काठमाडौंमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

सिसडोल ल्यान्डफिल साइट भरियो


ईश्वरराज ढकाल, काठमाडौं। 

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडाै र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।

फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सक्ने गरी तयारी भइरहेको बताएको थियो । बैठकलगत्तै दिउँसो प्रधानमन्त्री कार्यालयको निर्देशनमा काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो ।साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभुयो । उहाँले भन्नुभयो– ‘सिसडोल ल्यान्डफिल साइट भरिइसकेको छ, ‘भ्याली टु’ को केही स्थान खाली गरेर फोहोर व्यवस्थापन गरिरहेका छौं । यही अवस्था हो भने दशैंसम्म बन्चरेडाँडा ल्यान्डफिल साइट बन्न सक्ने अवस्था देखिँदैन ।’ विभागको आलटालको कारण काम अघि बढ्न नसकेको आरोप लगाउँदै अबको दशैंतिहारसम्म पनि फोहोर व्यवस्थापन गर्न समस्या हुने कामपाको भनाइ छ । श्रेष्ठले भन्नुभयो– ‘हामीले बन्चरेडाँडा ल्यान्डफिल साइट तयार ग¥यौं भनेको एक वर्ष हुन लाग्यो, अहिले पनि तयार गर्दै छौं भनिरहेका छन् ।’

कामपाले सिसडोल ल्यान्डफिल साइटको बाटो कामै नलाग्ने गरी बिग्रिएकाले समस्या आएको जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले भने अबको दुई महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटको निर्माण कार्य भइसक्ने बताउनुभयो । उहाँका अनुसार सेल वानमा फोहोर फ्याँक्न मिल्ने भइसकेको छ, लिचेड पाउन्ड तयार भएपछि उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ ।तत्कालीन शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कात्तिकमा ल्यान्डफिल साइट अवलोकनका क्रममा मंसिरमा फोहोर फ्याँक्न मिल्ने गरी ल्यान्डफिल तयार गर्न निर्देशन दिनुभएको थियो । लगत्तै द्रुत गतिमा काम शुरु भएको थियो । विभागले अन्तिम समय वैशाखमा फोहोर व्यवस्थापन हुने बताएको थियो ।विभागका महानिर्देशक नवराज प्याकुरेलले दुई महिनामा सक्ने गरी धमाधम काम भइरहेको दाबी गर्दै भन्नुभयो– ‘अब तोकिएकै समयमा फोहोर व्यवस्थापन गर्छौं । सेल वान तयारी अवस्थामा रहेको र बाँकी संरचना धमाधम निर्माण भइरहेको कारण अबको दुई महिनाभन्दा बढी लाग्दैन ।’

उपमहानिर्देशक घिमिरेले सडक विभागका कारण ल्यान्डफिल साइटसम्मको बाटो निर्माण कार्यमा समस्या भएको बताउनुभयो । फोहोर व्यवस्थापनमा समस्या आएपछि राजधानीलगायत सिसडोलको फोहोर व्यवस्थापन हुने १८ वटै स्थानीय तहको विभिन्न क्षेत्रमा फोहोरको थुप्रो बढ्न थालेको छ । दुई महानगर क्षेत्रभित्र सडक गल्लीमा फोहोर थुप्रिन थालेको छ ।सरकारले ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिलका लागि करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोहीअनुसार सरकारले बञ्चरेडाँडामै फोहोर व्यवस्थापन गर्न तयारी थालेको हो ।