डोटीमा भाइरल ज्वरोका बिरामी बढे

364
Shares

विमल विष्ट, डोटी ।

जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा. ललितकुमार लिम्बुले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘पानीमा भिजेर वा चिसो पेय पदार्थ पिउनाले भाइरल ज्वरोको समस्या देखिएको हो, आत्तिहाल्नु पर्ने अवस्था छैन, ज्वरो आउनासाथ अस्पताल जानु अनिवार्य हुन्छ ।’

शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजंग कुँवरले जानकारी दिनुभयो । यसै गरी यहाँका अन्य निजी पोलिक्लिनिक तथा मेडिकलहरूमा समेत उक्त रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।