खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

युनेस्कोको निगरानी भने कायमै

658
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।

चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाइएको हो । बैठकबारे जानकारी दिँदै पुरातत्व विभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेको बताएका थिए । सोही आधारमा तत्काललाई खतराको सूचीबाट हटाइएको घोषणा गरेको छ । विस्तृत विवरण बैठक सकिएपछि प्राप्त हुनेछ ।’

विश्वसम्पदा समितिको जारी बैठक साउन १६ गते सकिँदै छ । बैठकमा विश्वका विभिन्न मुलुकले भूकम्पले ध्वस्त भएका विश्व सम्पदा क्षेत्रका संरचना पुनर्निर्माणका लागि केही थप समय माग्दै ती क्षेत्रलाई खतरा सूचीबाट हटाउनुपर्नेमा जोड दिएको श्रेष्ठले बताउनुभयो ।

युनेस्कोले भूकम्पलगत्तै हरेक वर्षको बैठकदेखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिइरहेको थियो । शुरुमा ८६ वटा मात्रै सम्पदा पुनर्निर्माण हुँदा खतराको सूचीमा रहेको थियो । अहिले १ सय १६ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । लकडाउनको अवधिमा सम्पदा पुनर्निर्माण सन्तोषजनक भएपछि चालू बैठकले खतराको सूचीबाट हटाएको महाशाखा प्रमुख श्रेष्ठको भनाइ थियो ।

यसअघि अजरबैजानको वाकुमा सम्पन्न ४३औं विश्वसम्पदा समितिको बैठकमा उपत्यकाको काठमाडौं, भक्तपुर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपति र चाँगुनारायण क्षेत्रलाई खतराको सूचीमा राख्ने निर्णयबाट युनेस्को पछि हटेको थियो ।

महाशाखा प्रमुख डा. श्रेष्ठले विश्वसम्पदा क्षेत्रमा पर्ने सात क्षेत्रमा भूकम्पले ध्वस्त भएका १ सय ४० सम्पदामध्ये हालसम्म १ सय १६ पुनर्निर्माण भइसकेको र बाँकी २४ वटा सम्पदा सन् २०२२ फेबु्रअरीभित्र निर्माण गरिसक्नुपर्ने जानकारी दिनुभयो ।

युनेस्कोले यसअघि सन् २००३ मा सातै क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । सरकारले विभिन्न सर्त पूरा गरेपछि सन् २००७ मा खतराको सूचीबाट हट्न सफल भएको थियो । फेरि सन् २०१५ देखि सम्पदा क्षेत्र खतराको सूचीमा परेको थियो ।

नेपालको सम्पदा क्षेत्र खतराको सूचीबाट हट्ने भएपछि ती क्षेत्रको अनुगमन गर्न युनेस्कोको उच्चस्तरीय अनुगमन टोली फेरि नेपाल आउनेछ । विगत दुई वर्षअघिको मूल्याङ्कनको आधारमा ती सम्पदा क्षेत्र खतराको सूचीबाट हटे पनि उच्चस्तरीय अनुगमन टोलीले निगरानी जारी राख्ने जनाएको छ ।

महाशाखा प्रमुख डा. श्रेष्ठले भन्नुभयो– ‘विश्वसम्पदा क्षेत्रको एकीकृत व्यवस्थापन संरचना पुनरवलोकन गरी सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि तयार गरेको जानकारी गरायौं । त्यति मात्र नभई विश्वसम्पदा क्षेत्रका सम्पदा पुनर्निर्माणलाई तीव्रता दियौं । त्यसपछि मात्र यी सम्पदालाई खतराको सूचीबाट हटाउन सफल भएका हौं ।’

विश्व सम्पदा संरक्षण महासन्धि सन् १९७२ अन्तर्गत काठमाडौं उपत्यका सन् १९७९ मा सूचीकृत भएको थियो ।