बालिकाको सामूहिक बलात्कारपछि हत्या गरी जबर्जस्ती शव जलाइयो


नयाँदिल्ली, (एजेन्सी) ।

एक नौ वर्षीया बालिकाको सामूहिक बलात्कार र हत्यापछि जबर्जस्ती शव जलाइएको घटनाविरुद्ध भारतको राजधानी नयाँदिल्लीमा चौथो दिन बुधबार पनि लगातार विरोध प्रदर्शन भइरहेको छ । ती पीडित बालिकाका आमा–बुबाले मसानघाटमा पिउने पानी लिन जाँदा उनलाई एक हिन्दू पुरोहितलगायत अन्य तीन जनाले आक्रमण गरेको जनाएका छन् ।

उनकी आमाले गेटहरू बन्द गरेर आफूलाई डर धम्की देखाई तिनीहरूले बालिकाको शव जलाएको बताएकी छन् । प्रहरीले सामूहिक बलात्कार र हत्याको उजुरी दर्ता गर्दै आशंकित सबै पुरुषलाई गिरफ्तार गरिसकेको छ ।

ती दलित समुदायकी भनिएकी पीडितका माता–पिता दिल्लीको नान्गाल क्षेत्रको श्मसानघाट सामुन्नेको सुफी मुस्लिम मस्जिदसामु मागेर गुजारा चलाउने गरेका छन् । उनी एक मात्र सन्तान थिइन् उनकी आमाले भनेकी छन्, ‘आइतबार साँझ झुपडीबाट पानी लिन गएकी छोरी एक घन्टाभन्दा लामो समयसम्म पनि नफर्केपछि म उनलाई खोज्न हिँडें । मसानघाटमा उनी भुइँमा लडेकी थिइन् ।

ओठ निलो भइसकेको थियो, नाकमुनि रगत जमेको थियो, उनका हातपाखुरामा चोटपटकको निशान थिए । लुगा च्यातिएको र भिजेको देखिन्थे । यस्तो अवस्थाकी आफ्नी छोरीलाई पुरोहितलगायत ती तीन जना पुरुषले प्रहरीकहाँ गए भने अटोप्सी गर्ने र उनका अंगहरू चोरेर बेच्न सक्ने भन्दै नजान सल्लाह दिए ।’

पीडितका पिताले करिब एक सय ५० जना गाउँले लिएर मसानघाट पुग्दा छोरीकँे आधा शव जलिसकेको बताएका छन् ।