कोरोनाको जोखिम बढेपछि ‘तपाईंको मास्क खै’ अभियान शुरू



अनिल खत्री, गुल्मी ।

गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ बिहीबार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईंको मास्क खै’ अभियान शुरू गरेको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै जिल्लामा माक्स लगाउन कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
भियानअन्र्तगत शुरूको दिन माक्स नलगाई हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने शर्माले बताउनुभयो । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताउनुभयो । माक्स खै अभियानमा जिल्लास्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरूको अगुवाइमा सचेतनामुलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो ।

विश्वभर कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ । जिल्लामा साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दोस्रो लहरको रूपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लागाउनेको संख्या ४३ हजार २६१ जना रहेको छ । दोस्रो मात्राको खोप लागाउनेको संख्या ९ हजार ८९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्