मलेसियाबाट एकैपटक २४ नेपालीको शव आयो

विमानस्थलमा आफन्तको रुवाबासी



नेपाल समाचारपत्र, काठमाडौं ।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अगाडिको दृश्यले सबैलाई भावविह्वल बनायो । नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडाै उडानमा एकैपटक २४ नेपालीको शव ल्याइएपछि शव बुझ्न आएका आफन्तको रुवाबासीले त्यहाँ उपस्थित सबैलाई एकपटक रुन बाध्य बनायो ।

सुन्दर सपना बोकेर मलेसिया पुगेका ती नेपाली काठको बाकसमा फिर्ता भएपछि आफन्त त रुने नै भए त्यहाँको कारुणिक दृश्यले सबैको आँखा रसाएनन् मात्र अपरिचित व्यक्तिहरु पनि भक्कानो छोडेर रोइरहेका थिए । मुलुकमा रोजगारी नभएपछि जीवन गुजाराका लागि बिदेसिएकाहरु काठको बाकसमा प्याक भएर फर्कनुपरेको पीडाले नेपालका नेताहरुको पछिल्लो गतिविधिलाई गिज्याइरहेको भान हुन्थ्यो ।
‘सुन्दर सपना बोकेर बिदेसिएकाहरुको सपना विदेशी भूमिमा नै उडेपछि एउटा मुढो नेपाल आइपुगेको छ, विचरा यिनका आफन्तहरु कति पीडामा होलान्’, विमानस्थलको त्यो कारुणिक दृश्य हेरिरहेका सुमन शर्माले भन्नुभयो– ‘यस्ता दृश्यले हाम्रा नेता र प्रशासकलाई किन छुँदैन ।’
विमानस्थलमा रहेको ट्रलीमा २४ वटा शव एकैचोटि आगमन कक्षको बाहिर निस्कँदै गर्दा डाँको छोडेर रुनेको संख्या एकपछि अर्को बढ्दै थियो । वातावरण स्तब्ध बन्दै गएपछि विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले त्यहाँको वातावरण सहज बनाउने कोशिस गरे पनि उनीहरुको आँखाबाट समेत आँसु थामिन सकेको थिएन । सुरक्षाकर्मी बाकसको बाहिरपट्टि लेखिएको नाम हेरेर आफन्त बोलाइरहेका थिए ।
जब शव भएको बाकस आफन्तलाई जिम्मा लगाइयो बाकसलाई समातेर रुनेहरुको दृश्यले नेपाल छोडेर बिदेसिँदै गरेकाहरुको पनि आँखा ओभानो थिएन । कतिपय वैदेशिक रोजगारीमा जानेहरु आफ्नो पनि हालत यस्तै हुने होइन भनेर दुःखेसो गर्दै गरेको दृश्यले सबैको ध्यानाकर्षणसमेत गरेको थियो ।

कतिपय महिला छोराछोरी बोकेर शव बुझ्न आएका थिए । काठको बाकसमा आफ्नो बुबाको नाम देख्नासाथ केटाकेहीहरु रुन थालेपछिको दृश्यले त्यहाँको माहोल हृदयविदारक बनेको थियो । छोरा गुमाएको पीडामा छाती पिटी–पिटी रुने बाबुआमा र श्रीमान् गुमाएको पीडामा आफूलाई थाम्न नसकेर बेहोस भएर भुइँमा लडेकी महिलाको दृश्यले विमानस्थलको वातावरणलाई धुमिल बनादिएको थियो । मलेसियामा कार्यरत रहँदा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव नेपाल वायु सेवा निगमको वाइडवडी जहाजले नेपाल ल्याइएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीनवटा अस्तु नेपाल ल्याएको थियो ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नेपाल ल्याइएका ती सबै शव आफन्तलाई जिम्मा लगाएको थियो । आफन्तले शव बुझेपछि कतिपयले आफ्नै थाकथलोमा अन्तिम संकार गर्ने भन्दै गृहजिल्ला लगेका थिए भने केहीले पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्