देउवालाई सचिवालय गठनमा सकस

322
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रधानमन्त्रीको सचिवालय निकै संवेदनशील हुन्छ । सरकारलाई सफल वा असफल बनाउनका लागि पनि सचिवालयकै महत्वपूर्ण भूमिका रहन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको तेस्रो हप्ता गुज्रिसक्दा पनि सचिवालयलाई चुस्तदुरुस्त बनाउन सक्नुभएको छैन ।

दुई/दुईपटक संसद् विघटनपछि पुनःस्थापित भएर विषम परिस्थितिमा बनेको देउवा सरकारको अत्यावश्यक र महत्वपूर्ण खासखास जिम्मेवारीहरू पनि निर्धारित छन् । कुनै पनि हालतमा देउवा असफल बन्न नमिल्ने परिस्थितिमा प्रधानमन्त्रीको सचिवालय र कोर टिम कमजोर हुनु स्वयम् प्रधानमन्त्री देउवा मात्र नभएर गठबन्धन नै असफल हुनु हो ।

माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल गुटसहितको गठबन्धनमा बनेको देउवा सरकारले अझै मन्त्रिपरिषद्को विस्तार गर्न सकेको छैन । दुईपटक गरी ६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट मन्त्रीको हैसियत नदिएपछि क्याबिनेट पाँच सदस्यमा समेटिएको छ ।

समयमै मन्त्रिपरिषद्को विस्तार गर्न नसकेको देउवा सरकारले आफ्नो सचिवालय व्यवस्थित गर्नसमेत सकिरहेको छैन । आफ्नो सचिवालयमा भएको नियुक्तिको ढिलाइ प्रधामन्त्रीको दैनिक कार्य पनि प्रभावकारी ढंगले अघि बढिरहेको छैन । यद्यपि, देउवाले आफूसँगै बूढानीलकण्ठमा रहेका केही सहयोगीद्वारा सचिवालयको नियमित काम भने गराइरहनुभएको छ । उहाँले आफ्ना सहयोगी भानुबहादुर देउवा (भानु), प्रकाश देउवा, वीरेन्द्र थापालगायतलाई दैनिक प्रधानमन्त्रीसँगको भेटघाट सहजीकरणका लागि खटाइएको छ । निजी सचिवका रूपमा बद्री तिवारीले जिम्मेवारी पाउनुभएको छ ।

यस्तै, प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटाले यसअघिको कार्यकालमा झैँ जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । देउवाको सामाजिक सञ्जालको जिम्मा गोविन्द परियारले पाउनुभएको छ । प्रधानमन्त्री पत्नी आरुजु राणासँग निकटको सम्बन्ध रहेको भनिएका परियारले आफूसँगै विजय अधिकारीसमेतलाई समेटेर काम गरिरहेको बताइन्छ । परराष्ट्र मामिलामा डा. दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई सहयोग गर्दै आउनुभएको छ । सुशील कोइरालाको अति प्रिय पात्र मानिने भट्टराईलाई देउवाले आफ्नो अघिल्लो कार्यकालमा टिममा भित्र्याउनुभएको थियो ।

देउवाको प्रमुख आर्थिक सल्लाहकारका लागि बालुवाटार दौडधुप गर्नेमा ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकीलगायत छन् । यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि सूचीमा परेका शर्मा र बुढाथोकीले आयोगमा ठाउँ नपाएपछि देउवाको आर्थिक सल्लाहकार बन्ने सपना बुन्न थालेको निकट स्रोत बताउँछ ।

यस्तो गम्भीर अवस्थामा पनि देउवाको कोर टिममा काम गर्न लालायितहरूको दौडधुप मात्र हैन प्रधानमन्त्री देउवाले यस्तै दौडधुपमा लागेकालाई नै चयन गर्ने छनक देखिएपछि महामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले यसलाई रोक्न सक्रिय हुनुभएको छ ।

महामन्त्री खड्काले व्यापारिक पृष्ठभूमिका र प्रधानमन्त्री पत्नी आरजुका व्यापार साझेदारसमेत रहेका भनिएका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि खुलेरै असन्तुष्टि व्यक्त गर्नुले पनि उहाँका आसेपासेलाई टिममा नराख्ने छनक देखाएको प्रस्ट बुझिन्छ । महामन्त्री खड्काले आफैँ सबै निर्णय गर्ने भए केको संयन्त्र र संयोजक तोकेको भनेर कटाक्ष गरेपछि स्वयं प्रधानमन्त्री देउवाले आफूबाट गल्ती भएको स्वीकारेर माफीसमेत माग्नुभएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको सचिवालयले छिटै पूर्णता पाउने र सचिवालय गठनबारे तयारी भइरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउनुहुन्छ । प्रभावकारी ढंगले कार्य गर्ने सक्षम व्यक्तिहरू राखेर प्रधानमन्त्रीको सचिवालय गठन नगरे सरकारको समग्र कार्य नै प्रभावित हुन सक्छ भन्दै उहाँले सक्षम व्यक्तिहरू राखेर सचिवालय गठन गरी कार्य गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री पत्नी राणा, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, रमेश लेखकको कोर टिम छ देउवासँग । यसअघि देउवाको कोर टिममा सबैभन्दा विश्वासिलो पात्रका रूपमा उपसभापति विमलेन्द्र निधि थिए । विमलेन्द्र निधिले आफू १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने र त्यसका लागि सभापति देउवालाई सहयोग गर्न भनेपछि देउवाले आफ्नो टिमबाट निधिलाई पन्छाउनुभएको हो । निधिसँगको निकट सम्बन्ध रहेको मानिएका ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलाई समेत आफ्नो कोर टिमबाट अलग्याउने कसरतमा देउवा रहेको देउवा निकट एक नेताले बताए ।

यस्तै, ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका उपसभापति विजयकुमार गच्छदारलाई टिमभित्र निधिको स्थान परिपूर्तिका लागि उतार्ने सोच देउवामा देखिन्छ भने मीनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मालगायतलाई आफूभन्दा टाढा जान नदिने रणनीति देउवाले अपनाउने स्रोत बताउँछ । पार्टी, सरकार र टिमभित्रका महत्वपूर्ण निर्णय यही कोर टिमबाट देउवाले गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाका थिङ ट्यांकका रूपमा परिचित खड्का नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ । पछिल्लो समय पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिमा उम्मेदवारी दिने इच्छा प्रकट गरी तयारी गर्न थालेपछि देउवाका खास सारथीका रूपमा महामन्त्री खड्का देखा पर्नुभएको छ । पार्टीको १३औं महाधिवेशनपछि देउवाले खड्कालाई पार्टीको महामन्त्रीमा मनोनीत गर्नुभएको थियो ।

महामन्त्री खड्का अहिले सरकार सञ्चालनमा सहयोग गर्न भनेर सत्ता गठबन्धनले बनाएको कार्यदलको संयोजक बन्नुभएको छ । देउवाका हरेक राजनीतिक भेटघाट र गतिविधिमा खड्काले सान्निध्यमा बसेर काम गरिरहनुभएको छ ।

त्यसै गरी सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन उपयुक्त पात्रहरूको छनोट भइरहेको बताउनुभएको छ । उहाँले छिटै नै प्रधानमन्त्रीको सचिवालयले पूर्णता पाउने र प्रभावकारी ढंगले काम अघि बढ्ने बताउँदै सरकारको समग्र कामलाई सफलता दिलाउन सचिवालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो चौथो कार्यकालमा राखेको टिमलाई नै आफूसँगै काम गराइरहेकाले प्रधानमन्त्रीको निजी सचिवालयमा अधिक फेरबदलको सम्भावना छैन । अघिल्लो कार्यकालका प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र परराष्ट्र सल्लाहकारका रूपमा काम थालिसकेका छन् । यद्यपि, उनीहरूले नियुक्ति भने पाइसकेका छैनन् ।

तर पनि देउवाको प्रमुख सल्लाहकारका लागि गेजा शर्मा वाग्लेको दौडधुप रहेको स्रोत बताउँछ । सञ्चार सल्लाहकारका लागि बद्री सिग्देल, डा. नमराज लम्साल, वसन्तप्रकाश उपाध्याय र डा. सुरेश आचार्यको चर्चा चुलिएको छ । यसअघिको कार्यकालमा देउवाले सञ्चार सल्लाहकार उपयुक्त पात्र नभेटिएका कारण सञ्चार विज्ञका रूपमा गोविन्द परियारलाई नियुक्त गरेको चर्चा चलेको थियो ।

देउवाले प्रमुख राजनीतिक सल्लाहकार पार्टीको १४औं महाधिवेशनपछि मात्रै नियुक्त गर्ने स्रोत बताउँछ । यसअघि पनि सुरक्षा सल्लाहकार नराखेका प्रधानमन्त्री देउवाले सुरक्षा सल्लाहकारमा चासो नदिएको बुझिएको छ । त्यस्तै, जनसम्पर्क सल्लाहकारमा पनि यही स्थिति देखिन्छ । यद्यपि प्रधानमन्त्रीको सचिवालयमा कसलाई लाने कसलाई नलैजाने र महत्वपूर्ण राजनीतिक नियुक्तिहरूमा कसलाई स्थान दिने भन्ने निर्णय प्रधानमन्त्रीपत्नी आरजु राणा र उनका भाइ भूषण राणाले गर्ने र त्यही नाममा रबरस्ट्याम्प देउवाले लगाउने प्रधानमन्त्री निकटको स्रोतको दाबी छ ।