टेनिस स्टार फेडररद्वारा नाम फिर्ता


टोक्यो, (एजेन्सी) । 

कोरोनाकालमा जापानको राजधानी शहर टोक्योमा ओलम्पिक गर्ने तय भएयता टेनिस स्टारले नाम फिर्ता लिने क्रम जारी रहेको छ ।गत महिना स्पेनका स्टार टेनिस खेलाडी राफाल नाडालले नाम फिर्ता लिएका थिए । अब स्विट्जरल्यान्डका स्टार खेलाडी रोजर फेडररले पनि नाम फिर्ता लिएका छन् । फेडररले घाँसे कोर्ट सिजन (विम्बल्डन २०२१) दौरान उनको घुँडाको चोट समस्या भइरहेको बताए । उनी विम्बल्डनमा नयाँ खेलाडी पोल्यान्डका हुबर्ट हुरकाजसँग क्वार्टरफाइनलमा पराजित भएका थिए ।

फेडररले २००८ ओलम्पिकमा स्वर्णपदक जितेका थिए । यसपछि उनी २०१२ ओलम्पिकमा रजत पदकमा सिमीत भएका थिए । ३९ वर्षीय फेडररले बताए—यसै कारण टोक्यो ओलम्पिकबाट नाम फिर्ता लिने निर्णयमा पुगेको हु । ओलम्पिक खेल्ने र स्विटजरल्यान्डको प्रतिनिधित्व गर्ने मेरो लागि सधै गर्वको कुरा रहेको छ । म सधै यसको लागि तयार छु । तर, अहिले चोटको कारण खेल्न असमर्थ भएँ ।अर्का स्टार

खेलाडी नोभाक जोकोभिचले भने अहिलेसम्म निर्णय लिएका छैनन् । सर्बियाली खेलाडी जोकोभिचले यस वर्ष लगातार तीनवटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । उनले हालै विम्बल्डन जितेर फेडरर र नाडालको २०-२० ग्रान्डस्लाम कीर्तिमानी उपाधिसँग बराबरी गरेका हुन् । ओलम्पिकमा खेल्ने नखेल्नेको द्विविधामा रहेको उनले बताएका छन् ।टोक्यो ओलम्पिक जुलाई २३ देखि ८ अगस्टसम्म आयोजना हुनेछ । तर, टोक्योमा कोरोनाले गर्दा आपतकालीन स्थिति लागू छ । साथै, रंगशालामा दर्शक प्रवेश गर्न पनि रोक लगाएको छ । यसै कारण जोकोभिच टोक्यो यात्रा गर्न द्विविधामा रहेका हुन् । जबकि, नाडाल र फेडररले चोटको कारण विश्राम लिएका छन् ।