स्याङ्जाका ग्रामीण भेगमा मनपरी भाडा असुली

196
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाका ग्रामीण भेगमा चल्ने सवारी साधनहरुले मनपरी किसीमले भाडा असुल्दै आएको यात्रुहरुको गुनासो छ । ग्रामीण भेगमा चल्ने ट्याक्सी, जिप तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको भनाई छ । ग्रामीण भेगमा चल्ने छोटो दुरीका सवारीसाधनहरुमा निश्चित भाडादर कायम गरेको पाईदैन् । यसले गर्दा धेरै यात्रु ठगिनु परेको छ ।

जिल्लामा सञ्चालनमा रहेको केही यातायात प्रा.लि.ले नेपाल सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २०७५ असोज ६ गतेदेखि लागु गरेको भाडा दर लिने गरेका बताउछन् भने केहीले त्यही भाडादरमा २०७८ असार ३१ गते बढेको २८ प्रतिशत भाडादर बढाएर लिने गरेको बताएका छन् । तर कही कही भाडादर भन्दा ७ गुणासम्म बढी भाडा लिएको समेत पाईन्छ ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका अनुसार जिल्लामा १२ वटा यातायात प्रा.लि.ले छोटो र मध्यम दुरीका सवारी सञ्चालन गर्ने गर्दछन् । स्याङ्जा मुख्य कार्यालय रहने गरी स्याङ्जा गण्डकी यातायात, सिद्धबाबा यातायात, भीरकोट यातायात, पैयुँखोला यातायात, आधिँखोला यातायात, मिर्दी यातायात, चापाकोट यातायात, रामबच्छा यातायात, कालीगण्डकी यातायात, जय कालीका यातायात, शिला शालिग्राम यातायात र घुम्टी चिसापानी यातायात प्रा.लि. गरी १२ वटा यातायात कम्पनी मार्फत ग्रामीण भेगमा सवारी चल्ने गरेका छन् ।

अधिकांश ठाँउमा समिति बिना नै आफ्नो मनोमानी किसीमले यातायात संचालन गरेको पाईन्छ । कुनै पनि समितिले भाडादर सार्वजनिक गरेका छैनन् । मिर्दी यातायात प्रालिबाट सञ्चालन हुने सवारी साधनहरुले बढी भाडा लिएको भन्ने गुनासो आइरहेको छ । उक्त प्रा.लि.ले भाडादर सार्वजनिक गरेको छैन् । त्यसो त भाडादर सार्वजनिक गरेका समितिहरुले पनि तोकेभन्दा बढी भाडा लिएका छन् ।

कम सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रु रामबहादुर थापाले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव निरीक्षक कर्ण बहादुर चुनराले अहिलेसम्म बढी भाडा लिएको गुनासो गरेको आधारमा एउटा सवारी साधानलाई एक हजार पाँच सय जरिवाना गरिएको र पाँच जना यात्रुहरुको बढी भाडा फिर्ता गराइएको बताउनुभयो । चुनारले यात्रुको गुनासो आएपछि चेकजाँच गर्ने क्रमलाई तीव्रता दिएको पनि बताउनुभयो ।