एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता


पुष्कर बुढाथोकी, भक्तपुर  । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।आज विहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबुँदे सहमति कार्यान्वयन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेता धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी हुनुभएको थियो ।ओली नेतृत्वको अघिल्लो सरकारसँग सम्झौता गरी चन्द नेतृत्वको नेकपा भूमिगत राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा आएको हो ।त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि भन्दै विप्लवले राजनीतिक भेटवार्ता गरिरहनुभएको बताउँदै आउनुभएको छ ।

एक साताको बीचमा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरिसक्नुभएको छ ।आफूहरुसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।