कौसी खेतीको प्रवर्धनमा व्यास नगरपालिका



मिला दरै, तनहुँ । 

सदरमुकाम दमौलीमा बजारीकरणले गर्दा खाली जमिन पाउनै मुस्किल छ । खाली जमिन नभएपछि तरकारी, फलफूल उत्पादनको स्थानको अभाव छ । जसले गर्दा जमिनमा नभई घरको कौसीबाट आम्दानी गर्न र कुहिने फोहोरमैलाको व्यवस्थापनका लागि व्यास नगरपालिकाले कौसी खेतीलाई प्रवद्र्धन गर्दै आएको छ ।

नगरपालिकाले विभिन्न शहरी क्षेत्रका वडामा तालिम दिन थालेको छ । कौसी खेती आफूले स्वच्छ र ताजा तरकारी खान पाउनुका साथै कौसीबाट नै राम्रो आयआर्जन गर्न सकिने भएकाले यसलाई नगरपालिकाले शहरी क्षेत्रमा प्रवद्र्धन गरिरहेको छ । नगरपालिकाले विभिन्न वडामा तालिम दिनका लागि लामो समयदेखि कौसी खेतीमा आवद्ध रहनुभएकी व्यास नगरपालिका–२ कालिका मार्गकी कल्पना गौलीलाई प्रशिक्षकको रुपमा निम्त्याउने गरेको छ ।

उहाँ पेसाले उद्यमी हुनुहुन्छ । तर, अचेल उहँँको परिचय नै थपिएको छ ‘सफल कौसी खेती किसान ।’ पछिल्लो समय उहाँ दमौलीमा महिला उद्यमीभन्दा पनि सफल कौसी खेती किसानको रुपमा परिचित हुन भएको छ ।

१८ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थाल्नुभएकी कल्पनाले कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बन्नुभएको छ । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर, उहाँ भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उहाँको सफलताले चर्चा धेरै चल्ने गर्छ । बजारबासीलाई कसरतका लागि मर्निङवाकमा देखिन्छन् भने उहाँ सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त देखिनुहुन्छ । उहाँले प्रशिक्षार्थीलाई सुनाउँदै भन्नुहुन्छ–‘मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौला, लौका, साग भान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि बिहानको एक/ डेढ घण्टा बितिहाल्छ र तरकारी पनि ताजा र स्वच्छ खान पाइन्छ ।’ थोरै समय खर्चेर पनि कौसीमा तरकारी फलाउँदा परिवारलाई स्वस्थ राख्न पनि टेवा पुग्ने बताउनुहुन्छ ।

कल्पनासँग कौसीमा कुनै एक याममा दुई किलोसम्म तरकारी फलाएर बिक्री गरेको अनुभव पनि छ । गौलीको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा व्यतित गर्नुहुन्छ । ‘उहाँजस्तै अहिले त शहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ । तर, फेशन जस्तो गरेर कौसी खेती गर्दा महँगो हुन्छ, घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गरी भान्साको फोहोरलाई व्यवस्थापन गर्न यो खेती गर्दा सस्तो पर्न जान्छ,’ उहाँले भन्नुभयो ।

व्यास नगरपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी कौसी खेतीलाई समेटिएकाले यसको महत्व लाई उजागार गरेको उहाँले बताउनुभयो । नगरपालिकाका मुख्य शहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । न्यौपानेले सरसफाई व्यवस्थापनका लागि शहरी क्षेत्रको वडामा कौसी खेतीसम्बन्धी तालिम दिँदै आएको बताउनुभयो । ‘शहरका क्रंक्रिटलाई अर्थोपार्जनको बाटो बनाउन कौसी खेतीलाई प्रवद्र्धनमा लागेका छौं, कौसी खेतीकै माध्यमबाट नगरपालिकालाई हराभरा बनाउने उद्देश्य पनि हो, एकातिर कुहिने फोहोरको व्यवस्थापन पनि हुने, अर्कोतर्फ राम्रो आयआर्जनको पनि गर्न सकिने,’ उहाँले भन्नुभयो ।

‘स्वच्छ र हराभरा नगर’ भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर अगाडि बढेको उहाँको भनाइ छ । व्यास १ का वडाध्यक्ष खरसिंह दरैले चुलोचौकामा मात्र सीमित महिलाले कौसी खेतीबाट मनग्य आम्दानी गर्न सक्ने बताउनुभयो । नगरपालिकाले यसअघि वडा नम्बर २, ३ र ४ मा कौसी खेती सम्बन्धी तालिम दिइसकेको नगरपालिकाको सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले जानकारी दिनुभयो । तालिम लिएकामध्ये केहीको कौसीमा राम्रो उत्पादन भइरहेको ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्