पारसको अन्तर्राष्ट्रिय क्रिकेट करियर समाप्त


फिरोज राजोपाध्याय, काठमाडौं

पारस खड्काले मंगलबार बिहान एक्कासी अन्तर्राष्ट्रिय करियर समाप्त गरेको उनको सामाजिक सञ्जालमा पोस्ट आयो । ३४ वर्षीय पारसले नेपाली र अंगे्रजी भाषामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको दुईवटा विज्ञप्ति पोस्ट गरेका हुन् । यो पोस्ट आउनेबित्तिकै रेडियो एफएम, टेलिभिजन र अनलाइन मिडियामा यसको चर्चा बेहानैदेखि भयो र दिनभरि रह्यो । यतिमात्रै होइन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय मिडियाले समेत उनको सन्न्यास घोषणालाई कभरेज गरे । भन्नैपर्दा नेपाली क्रिकेटलाई अझै पनि उनको आवश्यकता भएको अवस्थामा पारसले सन्न्यास लिएका छन्।

यसमा कुनै शंका छैन कि १९ वर्ष क्रिकेट खेलेका पारस नेपालका निकै सफल क्रिकेटर हुन् । उनी सक्षम क्रिेकटर र सफल कप्तानसमेत हुन् । यति मात्रै होइन विश्वका सफल कप्तानको सूचीमा उनको नाम पनि आउने गर्छ । उनको पोस्टमा यस्तो उल्लेख थियो– ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुंगिएको छ तर, नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन् । मैदानबाहिर बसेर पनि हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने छौं भन्ने विश्वास लिएको छु ।’उनले लेखेका थिए– ‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगत्को उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो, तर त्यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ ।’पारसले उनको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने पनि बताए । उनले नेपालका लागि खेल्नु नै जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै राष्ट्रप्रतिको प्रेम पनि दर्शाए । ६ फिट ३ इन्च अग्ला कदका पारसले २००२ देखि क्रिकेट यात्राको शुरूवात गरेका थिए । उनी यू–१५ टिमबाट क्रिकेट खेल्दै राष्ट्रिय टिमको कप्तानसमेत बने । उनले २००९ मा विनोद दासको कप्तानी सकिएपछि राष्ट्रिय टिमका कप्तानको भार सम्हालेका थिए ।

पारसको यो कप्तानी यात्रा २०१९ सम्म गरी १० वर्ष व्यतित भएको थियो । उनले १५ अक्टोबर २०१९ मा कप्तानी भूमिका छाडेपछि ज्ञानेन्द्र मल्ल राष्ट्रिय टिमका कप्तानमा रहेका हुन् । पारसले कप्तानको रूपमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय, २७ अन्तर्राष्ट्रिय टी–२० टिमको नेतृत्व गरेका थिए । जसमा, ६ एकदिवसीय अन्तर्राष्ट्रियमा ३ मा जित र ३ मा हार बेहोरेको थियो । यस्तै टी–२०मा १५ खेलमा हार बेहोर्दा ११ खेलमा जित हासिल गरेको थियो ।पूर्व कप्तान पारसले नेपाली क्रिकेटलाई विश्वमाझ फैलाउन ठूलो योगदान गरेका छन् । उनको नेपाली क्रिकेटमा प्रवेशले नेपाली क्रिकेटको उचाइ विश्वभरि फैलिएको हो । नेपाली क्रिकेटका लागि अझै पनि उनको खाँचो छ । तर, उनले खेल्ने करियर समाप्त गर्ने सही समय भनेका छन् । उनले खेल जीवन समाप्त गर्ने घोषणा गरे पनि भविष्यमा क्रिकेटकै लागि काम गर्ने बताए ।

पारसको कीर्तिमान

पारसले अन्तर्राष्ट्रिय एकदिवसीयमा ५ शतक प्रहार गरेका छन् । उनी नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने नेपाली क्रिकेटरसमेत बनेका छन् । उनको यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् । यस्तै अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली क्रिकेटरसमेत हुन् । उनको उच्चतम रन १ सय १५ हो, यो पनि कुनै पनि नेपाली क्रिकेटरले बनाएको सर्वाधिक व्यक्तिगत रन हो । यो कीर्तिमानमा सुवास खकुरेल उनीसँग बराबरीमा छन् । खकुरेलले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय १५ रन नै बनाएका छन् ।

पारसको त्यो ऐतिहासिक शतक

नेपालले एकविदसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि पारसको ब्याट झनै चलेको थियो । जनवरी २०१९ मा भएको नेदरल्यान्डस्विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पारसले अर्धशतक प्रहार गरे । तर, संयुक्त अरब इमिरेट्सविरुद्धको सिरिजमा भने पारसले शतक प्रहार गरे । उनको शतकीय योगदानले नेपाले यो खेल ४ विकेटले जित्नुका साथै सिरिज पनि हात पार्न सफल भयो । साथै उनको शतक ऐतिहासिकरूपमा नेपाली क्रिकेटमा दर्ता भयो । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बने । यसले उनलाई अझ अत्यधिक सफल कप्तान र क्रिकेटरको रूपमा परिभाषित गर्न ठूलो टेवा मिल्यो ।सोही वर्ष सिंगापुरमा भएको त्रिदेशीय टी–२० सिरिजमा पनि पारसको ब्याटबाट रन वर्षा भएको थियो । उनले १ सय ६ रनको नटआउट शतकीय इनिङ खेलेका थिए । उनले सिंगापुरविरुद्ध प्रहार गरेको शतक नेपाली क्रिकेटरले टी–२० फरम्याटमा गरेको एक मात्र शतक पनि हो । पारसले एकदिवसीय अन्तर्राष्ट्रियमा १० खेल खेलेर १ शतक र १ अर्धशतकसहित कुल ३ सय १५ रन बनाएका छन् । उनले टी–२० मा ३३ खेल खेलेका थिए । उनले १ शतक र ४ अर्धशतकसहित ७ सय ९९ रन बनाएका छन् । नेपाली क्रिकेटरमा दुवै फरम्याटमा सर्वाधिक रन बनाउने सूचीमा उनी शीर्ष स्थानमा छन् ।
पारसको नेतृत्वमा उपलब्धि
२०१० मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ५ उपाधि
२०१२ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ उपाधि
२०१३ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ उपाधि
२०१४ मा बंगलादेशमा भएको विश्वकप टी–२० खेलेको
२०१९ मा टी–२० र एकदिवसीय सिरिज जितेको (यूएईविरुद्ध)