जुत्ताको निकासीमा गिरावट


वीरगन्ज, (नेस) । 

वीरगन्ज नाकाबाट हुुने जुत्ताको निकासी दुई वर्षयता निरन्तर ओरालो लागेको छ । भारतलगायत तेस्रो मुलुकमा निक्कै मनपराइएको सस्तो मूल्यको स्पोर्टस जुत्ताको निर्यात ओरालो गरेको हो ।

नेपालबाट विशेष गरी गोल्डस्टार ब्रान्डको जुत्ता ठूलो परिमाणमा निर्यात हुँदै आएको छ । वीरगन्ज भन्सार कार्यालयका आर्थिक वर्ष २०७७-२८ को ११ महिनाको अवधिमा निर्यात मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ । वीरगन्ज भन्सारमार्फत् जेठ मसान्तसम्ममा ६४ करोड ६९ लाख रुपियाँ मूल्य बराबरको जुत्ता निर्यात भएको छ । आर्थिक वर्ष २०७६-७७ को जेठ मसान्तसम्ममा ७० करोड ९३ लाख रुपियाँ मूल्य बराबरको जुत्ता निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७५-७६ को तुलनामा २०७६-७७ मा पनि जुत्ताको निर्यातमा गिरावट आएको थियो । २०७५-७६ को तुलनामा निर्यात मूल्यमा १८ प्रतिशतले ह्रास आएको वीरगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सार कार्यालयका अनुसार २०७५-७६ मा ८९ करोड ८८ लाख रुपियाँ मूल्य बराबरको जुत्ता निर्यात भएकोमा २०७६-७७ मा जम्मा ७३ करोड ५६ लाख रुपियाँ मूल्य बराबरको जुत्ता निर्यात भएको छ ।

जर्मनी सहयोग नियोग जीआईजेडको सहयोगमा गरिएको एक अध्ययनअनुसार नेपालबाट निर्यात हुने जुत्तामध्ये ९९ प्रतिशत जुत्ता भारतमै निर्यात हुँदै आएको छ । कुल आन्तरिक उत्पादनको ३० प्रतिशत जुत्ता मात्र निर्यात हुने गरेको छ भने बाँकी ७० प्रतिशत स्वदेशमै खपत भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।