कांग्रेसकाे तल्लाे तहका सबै अधिवेशन स्थगित, केही दिनभित्र अर्को मिति तय हुने


भूपराज बस्याल, काठमाडौ ।
साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।

शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ भने एकसाता भित्र मिति तय गरिने भएको छ ।क्रियाशील सदस्यता वितरणमा विवाद चर्किएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको एक केन्द्रिय सदस्यले नेपाल समाचार पत्रलाई जानकारी दिनुभयो । शुक्रबारको पदाधिकारी बैठकले वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको भएपनि केन्द्रीय महाधिवेशन समेत प्रभावित हुने संकेत देखिएको छ ।