मनोरञ्जन क्षेत्र र श्रमिक सरकारबाट उपेक्षित


भगवती तिमल्सिना, काठमाडौँ ।

कोरोना संक्रमणको मारमा परेका मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक, रेष्टुरेन्ट संचालक, लोक दोहरी साँझ, क्लवहरु संचालन कुन मन्त्रालय अन्र्तगत पर्छ भन्ने बिषयमा सरकार स्वयम अन्योलमा बस्दा व्यवसायीहरु मारमा परेको बताईएकोछ ।

मनोरञ्नको क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका क्षेत्रमा कार्यरत विश्वास नेपालले श्रमिकको सशक्तिकरणका लागि राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम सम्पन्न गरेको जनाएकोछ ।संस्थाले यूएसएआईडीको सहयोगमा संचालित हाम्रो सम्मान परियोजना अन्तरगत भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।विश्वास नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले आफुले काठमाडौ लगायत विभिन्न स्थामा लगानी गरेका रेष्टुरेन्ट, क्लव, दोहोरी साँझ लगायतका क्षेत्रमा २ बर्षको कोरोना कहरले सोच्न सम्म नसक्ने बनाएको छ भन्नुभयो । उहाँले आफुले गरेको लगानी, बैंक ब्याज, सरकारले गर्ने व्यवहार सम्झियो भने एकछिन पनि टिक्न सक्ने अवस्था छैन । सरकारले सबैभन्दा पहिला बन्द गर्ने पनि यीनै क्षेत्र पर्छ र सबै भन्दा अन्तिममा खोल्ने पनि यीनै क्षेत्र पर्छ । यति मात्र नभै मनोरञ्जन सबैलाई चाहिन्छ, मर्यादित र सम्मानीत भएर बाच्न पाउँने आम नागरिकको अधिकारलाई सरकारले नै कुल्चिएको छ ।

उहाँ भन्नुहुन्छ-हामीले लगानी गरेका छौ, देशव्यापी रुपमा कलाकारहरु तथा श्रमिकहरु गरि ८ लाखको हाराहारी रोजगारी पनि दिएका छौ । तर न लगानी कर्ताले कतैबाट राहत पाएको छ न श्रमिकले नै । सरकारले विवेक प्रयोग नगर्दा २ बर्षको लकडाउनका अवधिमा रोजगारी गुमाएर, गाँस, बास र कपासको व्यवस्था गर्न नसक्दा ३ सय ५० जना श्रमिकले आत्महत्या गरेका छन् । यति गम्भिर बिषयले सरकार र समाजलाई छोएन ।मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई समाजले पनि नराम्रो दृष्टिकोणले हेर्ने र घृणाको व्यवहार गर्ने कारणले पनि लकडाउनका बेला कलाकार, श्रमिकहरुले अन्य काम गर्न नसकेर आत्महत्याको बाटो रोज्न बाध्य भए । यस्ता गम्भिर बिषयमा सरकारको ध्यानाकर्षण गराउँन जाँदा हामी समेत थाक्यौ । गृह मन्त्रालय गए, पर्यटन मन्त्रालय देखाउँछ, पर्यटन मन्त्रालय गए प्रधानमन्त्री कार्यालय देखाउँछ । सरकारको कुनैपनि निकायले हाम्रो गुनासो नसुन्दा यो अवस्था सृजना भयो । अन्य कल, कारखाना, उद्योग खोले जस्तै स्वास्थ्य मापदण्डको पालना गरेर रेष्टुरेन्ट, मनोरञ्जनका क्षेत्रहरु पनि खोल्न दिनुपर्ने र आम नागरिकको श्रम गरेर जिविकोपार्जन गर्न पाउने अधिकारको रक्षा हुनुपर्ने श्रेष्ठको माग छ ।

श्रेष्ठ भन्नुहुन्छ—यो क्षेत्रको शुरुवात नै सरकोको नीति नियम बाहिर भयो । त्यसैले समाजको दृष्टिमा नपच्ने नकारात्मक काम पनि भए । यसलाई सरकारले नियन्त्रणमा राखेर मनोरञ्जनलाई पर्यटनसँग जोडेर हेर्ने भनिएपनि खासै नीति नियम नबन्दा व्यवसायी र श्रमिकहरु मारमा परेका छन् । हाम्रो व्यवसाय रात्रीकालिन भएकै कारण दुव्यवहार पनि बढेकै थियो । तर अहिले त्यस्तो नभै मर्यादित पेशाका रुपमा मनोरञ्जन क्षेत्र संचालित छ । तर पनि सरकारी संयन्त्र र सुरक्षा निकायबाट हाम्रो व्यवसाय र पेशामा आवद्ध श्रमिकहरु दुब्यवहारको सिकार बन्न बाध्य छौ । यति सम्म कि काम सकेर घर फर्कने क्रममा सुरक्षाकर्मीले गाडि भित्रै पसेर श्रमिक माथि दुब्यवहार गर्छन् । यीनै निकायमा रोजगारी गरेर अध्ययन,अध्ययापन, घर, परिवारको जिम्मेवारी धान्दै चर्चित कलाकार सम्म बनेकै छन तर पनि सरकारले किन यो पेशालाई नराम्रो दृष्टिले हेर्छ ? सरकारले लकडाउन आतंकित तरिकाले गरेकै कारण व्यवसायीहरुले आफ्ना श्रमिकको व्यवस्थापन गर्न नपाउँदा यति ठूलो संख्यामा श्रमिकले आत्म हत्याको बाटो अपनाउन बाध्य भए ।

यस्तो अवस्थामा नत सरकारले राहत प्याकेज ल्याउँछ न व्यवसाय नै गर्न दिन्छ । बाच्नका लागि न्यूनतम आवश्यकता पुरा नहुँदा कति रोगले मरे भने कति शोक र भोकले मर्न बाध्य भएका छन् । बन्दाबन्दिमा अलि राम्रो मुनाफा कमाएका कम्पनीले एक महिनाको तलब, पेश्कि र राहत प्याकेज दिएका छौ । तर यतिले जिवन धान्न सक्ने अवस्था नै छैन । रात्री कालिन व्यवसाय मात्र नभै हरेक क्षेत्रमा यौनिक हिंसा हुन्छ । यस्ता बिषयमा श्रमिक आफै सचेत हुनुपर्छ ।सरकारले पर्यटन बर्ष घोषणा गरेसँगै व्यवसायीहरुले निकै उत्साहका साथ ४० खर्ब बराबरको लगानी गरेका थियौ यो सबै डुब्यो । यस्तो अवस्थामा सरकारले सहुलियत दरमा ऋण दिएर व्यवसायिलाई प्रोत्साहन गर्नुपथ्र्यो । श्रेष्ठ भन्नुहुन्छ अहिले त घाटा सोच्नै नसक्ने भएपछि सोच्नै छोडिसके ।विश्वास नेपालका अध्यक्ष तारा भण्डारी भन्नुहुन्छ व्यवसायी र श्रमिकलाई पाईला पाईलामा समस्या छ, जाने कहाँ ? २०६५ को सर्वोच्च अदालतको निर्देशिकाको आधारमा मनोरञ्जनका क्षेत्रमा काम भएको छ । कुनै नीति नियम बनेकै छैन । हरेक मान्छे बाच्नका लागि सम्मानजनक पेशा हुनै पर्छ । तर रेष्टुरेन्टमा काम गर्ने भन्ने बित्तिकै महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ । नीति नियम नहुँदा मानव बेचविखन बढ्दो अवस्थामा छ । यस्ता श्रमिकको तथ्यांक निकाल्ने बिषयमा सरकारले ध्यान नै दिएको छैन ।

विश्वास नेपालकै कार्यकारी निर्देशक बालकुमारी आलेमगर भन्नुहुन्छ हामीले १३ बर्ष देखि यो क्षेत्रमा कार्यरत श्रमिकलाई नजिकबाट नियालेका छौ । तर अपमान हुने डरले श्रमिकहरुले पेशा लुकाउन बाध्य छन् । मिडिया र प्रहरीसँग त यो पेशामा आवद्ध श्रमिकहरु बढी नै त्रसित छन् । यसको प्रमुख कारण एक दुई जना अर्थात् एकदुई स्थानका घटनालाई लिएर समग्र व्यवसाय र श्रमिकलाई यौनकर्मीको थलोका रुपमा हेर्नु र व्यवहार गर्नुनै हो । यो गलत धारणालाई चिर्दै पेशा प्रतिको हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । मिडियाले आम नागरिकलाई यथार्थ बुझाउन महत्व पूर्ण भूमिका खेल्न सक्छ । सुरक्षाकर्मीले सही मार्ग देखाउन सक्छ ।‘हाम्रो सम्मान’ परियोजनामार्फत विश्वास नेपालले यस क्षेत्रमा कार्यरत श्रमिकहरूको राष्ट्रिय भेलाको आयोजना गरी ‘मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकहरूको सञ्जालको गठन गरेको परियोजना संयोजक विवेक शर्माले बताउँनुभयो ।

उहाँले मनोरञ्जन क्षेत्रका व्यवसायी र श्रमिकको हित, काम र कर्तव्यका बारेमा देशभर ३७ वटा कार्यक्रम सम्पन्न गरेको, श्रमिकको देशव्यापी भेलाको आयोजना गरेर श्रमिकको राष्ट्रिय सञ्जालको गठन गरिएको बताउनुभयो । यसको मुख्य उद्देश्य मनोरञ्जन क्षेत्रको रोजगारीलाई मर्यादित बनाउँदै श्रमिकको जीवन जोखिममुक्त बनाउन सशक्तिकरण गर्दै लैजाने लक्ष्यसहित विविध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।दोहोरी साँझ, रेष्टुरेन्ट बार, पव, मसाज पार्लरलगायतका व्यवसायमा उपलब्ध रोजगारीलाई सम्मानित, मर्यादित बनाउन विश्वास नेपालले वि.स. २०६५ देखि श्रमिकलाई निरन्तर पैरवी, मनोपरामर्श, रचनात्मक क्रियाकलाप र अनुगमनसहित मिलन केन्द्रको अवधारणा पनि ल्याएको बताईयो ।

यस क्षेत्र सञ्चालनको लागि छुट्टै कार्यविधि आवश्यक रहेको छ भन्दै विश्वास नेपालका परामर्शदाता रशना ढकालले वकालत गर्दै गृहमन्त्रालयमा कार्यविधिको नमुना समेत पेश गरेको बताउँनुभयो ।