यादव समूहले पायो जसपाको आधिकारिता

406
Shares

सुनील महर्जन, काठमाडौं ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ ।

अध्यक्ष यादवको पक्षमा कार्यकारिणी समितिको बहुमत सदस्य भएकाले पार्टीको आधिकारिता यादव पक्षमा रहेको आयोगले फैसला सुनाएको हो । प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराको इजलास सो फैसला गरेको हो । इजलासले महन्थ ठाकुर पक्षले नयाँ दल खोल्न चाहेमा खोल्न दिने निर्णय पनि गरेको छ ।

साविकको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल नामक दुई दल एकीकरण भई गत वर्र्ष असार २४ गते जनता समाजवादी पार्टी नेपाल नामक दल आयोगमा दर्ता भएको थियो । दल दर्ता गर्ने प्रयोजनले सोही वर्ष असार १२ गते प्रस्तावित ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेकामध्ये ३४ जनाले सोमबार यादवको पक्षमा सनाखत गरेका थिए । १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा सनाखत गरेका थिए । नेता रेशम चौधरी तटस्थ बस्नुभएको थियो । आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई बोलाएको थियो ।

दुवै पक्षका नेताहरू आयोग पुगेर सनाखत गरेका थिए । लामो समय राजेन्द्र महतो निकट रहेका प्रदेश–२ का सांसद सुमनले यादवको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘हिजो महन्थ ठाकुर पक्षको बैठकमा गएर मैले भनें, पार्टी एकता जोगाउन एकैतिर हस्ताक्षर गरौं । महन्थ ठाकुरले कसैलाई ह्वीप लगाउँदिनँ, जे इच्छा छ गर्नुस् भन्नुभयो ।’ उहाँले सोमबार बिहान मात्र राजेन्द्र महतोलाई टेलिफोन गरी आफूले यादवको पक्षमा हस्ताक्षर गर्न लागेको जानकारी गराएको बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (६) अनुसार आयोगले कार्यकारिणी सदस्यहरूको सनाखत गरेको थियो । सो दफामा विवाद निरूपणसम्बन्धी कार्यविधिअन्तर्गत समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यही पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिने प्रावधान रहेको छ ।

सनाखत गर्नका लागि आयोगको कानुनी तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा कर्मचारीहरू खटिएका थिए । कर्मचारीले कार्यकारिणी समितिका प्रत्येक सदस्यको सक्कल नागरिकताको प्रमाणपत्र र सक्कल मतदाता परिचयपत्र हेरी रुजु गरी कसको पक्षमा रहेको भनी प्रस्ट देखिने गरी रजिस्ट्रेसन प्रमाणित गरेका थिए । सनाखत गर्ने काम सकिएपछि आयोगको इजलास बसेर बहुमत सदस्यले यादव पक्षमा सनाखत गरेकोलाई आधार लिएर यादव पक्ष जसपाको आधिकारिक पक्ष ठहर गरिएको हो ।

उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४३ र ४४ बमोजिम जसपाको आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यसअघि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष यादव पक्षले एक–अर्कालाई कारबाही गरेर पार्टीबाट निकाले पनि आयोगले मान्यता दिएको थिएन । मिल्न नसकेपछि आयोगमा राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४३ र ४४ अनुरूप आधिकारिता दाबी गर्नुपर्ने स्थिति उत्पन्न भएको थियो ।

जसपामा महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र ठाकुर पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका थिए । जसपा अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेकोे थियो । आयोगले इजलास गठन गरेर इजलासमार्फत पार्टी विवादको सुनुवाइ गर्दा अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था ऐनको ४५ (५) मा छ ।

आयोगको फैसलासँगै दुई महिनादेखि जसपाको आधिकारिताको सम्बन्धमा यादव र ठाकुरबीचको विवादको शृंखला अर्को चरणमा प्रवेश गरेको छ । अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको थियो । ओली सरकारमा जान नहुनेमा अर्का अध्यक्ष यादव पक्ष थियो । यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । सत्ता समीकरणमा एमाले अध्यक्ष ओली र त्यस बाहिरको गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनतर्फ पुगेको थियो । दुवै पक्ष पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लोपटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गरेका थिए ।

महन्थ पक्षले माफी मागेमा विचार गरिने

यसैबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताउनुभएको छ । उहाँले ठाकुरले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरूको विषयमा पार्टीले विचार गर्ने बताउनुभयो । उहाँहरूलाई आफूले घोक्राएर पठाएको नभई आफैं बाटो बिराउँदै गलत ठाउँमा पुगेको टिप्पणी गर्दै यादवले भन्नुभयो– ‘उहाँले बिराएको बाटो र लिएका गलत नीति सच्याएर, सार्वजनिकरूपमा आत्मालोचना गरेर आउनुभयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’

अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई पार्टीबाट हटाउन नचाहेको तर असंवैधानिक प्रतिगमनकारी शक्तिलाई साथ दिएर ठाकुर पक्षले गलत गरेको भन्दै यादवले सो विषयमा सार्वजनिकरूपमा आत्मालोचना गर्नुपर्ने बताउनुभयो । उहाँले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिँदै भन्नुभयो– ‘उहाँहरू पनि पार्टीकै पक्षमा रहनुहुन्छ भन्ने जानकारी पाएका छौं ।’

सरकारमा सहभागी हुने

जसपाका यादव पक्षका नेता महेन्द्र राय यादवले आफूहरू सरकारमा छिट्टै सहभागी हुने बताउनुभएको छ । आयोगमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारमा सहभागी हुने बताउनुभएको हो । न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उहाँले भन्नुभयो– ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’ उहाँले सरकारमा कति जना र को–को सहभागी हुने भन्ने यकिन नभएको बताउनुभयो ।

महन्थ ठाकुर पक्षका नेताहरूले सर्वोच्च अदालतको १५ साउनको सुनुवाइसम्म पर्खिने बताएका छन् । सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतले १५ गते दुवै पक्षलाई बोलाएको जानकारी दिँदै भन्नुभयो– ‘त्यहाँसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला ।’ ठाकुर पक्ष सनाखत रोक्न माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएन, तर अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न १५ गते दुवै पक्षलाई बोलाएको छ ।

आयोगमा सनाखतका लागि पुग्नुभएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले जसपा विभाजित हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले यहाँ विभाजनसम्बन्धी जुन प्राविधिक काम ग¥यौं, यो दुर्भाग्यपूर्ण हो । उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक साल पहिल्यै उपेन्द्रजीको पार्टी विभाजन भइरहेको थियो, एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’

‘तपाईंको दल गयो नि’ भन्ने प्रश्नमा ५१ जना मात्रै दल नभएको र दल जनताबाट निर्माण हुने जवाफ दिँदै महतोले भन्नुभयो– ‘पार्टीभित्र प्राविधिक बहुमत देखाएर केही पनि हुँदैन । यसको फैसला अब जनताले नै गर्नेछन् ।’

चौधरी तटस्थ

पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्नुभएको छ । डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुवै पक्षमा मत नदिएको बताउनुभयो । जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको भन्दै उहाँले भन्नुभयो– ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’

आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गर्नुभयो ।

महाभारतको प्रसंग कोट्याउँदै युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको भन्दै चौधरीले भन्नुभयो– ‘जसपा विवादमा कुनै पक्षले जित्ला, तर उहाँलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन अनुरोध गर्दछु ।’