एमाले विवादमा विराम !



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विद्रोही समूहका नेता माधवकुमार नेपाल समूह अहिले दोहोरो दबाबमा परेका छन् । आफ्नै पार्टीका नेता प्रधानमन्त्री हुँदा प्रतिगमनको मतियार बनेको भन्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गरेर अदालतमार्फत प्रधानमन्त्री बनाउन सफल भएपछि नेपाल समूह सरकारमा जाने कि नजाने भन्ने कोलमा पेलिन थालेको छ । एकातिर ‘ओलीको ओखलमा कुटिन किन जाने, बरू मन्त्री पद नै खाने’ भन्ने दबाब छ भने अर्कातिर ‘पार्टी एकता जोगाऔं, डेढ वर्षपछिको राष्ट्रिय निर्वाचनमा जित सुनिश्चित गरौं’ भन्दै सरकारमा जान नहुने अडान छ ।

नेपाल समूहमा पार्टी एकीकरणकै पक्ष बलियो देखिन्छ । तर, सत्ता गठबन्धनमा सामेल नेपाल समूहलाई अहिले निकास दिन भने निकै कठिनाइ भएको सहज आँकलन गर्न सकिन्छ । दुई तिहाइको सरकारको नेतृत्व गरेका केपी शर्मा ओली सत्ताबाट च्युत भएपछि पार्टी एकता के हुने भन्ने आशंका उत्पन्न भइरहेका बेला नेपाल समूह सरकारमा नजाने निर्णय गर्नैपर्ने अवस्था छ । विद्रोही समूहका नेताहरूले समेत पार्टी एकता जोगाउन सरकारमा सामेल हुन नहुने जिकिर गरेपछि नेपाल अहिले बाध्य भएर सरकारमा सामेल नहुने पक्षमा लागे । सत्ता गठबन्धनका अन्य दलका नेताहरूले नेपाल समूहलाई सरकारमा सामेल हुन दबाब दिइरहेका बेला नेपाल समूहले सरकारमा नजाने निर्णय गरेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले पटक–पटक नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरे पनि आफ्नै समूहका नेताको दबाबका कारण नेपाल समूह सरकारमा सहभागी हुन नसक्ने भयो । तर, अबको राजनीतिले कुन बाटो लिन्छ यसै भन्नसक्ने अवस्था देखिँदैन । नेपाल समूहका नेताहरूले नेकपा एमालेबाट आफूहरु अलग्गिन नसक्ने बताएपछि नेपालले बाध्य भएर सरकारमा सामले नहुने घोषणा गर्नुले नेपालको राजनीतिमा नयाँ आयाम शुरू हुन लागेको विश्लेषण गर्न थालिएको छ । नेपाल समूहले पार्टीभित्र बसेर वैचारिक संघर्ष गर्दै ओलीको एकाधिकारवादी चरित्रको सामना गर्ने र पार्टीलाई आफ्नो कब्जामा लिने रणनीतिमा लाग्ने निष्कर्ष निकालेपछि एमालेभित्रको विवाद केही समयका लागि विराम लागे पनि सो पार्टीभित्रको अन्तरसंघर्ष भने दीर्घकालसम्म रहने विश्लेषण गर्न थालिएको छ ।

मुलुकमा देखा परेका विभिन्नखाले समस्याको तत्काल सम्बोधन गर्नुपर्ने अवस्था देखिए पनि त्यसलाई छुन सकिएको छैन । प्रधानमन्त्री देउवासामु अहिले सत्ता टिकाइरहने र आउँदो महिना हुने पार्टीको महाधिवेशनमा पुनः पार्टीको नेतृत्व आफैसँग कसरी राख्ने भन्ने विषयले प्रधानता पाएको छ । मुलुकको समस्या समाधानभन्दा पनि आन्तरिक समस्या समाधानमा बढी ध्यान दिनुपर्ने अवस्थामा देउवा पुग्नुले पनि जनताले सोचेजस्तो सेवा–सुविधा पाउन मुस्किल देखिन्छ । अहिलेको आवश्यकता विकास–निर्माणभन्दा पनि कोरोना संक्रमण नियन्त्रण प्रमुख चुनौती देखिन्छ । सरकारको तयारी लगभग शून्यको अवस्थामा रहनुले जनतामा थप त्रास फैलन थालेको छ । सरकार आन्तरिक समस्यालाई पाखा लगाउँदै कोरोना नियन्त्रणमा सक्रिय हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्