सिंगापुर छाडेर गाउँमै सफल उद्यमी बने घले

5.7k
Shares

सरस्वती न्यौपाने, रसुवा ।

नौकुण्ड गाउँपालिका–६ घोर्मुका एक युवा सिंगापुरको आकर्षक जागिर छोडेर गाउँमा नै सफल युवा उद्यमी बनेका छन् । २३ वर्षका निमा ग्याल्मो घले घरको आर्थिक अवस्था कमजोर भएकाले ऋण काढेर सिंगापुर गएका थिए ।

बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने अवस्थामा रहेका थिए उनी । स्कुल जानलाई मन भए पनि घरको स्थितिले बीचैमा पढाइ छाडेर २०७५ सालतिर सपनाको भारी बोकेर उनी सिंगापुर हानिए । ऋण काढेर सिंगापुर पुगेका निमा दैनिक १८ घण्टा काम गर्दा महिनाको ६२ हजार रुपियाँ कमाउँथे । तर, यतिको दुःख नेपालमा नै गरियो भने त सुन फलाउन सकिन्छ भन्ने लागेर सिंगापुर गएको दुई महिनामा नै उहाँ नेपाल फर्किनुभयो ।

आफ्नै बाँझो जमिनमा हराभरा बनाउन विगतमा मकै, कोदोमात्रै फल्ने ठाउँमा विभिन्न प्रजातिका तरकारी, मौसमी फलफूल, स्थानीय जातको ओखरलगायत बोइलर कुखुरा २४ सय, लोकल कुखुरा ३ सय र बंगुर १२ वटा उहाँले पाल्नुभयो ।

करिब ३५ लाखभन्दा माथिको लगानीमा ४० रोपनी जग्गा भाडामा लिएर मौसमअनुसारको फलफूल तथा तरकारी पनि लगाएका छन् । धेरै युवालाई रोजगारसमेत दिएका छन् । आफ्नै गाउँमा केही गर्न सकिन्छ र आत्मसम्मान तथा सन्तुष्टि पाइन्छ भनेर नेपाल फर्केको घले बताउनुहुन्छ ।

विभिन्न सञ्चारमाध्यममा कृषि पेसामा कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको जानकारी लिएर काम शुरूआत गरेका घलेले शुरूमा बंगुर र कुखुरासम्बन्धी तालिम लिनुभएको थियो । अहिले देशकै नमुना युवा कृषकको रूपमा चर्चा कमाउनुभएको छ ।

कुखुरा, बंगुर, तरकारी, फलफूलको माग स्थानीय बजारदेखि काठमाडौंको कालिमाटीसम्म माग रहेको उहाँ बताउनुहुन्छ । हाल महिनाको ६० देखि ८० हजारसम्म आम्दानी भएको घलेको कथन छ ।

नेपाल कृषि प्रधान देश भनेर नारामा मात्र सीमित रहेको भन्दै उहाँले जिल्लालाई नमुना कृषि व्यावसायिक जिल्ला बनाउने बताउनुभएकको छ । ‘दुःखका कारण पढ्न सकिनँ, तैपनि दुःखेसो छैन । मैले गरेको कामबाट सन्तुष्टि पाएको छु ।’ –घलेको कथन छ ।

निमा भाइ कृषि फर्म प्राइभेट लिमिटेड दर्ता गरी कृषि पेसा अपनाइरहेका घले एक अहिलेका युवा पुस्ताका लागि उदाहरणीय व्यक्ति बनेका छन् । उहाँले दुई वर्षको अन्तरालमा नै कडा मिहेनत गरी कृषि क्षेत्रमा सफलता पाउनुभएको हो ।

९ जनाको परिवारमा घरको जेठो छोरो रहनुभएका घले आफ्नो पढ्ने चाहना हुँदाहुँदै आर्थिकस्थिति कमजोर भएकाले कमाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

कृषि क्षेत्रमै केही गरौं भन्नेहरूका लागि प्रदेश सरकार र स्थानीय सरकारले प्राथमिकता दिए प्रोत्साहन हुने निमाको भनाइ छ । ‘हामीजस्तो पौरखी युवाका लागि स्थानीय सरकारले बजेट ल्याइदिए राम्रो हुने थियो ।’ –उहाँको कथन छ ।