हामी कहिले सचेत बन्ने ?


नेपालमा बर्सेनि बाढीपहिरो, भूकम्प, आगजनी, शीतलहरलगायतका प्राकृतिक र मानवीय प्रकोपका कारण लाखौँ जनता प्रत्यक्ष–परोक्षरुपमा प्रभावित हुने गरेका छन् ।प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरुमा समेत हुने गर्छन् तर सरकारले उचित ध्यान दिएको खण्डमा क्षति न्यूनीकरण भने गर्न सकिन्छ ।

प्राकृतिक प्रकोपलाई प्राकृतिक विपद् मान्ने वा मानवीय विपद् भन्ने बौद्धिक बहसको कुरा आफ्नो ठाउँमा छ तर धेरै प्राकृतिक प्रकोपबाट हुने ठूलो जनधनको क्षति भने न्यूनीकरण गर्न सकिन्छ भन्ने प्रमाणित तथ्य हो । जापानलगायतका देशमा धेरै ठूला भूकम्प जाने गर्छन् तर उनीहरुको भूकम्प प्रतिरोधी संरचनाका कारण ठूलो जनधनको क्षति हुँदैन ।बाढीपहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । यो कुरालाई सजिलैसँग बुझ्नका लागि म एउटा उदाहरण दिन चाहन्छु ।५० करोड हाराहारी मानिसहरु बसोबास गर्ने र तिनका लागि आवश्यक खाद्यान्न उत्पादन गर्न सक्ने अत्यन्तै उर्वर गंगाको मैदानी भूभाग र हाम्रो तराईसमेतको निर्माण बाढीपहिरोबाटै भएको हो । त्यहाँ हिमाली क्षेत्रकै माटो बगेर गएको हो । यो रातारात सम्पन्न भएको नभई लाखौं वर्षका दौरानमा बाढीपहिरोको चक्रबाट निर्माण भएको प्रक्रिया हो ।कुनै पनि जनधनको क्षति हुनुमा सर्वप्रथम सरकार नै जिम्मेवार हुनुपर्छ र यसमातहतका मन्त्रालय पनि । अहिले देश संघीय संरचनामा गइसकेको छ । यस्तो अवस्थामा संघीय सरकार र स्थानीय तह पनि उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ ।

अहिले बाढीकै विषयलाई हेर्ने हो भने, त्यसका विभिन्न कारण हुन सक्छन् । मनाङ तथा मेलम्चीजस्ता पहाडी क्षेत्रमा आएको बाढी र बलानजस्तो तराई क्षेत्रमा आएको बाढीको प्रकृति पक्कै पनि फरक होला । यी प्रकृति बुझन सम्बन्धित नदीको जलाधार क्षेत्र र सो क्षेत्रको भूउपयोगको संरचना कस्तो बनेको छ, बुझ्नुपर्छ ।पहाडी भूभागमा तीव्र गतिमा हिउँ पग्लिनु र हिमताल विस्फोटनका कारण पनि तल्लो तटीय क्षेत्रमा अकस्मात् बाढी आउनुका साथै पहिरोका कारण खोला थुनिएर त्यो विस्फोट भई बाढी आउने, नदीको जलाधार क्षेत्रमा एकैचोटि ठूलो पानी पर्ने, जलाधार क्षेत्रमा अवस्थित वनजंगल तथा सिमसार क्षेत्रको विनाश, खोलाको बहावको धेरै वर्षको रिटर्न पिरियड नहेरी जथाभावी संरचना तथा बस्ती निर्माणजस्ता अनेक कारण हुन सक्छन् ।

– पारस थापा, कलंकी, काठमाडौं ।