बेनी नगरपालिकामा कोभिड–१९ खोपको नमुना परियोजना शुभारम्भ



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा कोभिड–१९ विरुद्ध खोपको नमुना कार्यक्रम पाइलट प्रोजेक्ट (परियोजना)को शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व तथा संयोजन र विश्व स्वास्थ्य सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा परियोजना सञ्चालन गरिएको हो ।

म्याग्दी सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी कोभिड–१९ विरुद्ध खोपको नमुना कार्यक्रम पाइलट प्रोजेक्ट (परियोजना)को शुभारम्भ गरिएको बेनी नगरपालिकाले जनाएको छ । कार्यक्रमअनुसार बेनी नगरपालिकाका जनप्रतिनिधि, एनजिओ तथा आइएनजीओका प्रतिनिधि र नगरपालिकाका कर्मचारी एवं स्वयंसेवकहरुलाई खोप परियोजनाको विषयमा अभिमुखीकरण गराइसकिएको छ ।

कोभिड–१९ विरुद्ध खोपको रेकर्डिङ तथा रिपोर्टिङको कार्यलाई व्यवस्थित बनाउन बेनी नगरपालिकाअन्तर्गत १० वटै वडा र स्वास्थ्य संस्थाबाट कोभिडका क्षेत्रमा काम गर्ने स्वयंसेवकसहित ५५ जनालाई अनलाइन प्रणालीसम्बन्धी खोप केन्द्रको (भ्याक्सिनेसन डिजिटलाइजेशन)बारे तालिमको सहजीकरण गरिएको छ । कार्यक्रमको उद्देश्यमाथि स्वास्थ्य सेवा विभागको एकीकृत सूचना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले प्रकाश पार्नुभएको थियो ।

युएनडिपीको गण्डकी प्रदेश कार्यालयका प्रमुख सुदीप अर्यालले खोप कार्यक्रम सञ्चालनको मोडालिटी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डाक्टर रामु शर्माले खोपको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी स्वास्थ्य सेवा विभागका कम्प्युटर अफिसर नविना प्रधान र (डब्लुएचओ)का आइटी एक्सपोर्ट सञ्जय पौडेलले खोपको प्राविधिक विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेल र बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

खोप कार्यक्रमको अनलाइन प्रणाली शुभारम्भ भएसँगै बेनी नगरपालिकाले कोभिड–१९ रोग विरुद्ध लगाइने खोपको रेकर्ड तथा रिपोर्टिङलाई पूर्ण रुपमा विद्युतीय सिस्टमा लैजाने भएको छ । अब कोभिड–१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्षभन्दा माथिको उमेर समूह, खोप लगाउनबाट बञ्चित र यसअघि एक मात्र खोपको डोज लगाएका बेनी नगरवासीहरुले अनिवार्य रुपमा अनलाइन दर्ता गरेको हुनुपर्नेछ । विश्व स्वास्थ्य सङ्गठन र युएनडिपीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पाइलट प्रोजेक्टका रुपमा खोप कार्यक्रमलाई पूर्ण विद्युतीय बनाउन लागेको हो ।

स्वास्थ्य सेवा विभागको एकीकृत सूचना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत तथा सदस्य सचिव समेत रहनुभएका दिवाकर सापकोटाले कोभिडको विरुद्धमा लगाइने खोप कार्यक्रमको रेकर्ड र रिपोर्टिङलाई व्यवस्थित गर्न डिजिटलाइजेसन अभियानको थालनी गरिएको जानकारी दिनुभयो । बेनी नगरपालिका क्षेत्रमा सञ्चालित खोप परियोजनाले नगर क्षेत्रमा खोप लगाएका र लगाउन बाँकी रहेको समूहको एकिन तथ्याङ्क सङ्कलन गर्न समेत सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

नेपालको सातवटा प्रदेशमध्ये गण्डकी प्रदेशमा म्याग्दीको बेनी नगरपालिकामा यस परियोजना लागू गरिएको हो । अब खोप लगाउन कोभिड विरुद्धको प्रि–अनलाइन फाराम भरेपछि लाभग्राहीले एउटा युनिक कोडनम्बर पाउनेछन् र सोही नम्बर लिएर स्वास्थ्य संस्था वा खोप केन्द्रमा जानुपर्नेछ । विदेशी मुलुकले आफ्नो देशमा आउने पर्यटक र कामदारलाई खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्