार निर्माण गरी बेरोजगारलाई रोजगारी उपलब्ध गराइएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बेरोजगार व्यक्तिलाई कम्तीमा पनि सय दिनको रोजगारी दिने उद्देश्यसहित देशभरका स्थानीय तहमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी रोजगारीको सिर्जना गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै बजेट ज्यालामा खर्च गर्नुपर्ने र स्थानीय तहले थप रकम विनियोजन नगर्दा निर्माणजन्य सामग्री खरिदमा भने बजेट नहुँदा समस्या भएको रोजगार सेवा केन्द्रले बताएको छ । कार्यक्रमको बजेटबाट नगरपालिकाको अधिकांश वडाभित्र पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । गत वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको १५ लाख बजेटमध्ये बेनपा ५ पुलाचौरमा भीरमुनिको कुमाल्डीदेखि वडा कार्यालय हुँदै जगन्नाथ–डढेकोट पदमार्ग निर्माण थालिएकोमा स्थानीय युवाले रोजगारी पाएको गाजनेका स्थानीय अगुवा निलकण्ठ शर्माले बताउनुभयो ।

यसै गरी चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेनी नगरपालिकामा कुल ९१ लाख ४२ हजार रुपियाँ बजेट प्राप्त भएको छ । चालु आवको रोजगार कार्यक्रमका लागि नगरपालिकामा ५ सय ४ जना बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नगरपालिका क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।