विवाद टुंग्याउन माग गर्दै घरदैलो अभियान

924
Shares

भूपराज बस्याल, काठमाडौं ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस, बाग्लुङका जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहितका टोलीले केन्द्रीय नेताका घरघरमा पुगेर क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन र महाधिवेशन समयमै गर्न दबाब दिन थालेको छ ।

थापाको घरदैलो टोली बिहीबार कांग्रेस नेता गोपालमान श्रेष्ठको घरमा पुगेको थियो । नेता श्रेष्ठले वडा, जिल्लाबाट निर्णय भएका सदस्यलाई केन्द्रले रोक्न नमिल्ने भन्दै टोलीलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । उहाँले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न गठित समितिले समेत सदस्यता दिन सिफारिस गरिसकेको हुँदा ढुक्क हुन आग्रह गर्नुभएको हो । नेता श्रेष्ठले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘कांग्र्रेस हुन्छु भन्ने सच्चा कार्यकर्तालाई क्रियाशील सदस्यता दिनुपर्छ ।’

वडा, जिल्ला र क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन गठित समितिले सिफारिस गरेको सदस्यताको विषयमा समेत अनावश्यक विवाद सिर्जना गरेको भन्दै यो अभियान थालेको थापाको भनाइ थियो । उहाँले भन्नुभयो– ‘बाग्लुङका ३ वडामा मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद छ । त्यो अन्य पार्टीबाट आउनुभएकाहरूको सम्बन्धमा मात्रै हो । जुन वडा जिल्लाबाट निर्णय हुँदै केन्द्रसम्म पुगेको छ । यसरी प्रक्रिया पुर्‍याएर आएको सदस्यतामा अनावश्यक विवाद गरिनुहुँदैन ।’

महाधिवेशन प्रतिनिधि हरि आचार्य पनि १३औं महाधिवेशनका प्रतिनिधिलाई आधार मानेर विशेष महाधिवेशन गर्ने चर्चा भएको भन्दै त्यसो हुन नहुने धारणा राख्दै भन्नुहुन्छ– ‘यसरी विशेष महाधिवेशन गरेर पार्टीलाई कमजोर नबनाउन आग्रह गर्दै नेताका घरघरमा पुगेर राष्ट्रिय चौधौं महाधिवेशनको माग गरेका हौं ।’ त्यस्तै महिला संघका केन्द्रीय सदस्य पार्वती आचार्यले पनि नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले नेताका घरघरमा पुगेर दबाब सिर्जना गरेका छौं र नेतृत्वबाट सकारात्मक जवाफ आएको छ ।’

क्रियाशील सदस्यताको विवाद पार्टीको केन्द्रीय समितिको बैठक राखेर टुंगो लगाउनुपर्नेमा नेताका घरघरमा गरिने बैठकले पार्टीको विधि पद्धतिलाई कमजोर बनाउने धारणा अघि सार्दै केन्द्रीय सदस्य शंकर भण्डारी भन्नुहुन्छ– ‘क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन गठित समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुको सट्टा नेताले आफूखुसी अभिव्यक्ति दिँदै हिड्नु दुःखद् हो ।’ क्रियाशील सदस्यता विवाद सम्बन्धमा केन्द्रीय समितिको बैठक बस्न नसकेको जिकिर गर्दै उहाँले पदाधिकारी र पूर्वपदाधिकारी मिलेर यो विवाद टुंगो लगाउने व्यवस्था पार्टीको विधानमा नभएको हुँदा तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाएर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।

 

क्रियाशील सदस्यतासम्बन्धी टुंंगो लगाउन पार्टी नेतृत्वलाई हम्मेहम्मे परेपछि पार्टीले रमेश लेखक संयोजक रहने गरी एउटा समिति नै बनाएको थियो । तर समितिले विवाद मिलाउन नसकेपछि विवाद मिलाउने जिम्मेवारी पुनः पार्टी नेतृत्वमै फर्किएको छ । विवाद मिलाउन गठित समितिले आफूले गरेको कामको विवरणसहित साउन १२ गते पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । केन्द्रीय समितिले उक्त प्रतिवेदन बुझ्दै १९ गतेभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने भनिए पनि अहिलेसम्म विवादको टुंगो लगाउन सकेको छैन ।