काभ्रे कांग्रेसमा चुनावी हिसाव किताव शुरु


मोतीराम तिमल्सिना , काभ्रे । 

१४ औं महाधिवेशनको संघारमा रहेको भर्खरै सत्ताको नेतृत्व गरेको दल नेपाली काग्रेसको तल्लो तहको अधिवेशन श्रावण १२ गते देखि शुरु हुदैछ । केन्द्र देखि वडा तहसम्म गुट उपगुटमा विभाजित रहेको काग्रेसको भदौ २ गते सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।
अधिवेशन नजिकिए संगै जिल्लामा नेतृत्व हत्याउन नेताहरुले गुट उपगुटलाई थप मजवुत बनाउदै लगेका छन् । कृयाशिल सदस्यमा काटकुट भएसँगै उम्मेदवार छामछुम शुरु भएको छ । पार्टी छाडेका, पार्टीका उम्मेदवारलाई अन्र्तघात गरी हराएका थुप्रै ब्यक्तिहरुको कृयाशिल सदस्यता नविकरण भएर आएको छ भने बास्तविक रुपमा काँग्रेस भएकाहरुले सदस्यता प्राप्त गर्न सकेका छैनन । केहि दिन भित्र टुङ्गो लाग्ने भने पनि सबै गुट तथा उपगुट र कृयाशिलहरुलाई सदस्यता के हुने हो भन्ने त्रास बढेको छ ।

कांग्रेस भित्र केन्द्रमा मुख्य तीन गुट रहेको छ । संस्थापन पक्षमा सभापति शेरवहादुर देउवा गुट छ भने संस्थापन इतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि रहेको छ । भदौ १६ देखि १९ सम्म केन्द्रिय महाधिवेशनको मिति तय गरेको काग्रेसको अधिवेशनले अहिले सबै जिल्ला तात्न थालेको छ । केन्द्रय तहमा सस्थापन पक्षको एउटा र संस्थपन इतर पक्षको अर्को समिकरण बनाउने प्रयास भैरहको बेला यहाँ भने सिटौला पक्षका नेता केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई र पौडेल पक्षका नेता मधु आचार्य गुट मजवुत बन्दै गएका छन् । काभ्रेमा रमाईलो पक्ष के छ भने हुमागाई र आचार्य दुवै गुटमा देउवा पक्षका जिल्ला स्तरीय प्रभावशाली नेताहरु पछि लागेका छन् ।

जिल्ला नेतृत्वमा आचार्यको दोहो-याउने दाउ

१३ औं महाधिवेशनमा हुमागाईको साथ र सहयोगमा सभापति बनेका मधुप्रसाद आचार्य फेरी दोहो¥याउने दाउमा रहेका छन् । उहाको गुटमा सभापतिका आकाक्षी अच्युत पौडेल, कञ्चन बादे, तिर्थ पसखल, महेश खरेल भए पनि सकेसम्म आफै सभापति बन्ने कोशिसमा आचार्य रहेको उहा निकट नेताहरु वताउछन् । आचार्यले उल्लेखित नेताहरु सबैलाई सभापतिको लागि सघाउने बचन दिएको भए पनि अन्तमा उनिहरुलाई एक आपसमा विभाजित गरेर आफै नेतृत्व लिने रणनीति अपनाएको बुभिएको छ । आचार्यले आफु सभापति हुन नसके खरेललाई अघि सार्ने सम्भावना रहेको छ । आचार्य र बादे विचको पुरानो दुस्मनीको हिसाव किताव पनि यहि अधिवेशनमा हुने सम्भावना छ । पहिला शिक्षक संघको कार्यक्रममा नेता प्रकाशमान सिंह आउदा बादेले आचार्यको मञ्चमै कोट च्यातिदिएर अपमान गरेको घटना नविर्सिएको भन्दै आचार्यले यसको बदला लिने भनि केहि गोप्य बैठकमा भनेको चर्चा पनि अहिले चल्न थालेको छ । यो गुटको अर्को रमाईलो पक्ष भने यहा रहेका नेताहरु एकले अर्कोलाई प्रयोग गर्ने रणनीतिमा छन् । आचार्य आफु नभए खरेललाई ल्याउदा अरुभन्दा जुनियर भएकोले आफ्नो मातहतमै रहने भन्ने बुझाई छ । आचार्य समुहमा स्थानीय तहका पाँचखाल, तेमाल, रोशी पालिकाका केहि जनप्रतिनिधि छन् भने हुमागाई समुहमा बेथान्चोक, रोशी र पाँचखालका केहि जनप्रतिनिधि छन् ।

केन्द्रिय सदस्य हुमागाई गुटको छुट्टै रणनीति

काभ्रे काग्रेस भित्र केन्द्रिय सदस्य हुमाागाई गुट आचार्य गुट भन्दा शसक्त र निर्णायक मानिन्छ । हुमागाई गुट भित्र तिर्थ लामा, रमेश हुमागाई, दिनेश लामा, हर्षजित लामा, कुन्साङ लामा लगाएतका नेताहरु छन् । यो गुटमा जिल्ला नेतृत्वको लागि तिर्थ लामा, रमेश हुमागाई र दिनेश लामा नेतृत्व हत्याउने दाउमा लागिरहेका छन् । तिर्थ लामा र रमेश हुमागाई भने एक क्षेत्रिय सभापति एक जिल्ला सभापति बन्ने दाउमा छन् । यता निर्वाचित सचिव भएको हुदा सभापतिमा आफ्नो दाबी स्वभाविक भएको दिनेश लामाले बताउदै आएका छन् । नत्र उनि पनि संघीय सभापतिका दाबेदार हुन् । केन्द्रिय सदस्य हुमागाईले भने जिल्ला नेतृत्वमा आउने की नआउने भन्ने बारेमा क्षेत्रिय अधिवेशन पछि मात्र निर्णयमा पुग्ने जनाएको उँहा निकट एक नेताले बताएका छन् ।

जिल्ला नेतृत्वमा हुमागाईको दाबी के होला ?

जिल्ला नेतृत्वबारे क्षेत्रिय अधिवेशन पछि मात्र मुख खोल्ने रणनीतिमा लागेका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई अहिले क्रियाशिल सदस्यता वितरण देखि नै आफ्नो गुट मजवुत बनाउन क्रियाशिल छन् । अदालतको फैसला पछि राष्ट्रिय राजनीति कता जान्छ ? क्रियाशिल सदस्यता छानविन कसरी टुंगिन्छ ? केन्द्रिय पोजिशन के हुन्छ ? वडा, नगर र क्षेत्रको अधिवेशनमा कस्तो नेतृत्व आउछ ? अधिवेशनमा हार्ने नेताहरुको प्रतिक्रिया कस्तो हुन्छ ? जस्ता कुराहरुको राम्रो संग विष्लेषण गरेपछि मात्र केन्द्रिय सदस्य हुमागाईले आफ्नो पोजिशन सार्वजनीक गर्ने उहा निकट नेताहरुको भनाई रहेको छ ।

गणेश लामा आचार्य समुहमा

विजयकुमार गच्छेदारको लोकतान्त्रिक फोरम बाट काग्रेसमा समाहित भएका डन गणेश लामाको पनि काभ्रेमा छुट्टै गुट भए पनि उनि सभापति आचार्य समुहमा छन् । यस अघि केन्द्रिय सदस्य हुमागाई संग नजिएका लामा अहिले टाढिएका छन् । आचार्य गुटमा खुलेर लागेका लामा आफ्नो गुटलाई मजवुत बनाउन बढी भन्दा बढी भागवण्डा खोजिरहेका छन् । गणेश लामा प्रतिनिधि सभा क्षेत्र नम्वर १ का सभापतिका दाबेदार पनि हुन् ।

क्षेत्र र प्रदेशमा कुन गुट बाट कसको चर्चा ?

अधिवेशनमा काभ्रे क्षेत्र नम्बर १ मा नेतृत्वको लागि केन्द्रिय सदस्य गुमागाई गुटबाट तिर्थ लामा र रमेश हुमागाई नै प्रमुख दाबेदार हुन । दुई मध्य एक नेता जिल्ला नेतृत्व र एक क्षेत्रिय नेतृत्वमा जाने रणनीति रहेको बुझिएको छ । आचार्य गुटबाट भने शंकरदास लामा ‘राजु’ र शखवुद्ध लामा मध्ये एक आउन सक्ने बताइएको छ । शंखवुद्ध लामा भने अहिले सम्म गुटमा खुलेर लागेका छैनन् । क्षेत्र नम्बर २ मा भने हुमागाई गुटबाट सुन्दरमणी आचार्यले नेतृत्व दावि गरिरहेका छन् । आचार्य गुटबाट जिल्ला नेतृत्वमा नआए महेश खरेललाई क्षेत्रिय सभापति बनाउने रणनीति रहेको बताइएको छ ।

क्षेत्र १ को प्रदेश सभा १ मा हुमागाई गुटबाट गुणराज मोत्तान र राम योञ्जनको नाम चर्चामा छ भने आचार्य गुुटबाट रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको चर्चा छ । प्रदेश सभा २ मा हुमागाई गुटबाट दुर्गाप्रसाद अधिकारी र दिर्घवहादुर लामाको चर्चा छ । आचार्य गुटबाट भने राजेन्द्र कर्माचार्यको चर्चा छ ।क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा हुमागाई गुटबाट माधव ढकाल उमेदवार बन्ने चर्चा छ । आचार्य गुटबाट महेश पौडेलको नाम चर्चामा छ । त्यस्तै यो क्षेत्रको प्रदेश २ मा भने हुमागाई गुटबाट हेम लामा, दिल लामा, अर्जुन सापकोटा मध्ये एक नेतृत्वमा आउने रणनीति बनाउदै छन भने आचार्य गुटबाट तस्विर लामा लगायतको नाम चर्चामा रहेको छ ।

स्थानीय तहमा पनि हुमागाई र आचार्य गुट

काभ्रेमा १३ वटा स्थानीय तह छन् । स्थानिय तहमा नेतृत्वमा रहेका नेता आउदो निर्वाचनमा टिकटको लागि प्रमुख दावेदार हुने भएकोले यो अधिवेशनमा नेतृत्व हत्याउन नेताहरु गुटगत रुपमै शसक्त रुपमा लागि परेका छन् । बनेपा नगरपालिकामा हुमागाई गुटबाट महेश कर्माचार्य र राम जोशीको नाम चर्चामा छ । यद्यपि जोशीको नाम क्षेत्र नं २ को प्रदेश सभा १ मा जाने सम्भावना रहेको छ । बनेपा नगरमा आचार्य गुटबाट शान्तिरत्न शाक्यको नाम चर्चामा छ । धुलिखेल नगरमा भने हुमागाई गुटबाट जितकृष्ण श्रेष्ठ, समिर व्याञ्जु, विदुर बस्नेत र रविन्द्र सिग्देलको नाम चर्चामा छ । यो नगरमा आचार्य गुटबाट विमल व्याञ्जु, विनोद गौतम मध्ये एक हुने चर्चा छ । पनौती नगरमा हुमागाई गुटबाट रामशरण भण्डारी छन भने आचार्य गुटबाट भोला थापा, केदार भण्डारी लगाएतको नाम आइरहेको छ ।पाँचखाल नगरमा हुमागाई गुटबाट गणेश अधिकारी र हेम लामा मध्ये एकले नेतृत्व हत्याउने रणनीति बनिरहेको छ भने आचार्य गुटबाट कुमार लामिछाने, सुन्दर लामा लगाएतको नाम चर्चामा छ । नमोवुद्ध नगरमा हुमागाई गुटका कुन्साङ लामा र आचार्य गुटबाट इन्द्र वहादुर दाहाल अघि बढ्ने योजना बनाइरहेका छन् । रोशी गाउपालिकामा भने नेतृत्वको लागि हुमागाई गुटबाट पदम लामा, लक्ष्मी वर्तौला र सार्किमान लामाको नाम चर्चामा छ भने आचार्य गुटबाट हस्त वहादुर लामा र मंगल लामाको नाम चर्चामा छ ।

भुम्लु गाउपालिकामा हुमागाई गुटबाट दावा लामाको दावी रहेको छ भने आचार्य गुटबाट तस्वीर लामाको दावी रहेको छ । खानिखोला गाउपालिकामा हुमागाई गुटबाट क्षेत्र लामा, विद्यावल लामा र लाल वहादुर थिङको नाम चर्चामा रहेको छ । यता आचार्य गुटबाट सोनाम लामा र गोपाल दर्लामीको नाम चर्चामा छ । मण्डन देउपुर नगरपालिकामा भने हुमागाई गुटबाट रामहरी सापकोटा, केशव प्रसाद तिमल्सिना, वेदप्रसाद न्यौपाने लगाएतका नेताहरु नेतृत्व हत्याउने दाउमा लागिपरेका छन भने आचार्य गुटबाट कस्यप पौडेल लागिपरेका छन् । तिमाल गाउपालिकामा भने हुमागाई गुटले ज्ञान वहादुर लामालाई अघि बढाएको छ भने आचार्य गुटले सञ्जिव लामालाई अघि बढाउने तयारी गर्दैछ ।
चौरीदेउराली गाउपालिकामा हुमागाई गुटबाट किशोर राज गिरि, चन्द्र लामा र पुष्प गौतम मध्य एक लाई नेतृत्व दिने गरि छलफल चलिरहेको बताइएको छ । आचार्य गुटबाट यो पालिकामा विक्रम राज अघि बढ्ने बताइन्छ ।

यता महाभारत गाउपालिकामा ल्वाङ लामा, शोभा सिं वाइवा, देवराज योञ्जन र गोपाल थापा मध्ये एक हुमागाई गुटबाट अघि बढ्दै छन भने आचार्य गुटबाट रकम सिं घलान र सन्तोष श्रेष्ठ मध्ये एक अघि बढ्ने बताइएको छ । त्यस्तै वेथानचोक गाउपालिकामा हुमागाई गुटबाट प्रेमबहादुर तिमल्सिना, सञ्जिव लामा र कृष्ण वहादुर पाख्रिन मध्ये एकलाई नेतृत्व दिने तयारी भैरहेको छ । यो गाउँपालिकामा आचार्य गुटबाट मछिन्द्र कुमार लामालाई अघि बढाउने तयारी भैरहेको छ ।कांग्रेसले सार्वजनीक गरेको महाधिवेशन कार्यतालिका अनुसार गाउँ नगर वडा अधिवेशन श्रावण १२ गते, गाउपालिका नगरपालिका श्रावण १६ गते, प्रदेशसभा क्षेत्रिय अधिवेशन श्रावण २० गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भाद्र १ र २ गते गर्ने निर्णय भएको छ ।

कृयाशलि सदस्य काटकुट

लामो समय काँग्रेसमा रहेका, पार्टी फुट्दा प्रजातान्त्रिक काँग्रेसको नगर सभापति रहेका बनेपाका रविन शाक्य नयाँ शक्ति हुँदै मधेशवादी दलमा सक्रिय थिए तर उनको सदस्यता नविकरण भएर आएको छ । उनको सदस्यता खारेज गर्न काँग्रेसकै एउटा गुट सक्रिय छ । मधु आचार्यलाई शिव हुमागाईले अपदस्थ गरेको समयमा शाक्यको घरमा आचार्य समुहको सेल्टर थियो । तर पनि आचार्यले धोका दिएकाले शाक्य लगायतको समुहले काँग्रेस परित्याग गरेको थियो । उनको सदस्यता आए लगत्तै शाक्य त खुशी छन् नै अन्य काँग्रेसहरु दुखी छन् ।शाक्य जस्ता थुप्रै ब्यक्तिहरुको सदस्यता नविकरण भएको छ । फोरमका नाममा नक्कली सदस्यता भरिएको छ । मरेका, विदेश गएका ब्यक्तिहरुको नाममा सदस्यता बलजफ्ती ल्याईएको छ । पार्टी कब्जा गर्ने रणनीति अनुरुप दुबै समुहले आफ्नो पहुँच भएको स्थानमा सदस्यता थपघट गरेका छन् । पुनः एक पटक पार्टी सभापतिमा हुमागाई र आचार्यको प्रतिस्पर्धा हुने चर्चा शुरु भएको छ । त्यसो नहुँदा हुमागाई सर्वसम्वत सभापति बनेर आचार्यलाई बागमती प्रदेश समितिमा पठाउने तयारी भए पनि सर्वसम्वत हुन नदिन दुबै समुहले विगतका सबै घटनाको फेहरीस्त तयार गरेको छ । प्रतिस्पर्धाबाट डराउनेहरु पछि पनि समानुपातिकमा बस्ने भन्दै अहिले सम्झौतामा लागेका छन् ।अहिले नै गुटमा खुलेर लाग्ने र कुन पदमा उठ्ने भन्ने विषयमा अझै खुलेको छैन । कृयाशिल सदस्यको टुङ्गो लागे पछि मात्रै उम्मेदवारीको विषयमा चर्चा हुनेछ ।