मैले चिनेका विशेषज्ञ चिकित्सक डा. ईश्वरलाल



विमलमान श्रेष्ठ

डा. ईश्वरलाल गुरुवाचार्य (आचार्य) चिकित्सा क्षेत्रमा कसैले चिनाइरहनुपर्ने नाम होइन । उहाँको जन्म वि.सं. १९९४ मा ललितपुरको इखालखु टोलमा भएको हो । ललितपुरको पाटनढोकास्थित पाटन हाइस्कुलबाट एस.एल.सी. र भारतबाट एम.बी.बी.एस. उत्तीर्ण गर्नुभएपछि उहाँले स्वास्थ्य सेवा विभागअन्तर्गत वीर अस्पतालमा चिकित्सकको रुपमा सेवा प्रारम्भ गर्नुभयो । त्यसको केही वर्षपछि संयुक्त अधिराज्य जानुभई मेम्बर अफ रोयल कलेज अफ फिजिसियन (एम.आर.सी.पी.) योग्यता प्राप्त गर्नुभयो । तत्पश्चात् पुनः वीर अस्पताल र टेकु अस्पतालमा कार्यरत हुनुभयो । अत्याधुनिक विधिबाट क्यामेरा सम्बन्धित ठाउँमा पठाएर फोटो लिई पेट तथा आन्द्रामा भएका रोगको पहिचान गर्ने इन्डोस्कोपी, कोलोनोस्कोपीजस्ता अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउने श्रेय पनि उहाँलाई नै जान्छ ।

उहाँसँग हाम्रो पहिलेदेखि नै पारिवारिक सम्बन्ध रहेको थियो । मलाई सम्झना छ कि उहाँ विवाहपश्चात् बेलायतमा एम.आर.सी.पी. गर्न जानुभएको र ३ वर्ष अध्ययन गरी २०३० सालतिर नेपाल फर्किएर पुनः वीर अस्पतालमै कार्य गर्नुभएको थियो ।मलाई थाहा भएअनुसार उहाँले पहिलो निजी क्लिनिक विशाल बजारअगाडि जुद्धसडकमा राख्नुभएको थियो । प्रतिबिरामी परीक्षण गरेबापत १० रुपियाँ लिनुहुन्थ्यो । उहाँको एउटा विशेषता भनेको आफ्नो पेसालाई चाहिने ज्ञान सधैँ अध्यावधिक राख्न प्रायः दिनको एक समय चिकित्सासम्बन्धी संसारमा के–कस्तो भैराखेको छ, सोको जानकारी राख्न अध्ययन गर्ने गर्नुहुन्थ्यो । उहाँ सधैँ प्रायः बिहान ८ः३० बजेतिर मौसमअनुसारको लुगा लगाएर हँसिलो मुहारमा घरबाट बाहिर निस्कनुहुन्थ्यो । उहाँको अर्को विशेषता भनेको प्रायः उहाँको घाँटीमा टाई झुन्डिएकै हुन्थो भने आफैंले गाडी चलाएर आउने–जाने गर्नुहुन्थ्यो । खानेकुराहरुमा उहाँ नेवाः परिकारहरु विशेष रुचाउनुहुन्थ्यो ।न्युरोडपछि उहाँले २०३० बाट पाटनको धलायचामा सिद्धि मेडिकल हलबाट सञ्चालित क्लिनिकमा हप्ताको दुई–तीनपटक सेवा शुरु गर्नुभएको थियो ।

उक्त क्लिनिकमा उहाँले जीवनको अन्त्यसम्मै नै बिरामीहरुको परीक्षण गर्नुभएको थियो । उहाँको विश्वसनीयता यतिसम्म थियो कि क्लिनिकमा नाम लेखाउन बिहानै भीड हुने गथ्र्यो । उहाँले त्यतिखेर एकदिनमा २५ जना मात्र बिरामी जाँच्नुहुन्थ्यो । त्यसैले कहिलेकाहीँ नाम लेखाउन लछारपछार हुने गरेको सुनिन्थ्यो ।उहाँले टेकु अस्पतालमा पनि कार्य गर्नुभएको थियो । निजी स्तरमा खोलिएको काठमाडौं पोलिक्लिनिकलाई अस्पतालको रुपमा विस्तार गर्न उहाँको भूमिका अग्रणी थियो । चिकित्सकीय पेसामा उहाँको मान्यता थियो कि क्लिनिकल प्राक्टिस गर्ने चिकित्सकले अस्पताल चलाउनुहुँदैन । उहाँले सरकारी सेवामा रहँदासम्म कहिल्यै पनि अस्पताल, महाशाखा एवं विभागको प्रमुख हुनुभएन । बरु आफूभन्दा कनिष्ठ प्रमुख भएको ठाउँमा समेत उहाँले आफ्नो चिकित्सकीइ पेसालाई निरन्तरता दिइराख्नुभयो । सरकारी सेवामा हुँदा तत्कालीन स्वास्थ्यमन्त्री पद्मसुन्दर लावतीको समयमा एकपटक उहाँलाई सुदूरपश्चिमको बैतडी जिल्लामा सरुवा गरिएको र त्यहाँ हाजिर हुन गई हप्तादिन बसेर पुनः काठमाडौंमै फर्किई चिकित्सकीय सेवामै लाग्नुभएको थियो ।नेपालमा समस्याको रुपमा देखा परेको क्षयरोग, हात्तीपाइले रोग, मलेरिया, मेनेन्जाइटिस आदिको निवारणार्थ मुलुकको विभिन्न सनमुदायमा गई अध्ययन गरेर उहाँले प्रतिवेदनहरु तयार पार्नुभएको थियो । ती प्रतिवेदन उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित गर्नुभएको थियो । साथै नेपालमा विद्यमान गलगाँड रोगको निवारण गर्न आवश्यक अध्ययन गर्नुभई आयोडिनयुक्त नूनको शुरुवात गराउनमा उहाँको प्रमुख योगदान छ । त्यसपछि साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नूनको बिक्री वितरण शुरुवात गरेको थियो ।म आफू पनि पेसाले फर्मासिस्ट भएको नाताले काठमाडौंको नर्सिङहोम त्रिपुरेस्वरस्थित क्लिनिकमा उहाँसँग धेरै समय बिताएको थिएँ । आफ्नो कार्यालयको दैनिक काम सकेपछि उहाँको प्रेस्क्रिप्सन प्रक्रियाको अध्ययनको लागि म उहाँकोमा जाने गर्थें । उहाँको प्रेस्क्रिप्सन प्रायः सटिक र उचित नै हुन्थे र रोगसँग असम्बन्धित औषधिहरु प्रेस्क्राइब नै गर्नुहुँदैनथ्यो । अर्को उहाँको विशेषता, उहाँ जहिले पनि बिरामीलाई हँसाएर मनोबल उच्च हुने किसिमबाट जाँच्ने गर्नुहुन्थ्यो, जुन डा. ईस्वरलालको ईस्वरीय गुण नै मान्नुपर्छ ।

जिल्ला अस्पताल, हेल्थपोस्ट, उपस्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र स्तरका अत्यावश्यक औषधिहरुको राष्ट्रिय सूची समयानुकूल संशोधन गर्ने औषधि व्यवस्था विभागबाट गठित प्राविधिक समितिमा उहाँ सन् १९८५ देखि २००५ सम्म चिकित्सकीय विशेषज्ञ हुनुहुन्थ्यो । ती सबै कार्यहरुलाई उचितरुपमा व्यवस्थापन र सञ्चालन गर्न आवश्यक सुझावको लागि विभागबाट बोलाइने विशेष प्राविधिक बैठकमा डा. आचार्यलाई आमन्त्रणा हुने गथ्र्यौ । यसैले उहाँको औषधिसम्बन्धी बृहत् ज्ञान थियो भन्ने बुझिन्छ । बैठकमा उहाँ जहिले पनि सटिक र व्यावहारिक सुझावहरु दिने गर्नुहुन्थ्यो । बैठकमा उपस्थित वरिष्ठ चिकित्सकहरुले उहाँका सुझावहरु आदरका साथ हृदयंगम गर्नुहुन्थ्यो । बैठकमा सहभागी हुनुभन्दा पहिले घरबाट नै पूर्णरुपमा आवश्यक अध्ययन–अनुसन्धान गरी बैठकमा आफ्नो राय प्रस्तुत गर्नुहुन्थ्यो । उहाँलाई औषधि ऐन २०३५ अन्तर्गत औषधि व्यवस्था विभागलाई प्राविधिक सल्लाह दिन गठित औषधि सल्लाहकार समितिमा पनि विशेषज्ञ चिकित्सकको रुपमा त्यति बेलाको सरकारले मनोनयन गरेको थियो ।नेपालमा पहिलोपल्ट २०४० आषाढ १३ गते जनताको लागि हानिकारक, तर्कविहीन, समिश्रणयुक्त, गुणस्तरहीन, जनअसुरक्षित औषधिहरुको प्रतिबन्ध लगाइएकोमा उहाँले पनि प्राविधिकरुपमा औषधि व्यवस्था विभागलाई सहयोग गर्नुभएको थियो । उक्त प्रतिबन्धमा औषधि बजारमा व्यापक चलनचल्तीमा रहेका भाइब्रोना टोनिक, नोभाल्जिन ट्याब्लेट, एपिसी ट्याब्लेट, टेट्रासाइक्लिन लिक्विड ओरल प्रिपरेसन आदि परेका थिए भने पछिल्लो समयमा हानिकारक औषधिहरुको औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ को दफा २५ अनुसार प्रतिबन्ध लगाएको थियो ।

उहाँका अरु योगदानको सन्दर्भमा कुरा गर्नुपर्दा एन्टिबायोटिकको उचित सदुपयोगबारे राष्ट्रिय औषधि नीति २०५१ मा यथोचितरुपमा उल्लेख गराउन उहाँको योगदान उल्लेखनीय रहेको मेरो मानसपटलमा अझै पनि ताजै छ । एन्टिबायोटिकबारे सो नीतिमा उल्लेख गराउन ए.पी.यु.ए. नेपाल नामको संस्थाको पहलमा २०५७ मा औषधि सल्लाहकार समितिमार्फत तत्कालीन श्री ५ को सरकारले निर्णय गरेको थियो । उहाँ ए.पि.यु.ए.–नेपालको स्थापनाकालदेखि सक्रिय सदस्य हुनुहुन्थ्यो । सो संस्थाको प्रमुख कार्यालय अमेरिकाको बोस्टन शहरमा रहेको छ ।यसै गरी ए.पी.यु.ए.नेपालको आयोजनामा, ए.पी.यु.ए. इन्टर्नेसनल, यु.एस.ए.को सहयोगमा अधिराज्यका विभिन्न मेडिकल कलेजबाट उत्तीर्ण भएका नयाँ चिकित्सकहरुको लागि ‘ट्रेनिङ वर्कसप अन रासनल युज अफ एन्टिमाइक्रोबियल टु फ्रेस मेडिकल ग्राजुयट’ तालिमको पाठ्यक्रम र प्रशिक्षण कार्यमा उहाँ सक्रियरुपमा संलग्न हुनुभएको थियो, जुन तालिममा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत २० जना नयाँ चिकित्सकहरुले भाग लिएका थिए । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बिरामीहरुको रोग कसरी निदान गर्ने, कसरी उचित तरिकाले प्रभावकारी, सुरक्षित, सजिलै उपलब्ध हुने, गुणस्तरीय औषधिको उचित तरिकाले प्रेस्क्राइब गर्ने अर्थात् औषधि पुर्जा लेख्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

डा. आईएल आचार्यको उपचारकै क्रममा ८३ वर्षको उमेरमा गत जेठ २ गते सानेपास्थित स्टार अस्पतालमा निधन भएको थियो ।
अन्त्यमा, हाम्रो परिवारलगायत अन्य सम्पूर्ण परिवार जस–जसले उहाँबाट आफ्नो पारिवारिक चिकित्सकको रुपमा सरसल्लाह लिई रोगको निदान गराउँदै आउनुभएको थियो उहाँहरु सबैका लागि उहाँको आकस्मिक स्वर्गारोहणले ठूलो क्षति भएको महसुस भएको छ । डा. ईश्वरलालको स्वर्गारोहणले चिकित्सा क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपरेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै उहाँले स्थापना गरेर जानुभएको चिकित्सकीय मान्यता र आदर्शलाई अरु चिकित्सकहरुले पनि अँगालेर अगाडि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
(लेखक श्रेष्ठ हाल क्यानाडामा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्