कूटनीतिक सक्रियताको खाँचो



वैदेशिक रोजगारीमा हिँडेका दार्चुला, व्यास नगरपालिका वडा– २ का ३५ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दैगर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का एक सदस्यले तुइनको डोरी फुस्काइदिएका कारण भेलमा बगेर बेपत्ता भएको समाचारले सबैलाई गम्भीर बनाएको छ । एसएसबीबाट यस प्रकारको अमानवीय कार्य भएको हो वा होइन भन्ने विषयमा छानबिन चलिरहेको छ । तर, सीमा क्षेत्रमा एसएसबीले विभिन्न समयमा नेपाली पक्षलाई पीडा पुर्‍याएको खबर आउने गरेका कारण यो घटना पनि भएको हुनुपर्छ भन्ने सोच नेपालीमा विकसित भएको छ । तर, संवेदनशील पक्ष के छ भने, भारतीय सीमा सुरक्षा बलका एक जनाको अमानवीय व्यवहारकै कारण दुई मुलुकबीचको जनस्तरको सम्बन्ध प्रभावित हुनेहो कि भन्ने चिन्ता पनि विकसित भएको छ । त्यसैले, तत्काल कूटनीतिक सक्रियता देखाई आधिकारिक पक्षबाटै यथार्थ घटना विवरण सार्वजनिक हुनु अनिवार्य भएको छ ।

यो विषय संसद् र संसदीय समितिमा उठ्नु स्वाभाविक छ । भारतको उत्तराखण्ड राज्यको पागन जान हिँडेका धामी मालाघाटमा महाकाली नदी तर्ने क्रममा बेपत्ता भए भन्ने घटनाको वास्तविकता बाहिर ल्याउन सांसदहरूले माग गरेका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सांसदहरूले घटनालाई गम्भीरतापूर्वक लिएर सरकारले भारतसँग वार्ता गर्न जोड दिए । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै आवश्यक पहल थाल्ने परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । अमानवीय घटनाको ध्यानाकर्षण गर्न नेपालको कूटनीतिक संयन्त्रले गृह मन्त्रालयको प्रतिवेदन पर्खिरहँदा ढिलाइ हुनसक्ने पक्षमा पनि ध्यान दिन आवश्यक छ । घटनाको प्राविधिक पक्ष जेसुकै भए पनि अत्यन्तै अमानवीय घटना भएकोले सरकारले भारतको ध्यानाकर्षण गर्नुपर्दछ । हो, गृहको प्रतिवेदनमार्फत सो घटनाबारे सत्यतथ्य बाहिर आएपछि विस्तृत कुराकानी गरेर समस्या समाधानका लागि दीर्घकालीन पहल गर्न बाटो खुल्ला नै छ । आफ्नो नागरिकको जीउ–धनको सुरक्षाको लागि राज्य खडा भएको हो । राज्यले आफ्ना नागरिकमा सुरक्षा प्रत्याभूति गर्न सक्नुपर्दछ । यसका निम्ति पनि कूटनीतिक पहल गरेर भारतीय पक्षलाई यस घटनाप्रति जिम्मेवार बनाउनुपर्दछ । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिन, दोषीलाई कारवाही गर्न विश्वासिलो तरिकाले छानबिन अघि बढाउनैपर्छ । नेपाल र भारतबीच सीमा क्षेत्रमा निर्वाधरूपमा आवतजावत गर्ने पद्धति बसाल्नुपर्दछ । यस घटनामा सीमा सुरक्षाकर्मीको सनकजस्तो देखिए पनि यस्ता ज्यादतिका अधिकतर घटनाहरू नेपाली नागरिकमाथि प्रदर्शित हुँदै आएको एक किसिमको हेपाहा प्रवृत्तिको एउटा उदाहरण मात्र हो ।

मननीय पक्ष के छ भने, एक एसएसबीको गलत व्यवहारलाई लिएर सिंगो भारत र भारतीय सरकारलाई आक्षेप लगाउने काम गर्नुहुन्न । करिब १८ सय किलोमिटर खुल्ला सिमाना भएका मुलुकका लागि निश्चय नै यो एउटा चुनौतीपूर्ण सवाल हो भन्ने यथार्थ भने मनन गर्नैपर्छ । एक देशले अर्कोलाई आपसी सम्मान, मित्रताको दृष्टिले हेर्ने र व्यवहार गर्ने हो भने यस्ता घटना र आशंकापूर्ण दृष्टिकोण सदाका लागि अन्त्य हुनेछन् । यसका लागि उपयुक्त वातावरण बनाउने काम भने नेपाल–भारत सरकारकै हो ।

प्रतिक्रिया दिनुहोस्