कोरोनाविरुद्ध प्रतिरक्षा प्रणालीको विकास कसरी ?


कोरोना महामारी देशमा अझै घट्न सकेको छैन । केही क्षेत्रमा लकडाउन खुकुलो भए पनि पूर्णरुपमा खुल्न सकेको छैन । यसकारण हामी कोरोनाको जोखिमबाट मुक्त भइसकेका छैनौँ । यसबाट बच्न हामी सचेत रहन जरुरी छ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीदेखि जीवनशैलीमा समेत ध्यान दिन आवश्यक छ । कोरोना संक्रमणबाट बच्न हामीले अझै केही अवधिसम्म सचेत हुनै पर्छ ।

हामीले स्वस्थ रहन रोग–प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । यसका लागि स्वस्थ खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग–प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ । कोरोनाले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ । हामी नेपाली अलि खानपिन तथा जीवनशैलीमा कम ध्यान दिन्छौँ । धेरै भुटेको, तारेको, प्रशोधित गरेको खानेकुरा अनि जंक फुड खाने हाम्रो बानी छ । साथै व्यायाम नगर्ने बानी रहेको छ । त्यसैले आफू स्वस्थ रहन र प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ ।

दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ,, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग–प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसै गरी दैनिकरुपमा व्यायाम, योगजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेप्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्ववेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ ।

क्वारेन्टाइन तथा आइसोलेनसमा बसेका मात्र होइन आमनागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न जरुरी छ । प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडासन, भुजाङ्गासन, तडासन, दण्डासन, आदि योगासन गर्न सकिन्छ । त्यस्तै भस्त्रिका, अनुलोम–विलोम, भ्रामरी र कपालभाती प्राणायाम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

यी खानेकुराको नियमित सेवनले शरीरमा प्रतिरक्षा शक्ति बढ्दै जान्छ ।

रातो डल्ले खुर्सानी : रातो डल्ले खुर्सानीले धेरै भिटामिनहरु दिने गर्छ । चिकित्सकहरुका अनुसार रातो डल्ले खुर्सानीले फलफूलहरुले भन्दा पनि दुई गुणासम्म धेरै भिटामिन ‘सी’ प्रदान गर्ने गर्छ । यसले शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढाउनसमेत मद्दत गर्ने गर्छ ।

ब्रोकाउली : ब्रोकोली भिटामिन र खनिजको साथ स्वास्थ्यवद्र्धक खानेकुरा हो । भिटामिन ‘ए’, ‘सी’, र ‘ई’ का साथै धेरै एन्टिअक्सिडेन्टहरूको मात्रासमेत यसमा पाइन्छ । फाइबरले भरिएको ब्रोकाउली हामीले खाने तरकारीहरुमध्ये सबैभन्दा धेरै स्वस्थकर खानासमेत हुनसक्छ । यसले शरीरको शक्तिलाई अक्षुण्ण राख्नको लागि मुख्य भूमिका खेल्ने गर्छ । यो जतिसक्दो थोरै पकाउनु नै राम्रो मानिन्छ ।

लसुन : लसुन संसारमा लगभग सबैतिर पाइने एक किसिमको खाना हो । यसले शरीरमा स्फूर्ति थप्ने गर्छ । प्राचीन मान्यताअनुसार हाम्रो शरीरमा रहेको इन्फेक्सनविरुद्ध लड्नको लागि लसुन प्रभावकारी मान्ने गरिन्छ । अमेरिकाको नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थका अनुसार लसुनले रक्तचाप कम गर्न र धमनीहरूलाई कडा बनाउने काम गर्छ । लसुनले प्रतिरक्षा प्रणालीमा बढावा दिने गुणयुक्त सल्फर भएका यौगिकहरू जस्तै– एलिसिन आदि प्रदान गर्ने गर्छ ।

अदुवा : अदुवा पनि मानिसको शरीरमा निम्तिने स्वास्थ्य समस्या कम गर्ने अर्को मसलायुक्त खाद्यपदार्थ हो । अदुवाले घाँटीको दुखाइ र अन्य भड्किलो स्वास्थ्य समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्छ ।

पालक : पालक पनि भिटामिन ‘सी’ प्राप्त गर्नको लागि अति उपयोगी तरकारी हो । यो धेरै एन्टिअक्सिडेन्टहरू र बिटा क्यारोटिनले भरिएको हुन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीको क्षमतालाई बढाउन सक्छ । ब्रोकाउली र यसलाई सकेसम्म थोरै पकाइन्छ ता कि यसमा रहेका पोषक तत्वहरुमा कमी नआओस् ।

बदाम : जति बेला शरीरलाई रुघाखोकीको समस्या आउँछ त्यति बेला रोग–प्रतिरोधात्मक क्षमता बढाउनको लागि बदाम उपयोगी हुने गर्छ । यसमा भिटामिन ‘ई’ हुन्छ । भिटामिन ‘ई’ एक स्वस्थ प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण हुन्छ । यो एक किसिमको घुलनशील भिटामिन हो । बदामजस्ता नटहरू भिटामिनले भरिएका हुन्छन्, जसका कारण यसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।

बेसार : बेसार पनि रोग–प्रतिरोधात्मक क्षमता बढाउने एउटा महत्वपूर्ण खानेकुरा हो । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ‘ए’, क्याल्सियम, फस्फोरस, फलाम तत्व आदि प्रचुर मात्रामा पाइन्छ । बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेको कुरा हो । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ भन्ने मान्यता छ । त्यस्तै, महसँग मिसाएर खाएमा घाँटीको समस्या समाधान हुन्छ । एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ ।

अमिला फल : सबैजसो अमिला फलमा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ले शरीरमा डब्लुबीसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

त्यस्तै ताजा खानेकुरा मात्र पकाएर खाने, जंक तथा प्रशोधित खानेकुरा नखाने जस्ता बानीको विकास बालबालिकादेखि नै गराउनुपर्छ । बालबालिकालाई टेलिभिजन र मोबाइलमा खेल्न दिनुभन्दा ३० मिनेट हिँडडुल तथा घरभित्रै व्यायाम गर्न सिकाउनुपर्छ । त्यसै गरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । बालबच्चा तथा बूढापाकालाई २ देखि ३ घण्टाको फरकमा खुवाइराख्नुपर्छ । बूढाबूढीहरुलाई चिसो छिटो लाग्ने हुनाले तातो खान दिने, एकछिन् हिँडाउने, अदुवापानी, बेसारपानी खान दिँदा राम्रो हुन्छ ।

– सरु कार्की, काठमाडौं ।