साउन १० सम्म थपियो निषेधाज्ञा


नेपाल समाचारपत्र, काठमाडौं । 

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हु“दै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढ्ण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका पसलहरू सा“झ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । रेस्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अबे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ । सो सेवा साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाइनेछ ।

तर, सबैले अनिवार्यरूपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने आदेशमा भनिएको छ । म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरूले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार लामो दुरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यसअघि नै लामो दुरीको यातायात चलाउने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषद्मा पठाएको जानकारी आएको पनि प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास लिएर आउने गाडी उपत्यका प्रवेश गरिरहेको छ । तर, देशभरिको यातायात सञ्चालनको विषय हुनाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने निरौलाले बताउनुभयो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ ।