चीनबाट पहिलोपटक जुम क्रेनको आयात


रसुवा, नेस । 

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ र २ एवम् उतरगया गाउँपालिका वडा नम्बर १ हाकु, गोगने, मैलुङमा निर्माण अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका लागि ठूलो खाले जुम क्रेन आयात भएको छ ।भन्सार हातामा प्रवेश भएका दुईवटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर रहेको बताइएको छ ।

धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङमार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् । ५० अर्बभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको छ ।निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेंसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङ नजिक त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्य तालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले जनाएको छ । रसुवा भन्सार कार्यालको अनुसार आर्थिक वर्ष २०७८÷७९ को शुरूवातसंँगै विकास निर्माण का लागि प्रयोग हुने दुई वटा ठूलो क्रेन पहिलोपटक आयात भएको हो ।