पित्त–पत्थरीका भ्रम र यथार्थ

185.74k
Shares

लक्ष्मण अधिकारी 

धेरै मानिसलाई देखिने समस्यामध्ये एक हो पित्तथैलीको पत्थरी । सामान्यतया पित्तथैलीको पत्थरी जसलाई पनि हुनसक्छ । तर विशेष गरी ४० वर्ष उमेर काटेका मानिसहरु त्यसमा पनि महिला, मोटोपन बढी भएका, चिल्लो खाना बढी खाने, गर्भनिरोधक चक्की (पिल्स) प्रयोग गर्ने, कलेजो रोग लागेका मानिस, धेरैपटक गर्भवती भएकालाई पित्तथैलीको पत्थरी हुने सम्भावना धेरै हुने विशेषज्ञहरुको भनाइ छ ।

वर्तमान अवस्थामा नेपालमा पनि पित्तथैलीको पत्थरीको उपचार सहजरुपमै हुन्छ । तर पित्तथैलीको पत्थरीका सम्बन्धमा आम मानिसहरुमा धेरै भ्रम रहेकोले यस्तो पत्थरी देखिएका मानिसहरुले अनावश्यक अपरेसन गर्न हतारिने, चिन्ता लिने, आफूखुशी प्रभावहीन उपचार गरेर समय खेर फाल्ने र शारीरिक, मानसिक एवं आर्थिक हिसाबले दुःख पाउने गरेको पाइन्छ । साथै कतिपय बिरामीले चाहिँ समयमै सही उपचार नगर्दा रोग जटिल अवस्थामा पुग्ने गरेको र ज्यानकै जोखिमसमेत हुने गरेको स्थिति पनि छ ।

क्यालोरीयुक्त खाना र जंकफुड धेरै खाने मानिस र मोटोपन बढी भएको मानिसलाई पत्थरीको सम्भावना धेरै हुन्छ । पुरुषलाई भन्दा महिलालाई पित्तथैलीको पत्थरीको सम्भावना ज्यादा हुन्छ । – डा. शान्तवीर महर्जन

पित्तथैलीको पत्थरीसम्बन्धमा मानिसहरुमा भएका विभिन्न किसिमका भ्रम निवारण गरी यससम्बन्धमा उचित जानकारी दिने उद्देश्यले यस विषयका विशेषज्ञ तथा पाटन अस्पतालका साथै निदान अस्पतालमा समेत कार्यरत जनरल सर्जन (General and GI Surgeon)

डा. शान्तवीर महर्जनसँग विशेष  कुराकानी गरी उहाँले दिनुभएका जनउपयोगी सुझाव तथा जानकारीहरु प्रस्तुत गरिएको छ:

के हो पित्तथैलीको पत्थरी ?

पित्तथैली (Gallbladder) पेटको दाँया भागमा माथिल्लोपट्टि कलेजोसँग टाँसिएको हुन्छ । यो ७ देखि १२ से.मि. लामो बेलुन आकारको हुन्छ । कलेजोले बनाएको पित्त (Bile) बग्दै यो थैलीजस्तो अंगमा आएर जम्मा हुने भएकोले यसलाई पित्तथैली भनिएको हो । पित्त नियमितरुपमा सीधै पनि नलीमार्फत सानो आन्द्रामा बगेर जाने गर्छ । एक दिनमा पाँच सयदेखि एक हजार एमएल जति पित्त  कलेजोबाट निस्कन्छ ।

पित्तले खाना पचाउने कार्यमा मद्दत गर्छ । खाना नखाएको बेला कलेजोबाट आएको पित्त थैलीमा जम्मा हुन्छ । चिल्लोयुक्त खाना खाएको बेला अतिरिक्त पित्तको जरुरत पर्ने भएकोले पित्तथैलीमा जम्मा भएको पित्त निस्कन्छ । पित्तथैलीमा मुख्यतः पित्त मात्र हुने हो, तर कहिलेकाहीँ पित्त बन्ने तत्वहरुबाटै पत्थरी बनिदिन्छ र शरीरलाई दुःख दिने पनि गर्छ ।

पित्त विभिन्न तत्व मिलेर तरलरुपमा बनेको हुन्छ । त्यसमध्ये मुख्यतः पानी नै हो । साथै पित्त बन्नको लागि कोलेस्टेरोल, बाइल साल्ट, बाइल (बिलिरुबिन) र फोस्फोलिपिडको पनि आवश्यकता पर्छ । कुनै कारणले पित्त बन्ने यी पदार्थहरुको सन्तुलन बिग्रियो वा पित्त बन्ने प्रक्रियामा गडबडी भयो वा पित्तथैलीमा संक्रमण भयो वा पित्त बग्ने कार्यमा अवरोध आयो भने पित्तथैलीमा पत्थरी बन्न सक्छ । साथै सानो आन्द्राको अपरेसन गरेका व्यक्तिमा पनि पित्तथैलीको पत्थरी हुने सम्भावना हुन्छ ।

मुख्यतः पित्तथैलीको पत्थरी (Gallstones) कोलेस्टेरोल स्टोन र पिग्मेन्ट स्टोन गरी दुई खालको हुन्छ । पिग्मेन्ट स्टोन ब्लाक र ब्राउन दुई प्रकारको हुने भएकाले पित्तथैलीको पत्थरी तीन किसिमको हुन्छ भन्न पनि सकिन्छ । ब्राउन पिग्मेन्ट स्टोन विशेष गरी पित्तथैलीमा भन्दा पनि पित्त बग्ने नलीमा बढी बन्दछ । कोलेस्टेरोल पत्थरी हरियो तथा पहेँलो रङ्गको हुन्छ ।

पित्तथैलीको पत्थरी सामान्यतया धेरै फेस भएको चुच्चो–चुच्चो परेको केराउको दानाजस्तो हुन्छ । साथै कुनै–कुनै अन्य आकारप्रकारको र ठूलो साइजको पनि हुन्छ ।

कसलाई हुनसक्छ पित्त–पत्थरी ?

सामान्यतया उमेर जति–जति बढ्दै गयो, पित्त–पत्थरी हुने सम्भावना पनि बढ्दै जान्छ । बालबालिकालाई पनि पत्थरी नहुनेचाहिँ होइन तर उमेरअनुसार बालबालिकालाई यो पत्थरी हुने सम्भावना धेरै कम हुन्छ ।

छोटो समयमा धेरै तौल घटाउने र धेरै समय व्रत बस्नेलाई पनि पित्तथैलीको पत्थरी हुनसक्छ ।

क्यालोरीयुक्त खाना र जंकफुड धेरै खाने मानिस र मोटोपन बढी भएको मानिसलाई पत्थरीको सम्भावना धेरै हुन्छ । पुरुषलाई भन्दा महिलालाई पित्तथैलीको पत्थरीको सम्भावना ज्यादा हुन्छ । धेरैपटक गर्भवती भएकी महिला, गर्भ निरोधका साधन प्रयोग गर्ने महिला, बच्चा धेरै जन्माएका महिलालाई पनि पित्तथैलीमा पत्थरी हुने सम्भावना अलि बढी हुन्छ ।

पित्त बन्ने विभिन्न तत्वहरुमध्ये एउटा मुख्य तत्व कोलेस्टेरोल हो । मोटोपन बढेपछि कोलेस्टेरोल बढी उत्पादन हुन्छ । यस्तै गर्भ निरोधक पिल्सले कोलेस्टेरोल उत्पादनको मात्रा बढाउँछ । कोलेस्टेरोल बढी उत्पादन भएपछि सन्तुलन बिग्रिन्छ र पत्थरी हुने सम्भावना बढ्छ ।

यस्तै गरी कुनै विशेष रोग भएका व्यक्ति जस्तै– रक्तकणसम्बन्धी रोग (हेरेडिटरी स्पेरोसाइरोसिस, सिकलसेल एनेमिया), लिभर सिरोसिस (कलेजोको रोग) आदि भएका मानिसलाई पनि पित्तथैलीको पत्थरी हुने सम्भावना धेरै हुन्छ । छोटो समयमा धेरै तौल घटाउने र धेरै समय व्रत बस्नेलाई पनि पित्तथैलीको पत्थरी हुनसक्छ । कोलेस्टेरोल कम गर्ने औषधिको प्रयोगले पनि कसै–कसैलाई पित्तथैलीको पत्थरी हुनसक्छ । प्यान्क्रियाटाइटिस सम्बन्धी रोगमा चलाइने औषधिले पनि पित्तमा पत्थरी हुनसक्छ ।

पत्थरी कसरी थाहा पाउने ?

सामान्यतया लक्षण नदेखिएसम्म पित्तथैलीमा पत्थरी बनेको थाहा हुँदैन । पित्तथैलीमा बनेको पत्थरीले करिब ८० प्रतिशतलाई दुःख दिँदैन । अर्थात् यसले जे जे लक्षण देखाउने हो त्यो करिब ८० प्रतिशतलाई देखिँदैन । लक्षण नदेखिएको अर्थात् पित्त–पत्थरीले दुःख नदिएको अवस्थामा सामान्यतया अपरेसन पनि गर्नुपर्दैन ।

कुनै कारणले पेट दुखेर वा अरु प्रयोजनका लागि अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरसीपी गराउँदा पित्तथैलीमा पत्थरी बनेको भए देखिन सक्छ । २० प्रतिशत जतिलाई पित्त–पत्थरीले दुःख दिने अर्थात् लक्षण देखिने भएकाले त्यसपछि परीक्षण गराउँदा पत्थरी पत्ता लाग्छ । यस्तो परीक्षण गर्ने विभिन्न विधि भए पनि भरपर्दो र बिरामीलाई दुःख नहुने, अरु असर केही नहुने, सस्तो र सहज उपलब्ध हुने खालको विधिचाहिँ अल्ट्रासान्ड नै हो ।

पित्त–पत्थरीको लक्षणका रुपमा पेटको दायाँतिर माथिल्लो कोखमा दुख्ने हुन्छ । यो दुखाइ दायाँ छातीको पछाडितिर सरेर जान्छ । कसै–कसैलाई दायाँ कुममा पनि दुख्छ । पेट दुखाइ निकै कडा खालको हुनसक्छ । धेरैजसो चिल्लोयुक्त खाना माछा, मासु, घिउ, तेल भएका खाना खाएपछि दुख्ने हुन्छ । चिल्लोयुक्त खानाहरु खाँदा पित्तथैली चल्ने र बाहिर आउने हुन्छ । त्यसकारण यो बेला बढी दुख्ने हुन्छ । चिल्लोयुक्त खाना खाएपछि ३० मिनेटदेखि ५–६ घण्टासम्म लगातार दुखिरहन सक्छ । यस्तो दुखाइबाट बच्नका लागि चिल्लो खाना नखानु राम्रो विकल्प हो ।

कसै–कसैमा यो पत्थरी पित्त बग्ने नलीमा गएर बसेको हुन्छ । यसरी पित्त बग्ने नलीमा बसेर पित्त बग्न अवरोध गरेमा जन्डिस हुन पनि सक्छ । पित्तथैलीको पत्थरीका कारण कसैमा पित्तथैली नै सुन्निने पनि हुन्छ । यसरी सुन्निएको अवस्थामा दायाँ कोखा दुई–तीन दिनसम्म पनि एकदमै दुख्ने हुन्छ । अनि ज्वरो पनि आउन सक्छ, उल्टी हुनसक्छ । कसै–कसैलाई पेट फुल्ने, धेरै ग्यास पास हुने पनि हुन्छ । खाना नपचेको जस्तो हुनसक्छ । प्यान्क्रियाज ग्रन्थि सुन्निने, पित्तथैलीमा पीप जम्ने  पनि हुनसक्छ ।

पत्थरीले क्यान्सर पनि हुन्छ कि ?

पित्तथैलीमा पत्थरी भएपछि पित्तथैली फुट्ने हो कि, क्यान्सर हुने हो कि भन्ने किसिमका त्रास धेरै बिरामीलाई भएको पाइन्छ । यद्यपि अहिलेसम्म पित्तथैलीको पत्थरीले क्यान्सर भएको भन्ने तथ्य प्रमाणित भएको पाइएको छैन । तर पित्तथैलीको क्यान्सर भएका मानिसहरुमा चाहिँ अपरेसन गरेर पित्तथैली खोल्दा उनीहरुमध्ये ८० देखि ९० प्रतिशतलाई पित्तथैलीको पत्थरी भएको पाइएको छ । पित्तथैलीको पत्थरीले क्यान्सर गराउँछ भन्ने तथ्य प्रमाणित भई नसकेको भए तापनि कुनै–कुनै ठूलो साइजको पत्थरी भएको अवस्था (२.५ से.मि.भन्दा ठूलो) मा

कालान्तरमा यसले क्यान्सर गर्न सक्ने सम्भावना भएकाले यस्तो बिरामीको पनि छिट्टै अपरेसन गरेर उपचार गर्नुपर्छ । पित्तथैलीको पत्थरी क्याल्सिफाइड छ (हाडजस्तै) तर बिरामीलाई दुखेको छैन भने पनि अपरेसन गर्नुपर्छ । किनकि यसबाट भविष्यमा क्यान्सर हुने सम्भावना छ ।

पत्थरीको अपरेसन नै गर्नुपर्छ ?

पित्तथैलीको पत्थरी भएको छ र दुःख दिन थालेको छ भने त्यसको उचित समाधान भनेको अपरेसन नै हो । औषधि खाएर उपचार गर्ने विधि पनि नभएको होइन तर यसको प्रभावकारी र भरपर्दो विधि भनेको अपरेसन नै हो ।

कसै–कसैलाई हल्का खालको लक्षण देखिन्छ भने कसैलाई कडा खालको । कसैलाई पित्तथैलीको पत्थरीका कारण पित्तथैली नै सुनिन्छ । यसरी सुन्नियो भने बिरामी घरमा बस्न नसक्ने हुन्छ । धेरै नै दुख्छ । ज्वरो आउँछ र अस्पताल नै जानुपर्ने हुन्छ । सुन्निएकोलाई उपचार गर्न अस्पतालमा एन्टिबायोटिक दिएर, इन्जेक्सन दिएर भर्ना नै गर्नुपर्ने हुन्छ । कि त तुरुन्तै, कि त ६ हप्तापछि अपरेसन गर्नुपर्ने हुन्छ ।

कसै–कसैलाई पत्थरी नलीमा तल झरेर यसका कारण प्यान्क्रियाज सुन्निने (एक्युट प्यान्क्रियाटाइटिस) भन्ने डरलाग्दो रोग हुनसक्छ । यही पत्थरी तल झरेर नलीमा अवरोध गरी जन्डिस हुन पनि सक्छ । यस्तोमा अपरेसन गरिहाल्नुपर्ने हुन्छ । कसै–कसैलाई पत्थरीले पित्तथैली नै पनि फुटाउने गरेको पाइएको छ । पित्तथैलीमा पत्थरी भएपछि पित्तथैली नै फुट्छ कि भन्ने त्रास धेरैलाई हुँदो रहेछ । यस्तो सबैलाई हुने होइन । यस्तो समस्या धेरै नै कम छ । मैले करिब २० वर्षको कार्य अवधिको अनुभवमा पत्थरीका कारण पित्तथैली नै फुटेका चार–पाँचवटा केस मात्र भेट्टाएको छु ।

यदि मधुमेहको बिरामीलाई पित्त–पत्थरीको अलिकता लक्षण देखिए पनि त्यसले छिटो नराम्रो गर्ने भएको हुँदा यस्तो बिरामीले पनि छिटो अपरेसन गर्दा राम्रो हुन्छ । यस्तै गरी अंग प्रत्यारोपण गरेका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीको पनि पित्तथैलीमा पत्थरी देखिएमा सकेसम्म छिटो अपरेसन गर्नुपर्छ । पित्तथैलीको पत्थरीका कारण पित्तथैली सुन्निएको अवस्थामा उपचार गरिएन र आफैँ कम पनि भएन भने पित्तथैली फुट्न पनि सक्छ । यसरी फुट्नेबित्तिकै अपरेसन गर्न सकिएन भने ज्यान जान पनि सक्छ । त्यसकारण यस्ता बिरामीले सकेसम्म छिटो अपरेसन गर्नु राम्रो हो ।

यस्ता विशेष अवस्थाबाहेकमा पित्तथैलीमा पत्थरी देखिनेबित्तिकै दुःख नदिएको वा लक्षण नदेखिएकै अवस्थामा अपरेसन गर्न जरुरी हुँदैन । धेरै मानिस अरु परीक्षण गर्दा पत्थरी देखिनासाथ ‘अपरेसन गरिदिनुस्’ भन्दै आउँछन् तर सबैलाई अपरेसन गरिहाल्नुपर्दैन ।

कतिपयमा पानी धेरै खाएर, गहत, काँक्रो, नास्पाती, आयुर्वेदिक औषधि खाएर पनि पित्तथैलीको पत्थरी फुटाएर वा बगाएर निकाल्न सकिन्छ भन्ने भ्रम रहेको पाइन्छ । यस्तो सोचाइ पूर्णतः गलत हो । पित्तथैलीको पत्थरी निकाल्न यी विधिहरुले कुनै पनि काम गर्न सक्तैनन् । बरु यी कतिपय विधिहरुले मिर्गौलाको पत्थरी निकाल्न सहयोग गर्न सक्छन्, तर पित्तथैलीको पत्थरीमा यसको कुनै प्रयोजन छैन ।

पत्थरी भएर पित्तथैलीको अपरेसन गर्ने भनेको पत्थरी मात्र निकाल्ने होइन कि पित्तथैली नै निकाल्ने हो । यो अपरेसन मुख्यतः दुई किसिमको छ । पहिलेदेखि नै गरिआएको चिरेर गर्ने अपरेसन एउटा हो । यसमा लामो घाउ पारेर गरिन्छ । आजकाल एकदम चलेको विधिचाहिँ ल्याप्रोस्कोपिक विधि हो, जुन सानो प्वाल पारेर गरिन्छ । यो विधिमा बिरामीलाई धेरै सहज हुन्छ । यो अहिले निकै पपुलर पनि छ र सबैतिर राम्रो मानिन्छ । प्वाल पारेर अपरेसन गर्दा घाउ वा खत सानो हुन्छ । चिरेर गर्दा घाउ ठूलो हुन्छ । प्वाल पारेर अपरेसन गर्दा बिरामी काममा छिटो फर्किन सक्छ । चिरेर गर्दा निको हुन अलि ढिलो हुन्छ । चिरेर अपरेसन गर्दा घाउ पाक्ने सम्भावना धेरै हुन्छ भने प्वाल पारेर गर्दा योे सम्भावना निकै नै कम ।

पित्तथैली नै निकाल्नु सही हो ?

अपरेसन गरेर पित्तथैलीको पत्थरी मात्र निकाल्दा उसलाई भविष्यमा पत्थरी हुने सम्भावना शतप्रतशित नै हुन्छ । त्यसैले पत्थरी मात्र निकालेर समाधान हुँदैन । तर यही कुरा मिर्गौलामा भयो भने पत्थरी मात्र निकालिन्छ, मिर्गौला निकालिँदैन ।

पित्तथैलीको मुख्य काम भनेकै पित्तलाई एकीकृत वा जम्मा गर्ने (Bile concentration) हो । कलेजोबाट निस्किएको पित्त यसमा जम्मा भएर बस्ने मात्र हो । कलेजोले पित्त बनाउने कार्य गरिरहेकै हुन्छ । कलेजोबाट ४० एमएल प्रतिघण्टाको हिसाबले पित्त प्रवाह भई नै रहेको हुन्छ । यो पित्त पित्तथैलीमा जम्मा नभई सीधै सानो आन्द्रामा गइरहेको हुन्छ । त्यसकारण पित्तथैली निकालेर पनि बिरामीलाई खासै असर पर्दैन । यति हो कि चिल्लोयुक्त खाना धेरै खाँदा त्यसलाई पचाउन थप पित्त पित्तथैलीबाट बाहिर आउँथ्यो भने त्योचाहिँ आउन नसक्ने हुन्छ । तर सामान्यरुपमा आवश्यक पर्ने पित्त जति हो त्यो मात्रामा चाहिँ आई नै रहेको हुन्छ ।

पित्तथैली र कोभिड–१९

कोभिड र पित्त–पत्थरीको प्रत्यक्ष सम्बन्ध त केही छैन । कोभिडको महामारी चलेको अवस्थामा लकडाउनको कारणले अनि कोभिड सर्ला कि भन्ने डरका कारणले बिरामी अस्पताल जान नै डराएको अवस्था छ । लकडाउनका बेला निकै लामो समयसम्म इमर्जेन्सी अपरेसन गर्ने र तुरुन्तै नगर्दा पनि हुने (इलेक्टिभ) अपरेसन नगर्ने भनेर सरकारी तवरबाटै पनि रोकिएको थियो । यस्तो कारणले पनि बिरामीले समयमै अपरेसन गर्न तथा उपचार गर्न पाएनन् । उनीहरुलाई लक्षण देखिँदा पनि हामीले समयमै गर्न सकेनौँ ।

कतिपय बिरामी अपरेसनका लागि दिइएको डेटमा आउन सक्नुभएन । एकचोटि दुखिसकेको मानिसलाई अपरेसन गरेर उपचार नगर्दा पछि फेरि दुख्दा दुखाइको लक्षण निकै कडा हुन्छ । यसले पहिलेभन्दा बढी दुःख दिन्छ । दुःख दिने मात्रा पछि–पछि बढ्दै जान्छ र बिरामीलाई निकै गाह्रो हुन्छ । कोभिडको कारणले केही बिरामीले यसरी दुःख पाउनुभएको छ ।

पित्त–पत्थरीबाट कसरी बच्ने त ?

खानपान र जीवनशैली परिवर्तन गरेर पित्तथैलीको पत्थरीबाट बच्ने सम्भावना धेरै हुन्छ । बढी चिल्लो र क्यालोरी भएका खाना नखाने वा कम खाने अनि नियमित व्यायाम गर्ने गर्दा धेरै फाइदा हुन्छ । जंक फुडहरु पनि सकेसम्म नखानु नै लाभदायक हुन्छ ।

 बोसो धेरै भएको मासु, तेलमा डुबाएर राखिएको माछा, नौनी, घिउ, चीज आदिमा चिल्लो धेरै हुने भएकाले यस्तो खाना नखानु वा कम मात्र खानु उचित हो । चिनीको मात्रा धेरै भएका चिसो पेयपदार्थ,

आइसक्रिम, प्रोसेस्ड गरिएका मासुहरु जस्तो– ससेस, हट डग, क्यानमा प्याक गरिएका माछा, मासु, डेजर्टले पनि कोलेस्टोरोल बढाउन सक्ने भएकाले यस्ता खानालाई सीमित गर्नु नै उचित हुन्छ ।

पित्तथैलीमा पत्थरी भयो भन्दैमा आत्तिइहाल्नु त पर्दैन तर यो समस्या कति गम्भीर खालको हो भन्ने विषयमा चाहिँ सम्बन्धित चिकित्सकको परामर्श बेलैमा लिनु उचित हुन्छ ।