प्रधानमन्त्री देउवाको सचिवालयमा कस्को हालिमुहाली ?

तेह्रौं महाधिवेसनका सहयोगीहरुलाई पन्छाईदै


रामकृष्ण चापागाईं, काठमाडौं । 

काठमाडौं । काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको तेस्रो हप्ता गुज्रिएको छ । माओवदी केन्द्र, जसपा र एमालेको माधव नेपाल गुट सहितको गठबन्धनमा बनेको देउवा सरकारले अझै मन्त्रीपरिषद्को विस्तार गर्न सकेको छैन । दुई पटक गरी ६ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट मन्त्रीको हैसियत नदिए पछि उनको क्याबिनेट पाँच सदस्यमा समेटिएको छ ।

समयमै मन्त्रीपरिषद्को विस्तार गर्न नसकेको देउवा सरकारले आफ्नो सचिवालय व्यवस्थित गर्न समेत सकिरहेको छैन । आप्mनो सचिवालयमा भएको नियुक्तिको ढिलाई प्रधामन्त्रीको दैनिक कार्य पनि प्रभावकारी ढंगले अघि बढिरहेको छैन । यद्यपि देउवाले आफूसँगै बुढानिलकण्ठमा रहेका केही सहयोगीहरुद्धारा सचिवालयको नियमित काम भने गराइरहनु भएको छ। उहाँले आफ्ना सहयोगी भानुबहादुर देउवा (भानु), प्रकाश देउवा, वीरेन्द्र थापा लगायतलाई दैनिक प्रधानमन्त्रीसँगको भेटघाट सहजीकरणका लागि खटाइएको छ । निजी सचिवका रुपमा बद्री तिवारीले जिम्मेवारी पाएका छन् ।यस्तै प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटाले यसअघिको कार्यकालमा झैँ जिम्मेवारी सम्हाल्दै आएका छन् ।

देउवाको सामाजिक सञ्जाल हेर्नका लागि गोविन्द परियारले काम गरिरहेको बुझिएको छ । प्रधानमन्त्री पत्नी आरुजुसँग निकटको सम्बन्ध रहेको बताउँने गरेका परियारले आफूसँगै विजय अधिकारी समेतलाई समेटेर काम गरिरहेको बताइन्छ । परराष्ट्र मामिलामा डा.दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई सहयोग गर्दै आएका छन् । सुशील कोइरालाको अति प्रिय पात्र मानिने भट्राईलाई देउवाले आफ्नो अघिल्लो कार्यकालमा टिममा भित्राउनु भएको थियो ।देउवाको प्रमुख आर्थिक सल्लाहकारका लागि बालुवाटार दौडधुप गर्नेमा ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकी लगाएत छन । यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि सूचिमा परेका शर्मा र बुढाथोकीले आयोगमा ठाउँ नपाएपछि देउवाको आर्थिक सल्लाहकार बन्ने सपना बुन्न थालेको निकट स्रोत बताउँछ ।

प्रधानमन्त्रीको सचिवालय निकै सम्वेदनशील हुने र सरकारलाई सफल वा असफल बनाउनका लागि सचिवालयकै महत्वपूर्ण हात हुन्छ । दुई दुई पटक संसद् विघटनपछि पुनःस्थापित भएर विषम परिस्थितिमा बनेको देउवा सरकारको अत्यावश्यक र महत्वपूर्ण खास खास जिम्मेवारीहरु पनि निर्धारित छन् । कुनै पनि हालतमा देउवा असफल बन्न नमिल्ने परिस्थितिमा प्रधानमन्त्रीको सचिवालय र कोर टिम कमजोर हुनु स्वयं प्रधानमन्त्री देउवा मात्र नभएर गठबन्धन नै असफल हुनु हो ।यस्तो गम्भीर अवस्थामा पनि देउवाको कोर टिममा काम गर्न लालायितहरुको दौडधुप मात्र हैन प्रधानमन्त्री देउवाले यस्तै दोडधुपमा लागेकालाई नै चयन गर्ने छनक देखिएपछि महामन्त्री समेत रहेका पूर्णबहादुर खड्ले यसलाई रोक्न सक्रिय हुनु भएको छ ।

महामन्त्री खड्काले व्यापारिक पृष्ठभूमिका र प्रधानमन्त्री पत्नी आजुका व्यापार साझेदार समेत रहेका भनिएका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि खुलेरै असन्तुष्टि व्यक्त गर्नुले पनि उहा हासेपासेलाई टिममा नराख्ने छनक देखाएको प्रष्ट बुझिन्छ । महामन्त्री खड्काले आफैँ सबै निर्णय गर्ने भए के को संयन्त्र र संयोजक तोकोको भनेर कटाक्ष गरेपछि स्वयं प्रधानमन्त्री देउवाले आफूबाट गल्ति भएको स्वीकारेर माफि समेत माग्नु भएको स्रोतले बताएको छ ।

 डा. आरजु राणा देउवा, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, डा. प्रकाश शरण महत, रमेश लेखकको कोर टिम छ देउवासँग । यसअघि देउवाको कोर टिममा सबैभन्दा विश्वासिलो पात्रका रुपमा उपसभापति विमलेन्द्र निधि थिए । विमलेन्द्र निधिले आफू १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने र त्यसका लागि सभापति देउवालाई सहयोग गर्न भनेपछि देउवाले आफ्नो टीमबाट निधिलाई पन्छाएका हुन् । निधिसँगको निकट सम्बन्ध रहेको मानिएका ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउँदलाई समेत आफ्नो कोर टिमबाट अलग्याउने कसरतमा देउवा रहेको देउवा निकट एक नेताले बताए । यस्तै ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपीरहेका उपसभापति विजयकुमार गच्छदारलाई टिमभित्र निधिको स्थान परिपूर्तिका लागि उतार्ने सोँच देउवामा देखिन्छ भने मिनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा लगायतलाई आफूभन्दा टाढा जान नदिने रणनीति देउवाले अपनाउने स्रोत बताउँछ । पार्टी, सरकार र टिमभित्रका महत्वपूर्ण निर्णय यही कोर टिमबाट देउवाले गर्दै आएका छन् ।

सरकार सञ्चालन, गठबन्धन संयोजन र पार्टी सञ्चालनमा पूर्णबहादुर खड्काको उदय

पूर्णबहादुर खड्का नेपाली कांग्रेसका महामन्त्री हुन् । उनी पटक पटक गृहमन्त्रीको जिम्मेवारी वहन गरिसकेका व्यक्ति हुन् । पछिल्लो समय पार्टी उपसभापति बिमलेन्द्र निधिले पार्टी सभापतिमा उम्मेदवारी दिने इच्छा प्रकट गरी तयारी गर्न थालेपछि खड्का देउवाका खास सारथीका रुपमा देखा परेका छन् । पार्टीको १३ औं महाधिवेशनपछि देउवाले खड्कालाई पार्टीको महामन्त्रीमा मनोनीत गरेका थिए । खड्का अहिले सरकार सञ्चालनमा सहयोग गर्न भनेर सत्ता गठबन्धनले बनाएको कार्यदलको संयोजक बनेका छन् । देउवाका हरेक राजनीतिक भेटघाट र गतिविधिमा खड्काले सान्निध्यमा बसेर काम गरिरहेका छन् । देउवाले पटक पटक गृहमन्त्री समेत भइसकेका खड्कालाई ज्योतिष मन्त्रीको संज्ञा पनि दिएका थिए । खड्का जापान भ्रमणमा रहेको बेला आफ्नो भ्रमणलाई इमरजेन्सी टुङ्ग्याएर त्रिभुवन विमानस्थलमा ओर्लने वित्तिकै सोझै देउवालाई भेटी केही घण्टा भित्रै राजा ज्ञानेन्द्रले ‘कू’ गरी शासन हातमा लिँदैछन् भन्ने सूचना दिएपछि उक्त सुचना गलत हो भन्दै सात्तो लिएका देउवाले केही समयमै तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाएर देउवालाई गिरफ्तारी गरेपछि उनले खड्कालाई ज्योतिष मन्त्रीको संज्ञा नै दिएका थिए । अथेन्टिक सूचनामा विश्वास राख्ने खड्काले जस्तोसुकै बेला पनि भरपर्दो सहयोग र सल्लाह दिने र आफूलाई नछाड्नेमा देउवा विस्वस्थ देखिन्छन् ।

पौडेलले अवसर पाए, घिमिरेले गुमाए

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा देउवालाई पार्टीको सभापति बनाउनको लागि अहोरात्र खट्ने पात्र हुन् परशु घिमिरे । तरुण साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका घिमिरे करिव २५ वर्षदेखि देउवासँगै कोर टिममा थिए । उनले देउवाका अप्ठ्यारा दिनहरुमा पनि साथ दिन छाडेनन् । आफ्नो जीवनको अन्तिम लक्ष्य नै देउवालाई नेपाली काँग्रेसको सभापति बनेको हेर्नु हो भन्ने घिमिरेले १३औं महाधिवेशनअघि देउवाको गोप्य सचिवालय सम्हालेका थिए । अन्ततः देउवा काँग्रेसका सभापति बने, घिमिरे देउवाको प्राथमिकतामै परेनन् । घिमिरेको सट्टा कृष्ण प्रसाद पौडेलले अवसर पाए । पौडेल काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव छन् । उहाँ देउवा निकट कांग्रेस नेताहरुका लगानी रहेको भनिएको बि.एस्.टी.कलेजका सञ्चालक थिए । साथै नेपाल शिक्षक संघको पराजित सभापतिका उम्मेदवार समेत थिए । १३ औं महाधिवेशनमा देउवालाई जिताउनका लागि आफ्नो सहयोगीका रुपमा घिमिरेले नै पौडेललाई आफूसँगै राखेका थिए । १३ औं महाधिवेशनमा सभापति जितेपछि देउवाले घिमिरेलाई पन्छाएर पौडेललाई अवसर दिएको र घिमिरेलाई आफू प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार राख्ने आस्वासन दिएको जानकारहरु बताउँछन् । तर, देउवाले यसअघि प्रधानमन्त्री हुँदा पत्नी आरजुसँग नजिक मानिने अन्नपूर्ण पोष्टका सम्वाददाता गोविन्द परियारलाई प्रेस संयोजक बनाएपछि घिमिरेको अवसर गुमेको थियो ।

लम्सालको मेहिनत: परियारको आरक्षण

देउवालाई सभापति बनाएर प्रधानमन्त्रीका लागि योग्य बनाउन मेहिनत गर्ने पात्र हुन् नवराज लम्साल । रेडियोकर्मी लम्साल नेपाली भाषा, कला र साहित्यमा दख्खल राख्छन् । उनले काँग्रेसको १३ औं महाधिवेशनमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई देउवाका तर्फबाट चिठ्ठीको खाका तयार पारेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा छिमेकी राष्ट्र भारतले लगाएको अघोषित नाकाबन्दीमा समेत नैकापदेखि अनामनगरसम्म पैदल आएर लम्साल देउवाका तर्फबाट महाधिवेशन, महासमिति सदस्यका लागि चिठ्ठी बनाउँदथे । उनलाई देउवाले प्रेस युनियनको उम्मेदवार बनाउने, पत्रकार महासंघको उम्मेदवार बनाउने आश्वासन त दिएका थिए नै आफ्नो सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिने वा राजनीतिक नियुक्तिमा ठाउँ दिने आश्वासन समेत दिएको जानकारहरु बताउछन । तरपनि पनि लम्साल देउवाको प्राथमिकतामा परेनन् । बरु, लम्सालको मिहिनेतको बेवास्ता गर्दै आरजु देउवाको आरक्षणमा परे गोविन्द परियार । प्रधानमन्त्रीको सचिवालयको उच्च पदमा पहिलोपटक दलित सम्प्रदायलाई अवसर दिएकोमा विदेशी नियोगहरुले समेत प्रम देउवा र आफूलाई उच्च महत्वका साथ मूल्यांकन गर्ने गरेको प्रधानमन्त्री पत्नी राणाले अनौपचारिक जमघटका बेला भन्ने गरेको स्रोत बताउँछ ।

सिग्देलको नसकिएको पद, उपाध्यायलाई अदालतको गलपासो


काँग्रेसको १२औं महाधिवेशनसम्म सभापतिमा पराजीत देउवाको पक्षमा माहौल सिर्जना भएको मुख्य अधिवेशन थियो २०७१ भदौको प्रेस युनियनको पोखरा अधिवेशन । तत्कालीन अवस्थामा सुशील कोइराला पार्टीका सभापति र प्रधानमन्त्री थिए भने कोइराला लाइनकै डा. मीनेन्द्र रिजाल सञ्चारमन्त्री । कोइराला क्याम्पबाट शिब लम्साललाई जिताउने जिम्मेवारी मीनेन्द्र रिजालले पाएका थिए । देउवा क्याम्पबाट बद्री सिग्देललाई जिताउने जिम्मेवारी पूर्णबहादुर खड्काले ।खड्काले यसअघिनै ट्रेड युनियन काँग्रेसको चितवन अधिवेशनमा देउवा टिमका तर्फबाट खिला दाहाललाई बिजयी गराउने जिम्मेवारी पूरा गरिसकेका थिए । सिग्देलले प्रेस युनियनमा विजयी प्राप्त गर्नु चानचुने कुरा थिएन । कुनै पनि भ्रातृ संगठनको अधिवेशन हुन नसकिरहेको र भएको अधिवेशनमा देउवा पक्षका सिग्देलको जीत देउवा टिमका लागि रणनैतीक सफलता र देउवाको जीतको सुरुवाती सफलता थियो । २५ वर्ष यता निरन्तर देउवाको सानिध्यमा रहेका सिग्देलको प्रेस युनियनको अध्यक्षको तीन बर्षे कार्यकाल पूरा भए पनि प्रेस युनियनको अधिवेशन हुन नसक्दा अझै सकिएको छैन ।

प्रधानमन्त्री देउवाको चौथो कार्यकालमा प्रेस सल्लाहकारको मुख्य दावेदारमध्येका एक मानिएका सिग्देलको क्षमता र प्रभावलाई आरजुले बेवास्ता गरेपछी उनी छायामा परेको स्रोत बताउँछ । स्रोतको दावी छ:  देउवाको पाँचौं कार्यकालमा पनि सिग्देललाई पञ्छाउन अनेक तत्व हावी भएको छन्, जसको पँहुँच सिधै आरजु राणासँग छ ।देउवा पक्षका सिग्देललाई प्रेस युनियन हुँदै अन्य भ्रातृ संगठन र देउवालाई १३औं महाधिवेशनमा पार्टीका सभापतिमा जिताउनका लागि रणनीतिक रुपमा खड्काले वसन्तप्रकाश उपाध्यायको संयोजकत्वमा सञ्चार सयन्त्र बनाएका थिए । उक्त संयन्त्रमा नवराज लम्साल, समिरजंग शाह, केदार कोइराला, रामजी दाहाल, प्रकाशचन्द्र परियार, किरण गजुरेल लगायत थिए । खड्काले त्यही सञ्चार संयन्त्रलाई नै तेह्रौं महाधिवेशनमा देउवाले जितेपछि पार्टीको सञ्चार विभागमा परिणत गर्ने प्रतिवद्धता ब्यक्त गरेको तर १३औं महाधिवेशनमा देउवा विजयी भएपछि संचार संयन्त्रलाई बिर्सिएको संयन्त्रका एक सदस्य बताउँछन् ।

१३औं महाधिवेशनका लागि संचार संयन्त्रलाई चलयमान बनाउन उपाध्यायलाई खड्काले अनामनगरमा छुट्टै अफिस स्थापना गराइदिएका थिए । देउवा पक्षका लागि सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् माहौल सिर्जना गराउने काम उपाध्याएकै संयोजकत्वमा हुने गरेको थियो । देउवा सभापति भइ चौथोपटक प्रधानमन्त्री भएपछि ‘गोरखापत्र संस्थानको महाप्रबन्धक’ पद पाएका थिए उपाध्यायले । ओली सरकारको कोपभाजनमा परेका उपाध्यायलाई तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले अनेकौं दुख दिएको उपाध्याय बताउँछन् । ओली सरकारले उपाध्यायलाई पदबाट दुई पटकसम्म हटाएको थियो । उपाध्यायले अदालतबाट अन्तरिम आदेश ल्याएपछि गोरखापत्रको कार्यकारी अध्यक्षको पद सिर्जना गरी कृष्णमुरारी भण्डारीलाई मन्त्रालयले पठाएको थियो । आफू एक्लै ओली सरकारसँग जुधेर रहेको र निरन्तर काँग्रेस र देउवाको पक्षमा वकालत गरिरहेका कारण आफूलाई देउवा सरकारले सचिवालयमा राम्रो ठाउँ दिनेमा बिस्वस्त रहेको बताउने उपाध्यायको मुद्दा विचाराधीन अवस्थामा अदालतमा छ ।

गुमनाम पात्र गजुरेल र खत्री

देउवालाई १३औं माधिवेशनबाट सभापति बनाउनका लागि विशेष महत्वपूर्ण भूमिका निर्बाह गरेका पात्र हुन् किरण गजुरेल र गोकुल खत्री । ‘लो प्रोफाइल’मा बसेर काम गर्ने गजुरेल र खत्रीले १३औं महाधिवेशनअघि करिब ३ वर्ष दैनिक १८ घण्टासम्म काम गरेको स्रोत बताउँछ ।
उनीहरुले देशभरका कार्यकर्ताहरुको वास्तविक इन्फरमेशन कलेक्सन गर्थे । पार्टीभित्रको आन्तरिक अंकगणीतमा को कोइरालातिरको ? को देउवातिरको ? को सिटौला तिरको ? को प्रलोभनमा पर्न सक्ने ? कसले अवसर पाउँदा ककसलाई प्रभाव पर्ने ? कसको पृष्ठभूमि कस्तो ? कसको पार्टीमा योगदान कस्तो ? को ल्याउँदा देउवालाई फाइदा पुग्ने ? कोइराला पक्षको कसलाई कुन आधारमा देउवा पक्षमा ल्याउन सकिन्छ भनी गंभीर र गोप्य तवरले सूचना निकाल्थे ।
त्यसबेला गजुरेल र खत्रीले सम्भावित महाधिवेशन प्रतिनिधिहरुको सम्पूर्ण व्यक्तिगत विवरण कलेक्सन गर्दथे र हरेक हस्ता रिपोर्ट दिन्थे परशु घिमिरे र कृष्ण पौडेलमार्फत् देउवालाई । त्यही विवरणका आधारमा देउवाका तर्फबाट महाधिवेशन प्रतिनिधिका लागि चिठ्ठी तयार गर्दथे नवराज लम्सालले । स्रोतको दावी छ: त्यही इन्फरमेशनलाई आफूले गराएको भनी देउवासमक्ष प्रस्तुत हुँदा कृष्ण पौडेलले पार्टी कार्यालयको मुख्य सचिव पाएका थिए। तर तिनै पौडेलले समेटेनन् गजुरेल र खत्रीलाई । न त देउवाले कहीँ कतै जिम्मेवारी नै दिए । देउवा प्रधानमन्त्री बन्दा समेत गुमनाम पात्र गजुरेलले २०७४को निर्बाचनमा समेत देउवाका तर्फबाट डडेल्धुराका प्रत्येक मतदातालाई व्यक्तिगत चिठ्ठी तयार गरेको डडेल्धुराका काँग्रेस सभापति कर्णबहादुर मल्लले बताए ।

के गर्छ प्रधानमन्त्रीको निजी सचिवालयले ?

– प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने ।
– सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।
– प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।
-प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।
– प्रधानमन्त्री समक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने ।
– प्रधानमन्त्री समक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्ने ।
– प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने ।
– प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने ।
-प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्न बैठकको समन्वय र सहजीकरण गर्ने ।
– नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
-प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने ।

प्रधानमन्त्रीको निजी सचिवालय क–कसको सम्भावना ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो चौथो कार्यकालमा राखेको टिमलाई नै आफूसँगै काम गराइरहेकाले प्रधानमन्त्रीको निजी सचिवालयमा अधिक फेरवदलको सम्भावना छैन । अघिल्लो कार्यकालका प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र परराष्ट्र सल्लाहकारका रुपमा काम थालिसकेका छन् । यद्यपी उनीहरुले नियुक्ति भने पाइसकेका छैनन् ।तरपनि देउवाको प्रमुख सल्लाहकारका लागि गेजा शर्मा वाग्लेको दौडधूप रहेको स्रोत बताउँछ । सञ्चार सल्लाहकारको लागि बद्री सिग्देल, डा. नमराज लम्साल, वसन्तप्रकाश उपाध्याय र डा. सुरेश आचार्यको चर्चा चुलिएको छ । यसअघिको कार्यकालमा देउवाले सञ्चार सल्लाहकार उपयुक्त पात्र नभेटिएका कारण सञ्चार विज्ञका रुपमा गोविन्द परियारलाई नियुक्त गरेको चर्चा चलेको थियो ।

देउवाले प्रमुख राजनीतिक सल्लाहकार पार्टीको १४ औं महाधिवेशनपछि मात्रै नियुक्त गर्ने स्रोत बताउँछ । यसअघि पनि सुरक्षा सल्लाहकार नराखेका प्रधानमन्त्री देउवाले सुरक्षा सल्लाहकारमा चासो नदिएको बुझिएको छ । त्यस्तै जनसम्पर्क सल्लाहकारमा पनि यही स्थिति देखिन्छ । यद्यपी प्रधानमन्त्रीको सचिवालयमा कसलाई लाने कसलाई नलैजाने र महत्वपूर्ण राजनीतिक नियुक्तिहरुमा कसलाई स्थान दिने भन्ने निर्णय प्रधानमन्त्रीपत्नी आरजु राणा र उनका भाइ भूषण राणाले गर्ने र त्यही नाममा रवरस्ट्यामका देउवाले लगाउने प्रधानमन्त्री निकटको स्रोतको दावी छ ।