पूर्ण बजेट ल्याउन डा. महतको सुझाव

252
Shares

काठमाडौं, (नेस) ।

पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोेल्दै डा. महतले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पूर्ण बजेट ल्याउनुपर्ने महतको भनाइ छ ।

अर्थतन्त्रलाई पुनर्जीवन दिने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै पूर्व अर्थमन्त्री डा. महतले अब ल्याउने बजेटको आकारमात्रै बढाउन नहुने सुझाव दिनुभयो । उहाँले अध्यादेशमार्फत् आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको बताउनुभयो ।

‘अहिले एक जनाको भागमा ५२/५३ हजार रुपियाँ ऋण पुगेको छ । अबको बजेटमा प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ भन्नुभयो । सरकारले भूमि आयोग विघटन गरेकोमा खुशी व्यक्त गर्दै भन्नुभयो–‘भूमिहिनहरुलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्नुपर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइएको थियो । यसलाई विघटन गर्नु उचित हो ।’ पूर्वमन्त्री महतले राजनीतिक नियुक्ति गर्दा पनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो ।