शेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा


काठमाडौं, नेस  । 

मुलुकको राजनीतिक नेतृत्व परिवर्तन भएपछि शेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नयाँ सरकारले पुँजी बजारसम्बन्धी कस्तो नीति लिने हो भन्ने स्पष्ट नभएका कारण लगानीकर्ता पर्खिएका हुन् ।नयाँ सरकारको अर्थमन्त्रीका रूपमा माओवादी नेता जनार्दन शर्माले जिम्मेवारी पाएमा छन् । अर्थ मन्त्रालयमा शर्माको पहिलो प्रवेश हो । शर्माको पुँजी बजारको दृष्टिकोण कस्तो छ, कस्तो नीति लिने हुन् भन्ने विषयमा लगानीकर्ता अन्योलमा रहेकाले बजार अहिले स्थिरजस्तै रहेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १ दशमलव शून्य १ अंकले बढेर २८७२ दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । यस दिन कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । बुधबार २१४ वटा कम्पनीको ४ करोड ४७ लाख ३६ हजार कित्ता शेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपियाँको कारोबार भएको छ । यस दिन हाइड्रोपावर कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको छ। हाइड्रोपावर कम्पनीहरुको शेयरमा खरिद चाप बढ्दा उक्त हाइड्रोपावर समूहको परिसूचक २ दशमलव ७१ प्रतिशतले बढेको छ ।

बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । बुधबार हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ७ दशमलव ७१ प्रतिशत, कालिका पावरको ७ दशमलव ११ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ५ दशमलव ९४ प्रतिशत र साञ्जेन जलविद्युतको ५ दशमलव ७३ प्रतिशतले बढेको छ । तर, अधिकांश म्युचुअल फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।