प्रतिनिधिसभा पुनःस्थापना ऐतिहासिक: सापकोटा


काठमाडौं, (नेस) ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था संसद्कोे सार्वभौम अधिकारलाई पुनःस्थापित गर्न आफ्नो तर्फबाट योगदान पु-याउने राजनीतिक दल, नागरिक समाज एवं जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

संसद् पुनःस्थापित भएपछि आइतबार बसेको संसद्को पहिलो बैठक शुरू गर्दै सभामुख सापकोटाले संविधानसभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि हामीले वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषताहरू समावेश गरेका थियौं । विगतको तुलनामा संसद्लाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरूको निकास दिने आधिकारिक थलोका रूपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको छ ।’शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउँदै उहाँले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभाको पुनःस्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने लक्ष्यमा दत्तचित्त हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर प्राप्त भएको बताउँदै सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम् दायित्व पनि थपिएको सभामुख सापकोटाले बताउनुभयो ।