देउवाको गृहजिल्लामा कांग्रेसको चुनावी सरगर्मी जिल्ला सभापतिका लागि त्रीपक्षीय प्रतिष्प्रर्धा हुने


राम धामी, डडेल्धुरा, ।
नेपाली काँग्रेस डडेल्धुराको आसन्न सातौं जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा डडेल्धुरा जिल्लामा तीन समुहबीच चुनावी प्रतिष्प्रर्धा हुने देखिएको छ ।
एक बर्षपहिले देखिनै पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी तयारीमा जुटेका नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्ट र परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालेका छन । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा आफु उम्मेदवार बनेको दाबी गरेका नगरप्रमुख साँउदलाई जिल्ला सभापति बनाउन पुर्व सभापति रघुबर भट्ट र प्रदेश सभा साँसद गोबिन्द बोहरासहितका नेताहरु जिल्लाव्यापी दौडाहामा छन ।

कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको साँउदले बताए । जिल्लामा पार्टीभित्र मौलाएको गुटबन्दी निरुत्साहित गरेर पार्टी एकताका लागि सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको साँउदले बताए । केहि दिन पहिले देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका जिल्लास्तरीय केहि नेताहरूसँगको छलफलमा देउवाले परशुरामका नगरप्रमुख साउदलाई सभापति बनाउन आग्रह गरेको साँउद पक्षीय नेताहरुको दाबी छ । बूढानीलकण्ठमा भएको छलफलमा देउवा र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउँदलाई सभापति बनाउने समझदारी भएको थियो ।

पूर्वसभापति भट्ट, सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका सचेतक समेत रहेका साँसद बोहरा, जिल्ला कार्यसमिति सचिवद्वय लक्ष्मी अवस्थी र हेमराज चटौतलगायका अन्य जिल्लास्तरीय नेता कार्यकर्तामाझ साउँदले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । डडेल्धुरा जिल्लामा देउवाबाहेक कांग्रेसको रामचन्द्र पौडेलको गुट भने खासै अश्तित्वमा छैन । देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई सभापति देउवाकी धर्मपत्नी डा.आरजु देउवा राणाको समर्थन छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्टका अलग उपगुट हुन् ।तीन जना जिल्ला सभापतिका उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार अभियान तिब्र पारेपछि डडेल्धुरामा स्पष्ट रुपमा त्रिपक्षीय प्रतिष्प्रर्धा हुने स्पष्ट संकेत देखिएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला भएकोले पनि डडेल्धुरामा कांग्रेसको चुनावी प्रतिष्प्रर्धाले बेग्लै रौनकता छाएको छ । जिल्ला राजनीतिमा बलियो पकड बनाउने सफल नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले भने चुनावी प्रतिष्प्रर्धामा सक्रियता देखाउन सकेका छैनन् । पार्टीको क्रियासिल सदस्यता सम्बन्धि विवाद अनावश्यक रुपमा बल्झिएकाले विवाद निरुपण भएपछि मात्रै जिल्ला फर्किने योजनामा रहेका मल्ल हाल राजधानी काठमाण्डौंमै छन ।
नेपाली  कांग्रेस डडेल्धुराको राजनीतिमा पछिल्लो एक दशकदेखि सभापति मल्ल हाबी भएको नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमिति सदस्य युवा नेता सन्तोष देउवाले बताए । उनले सभापति मल्लको समर्थन भएको समुहले चुनावी प्रतिष्प्रर्धामा विजय हासिल गर्ने दाबी गरे । नेपाली कांग्रेस डडेल्धुराको दुई कार्यकाल नेतृत्व गरेका सभापति मल्ल डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका साँसद हुन् । विधानले दुई कार्यकाल भन्दा बढि सभापतिमा लडन बन्देज लगाएकाले सभापति मल्ल केन्द्रीय सदस्यका आकंक्षी छन ।यस्तै गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, महासमिति सदस्य तारक बुढाऐर, दलित नेता भरत नेपाली र युवा नेता चुडामणी ठकुराठीले पनि जिल्ला सभापतिका उम्मेदवारी घोषणा गरिसकेका छन । तर सभापति पदको उम्मेदवारी घोषणा गरेर सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी अभियान थालेका तीन जना बीचमात्रै तिब्र चुनावी प्रतिष्प्रर्धा हुने काँग्रेस कार्यकर्ताहरु बताउछन् ।

जिल्ला अधिवेशनमा तीन समुहबीच प्यानलसहितको प्रतिष्पर्धा हुने देखिए पछि स्थानीय तहमा समेत नेता कार्यकर्ताहरुबीच तिब्र धुव्रिकरण हुन थालेको छ । स्थानीय तहकासाथै प्रदेश सभा निर्वाचन क्षेत्रमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले बताउनु भयो । सकभर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।डडेल्धुरा लगायतका केहि जिल्लाहरुमा नयाँ क्रियासिल सदस्य वितरणका क्रममा उत्पन्न विवादको अझै अन्त्य हुन सकेको छैन । विवाद समाधान भएर सदस्यताको टुंगो लागेपछि मात्रै जिल्ला अधिवेशनका गतिविधीहरु अघि बढने नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिनुभयो ।