प्रदेशको बजेट बहुमतले पारित, पालिकामा बहिष्कार

266
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

लामो रस्साकस्सीपछि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभामा आइतबार विनियोजन विधेयकमाथिको छलफल सकिएपछि बजेट पारित भएको हो । बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेमकिपाका सांसद्ले राखेको खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

यसअघि विषयगत् मन्त्रालयमा सांसद्हरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । विपक्षी दलहरुले संसद् अवरुद्ध गरेका विषयबारे स्पष्ट पार्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सबैसँग समन्वय गरी विकास अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बजेटमाथिको छलफलमा विपक्षी सांसद्हरुले बजेट पारित गर्ने हतारले सबै मन्त्रालयको एकमुष्ट छलफल गराएको, बजेटलाई समानुपातिक र आवश्यकताका आधारमा भन्दा आगामी निर्वाचन केन्द्रित गरेर विनियोजन गरेकोलगायत विषयमा धारणा राखेका थिए । सत्तापक्षीय सांसद्हरुले भने बजेटले सबै क्षेत्र, वर्ग र भुगोललाई समेटेको बताएका थिए ।

बागमती प्रदेशको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिष्कार गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत् आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले बहिष्कार गरेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राप्रपा र स्वतन्त्र सांसद् संसदमा थिएनन् भने नेमकिपाले पक्षमा मत राखेको थियो । विपक्षी दलमा नेमकिपाका दुई सांसद्मात्र बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले पनि बजेटको विपक्षमा मत हाल्नुभएन ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको सरकारको आर्थिक वर्ष २०७८/०७९ विनियोजन विधेयक बहुमतले पास भयो । ढुंगेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेकपा एमालेको दुवै पक्षको समर्थनमा पास भएको हो । विपक्षीहरुले हेटौंडा–काठमाडौं सुरुङमार्ग, सञ्चारगृहलाई बजेटलगायत विषयमा आपत्ति जनाएका थिए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले प्रदेश सरकारका तर्फबाट क्षेत्रगत् नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगत्तर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार विनियोजन गर्नुभएको थियो । बजेटमा चालुतर्फ ४५ प्रतिशत्, पु“जीगत्तर्फ ५१ प्रतिशत् र वित्तीयतर्फ ४ प्रतिशत् खर्च हुने अनुमान गरिएको छ । सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

तर, मकवानपुरको कैलाश गाउँपालिकाको बजेट बाँडफाँटमा अध्यक्ष टंकबहादुर मोक्तानले एकलौटी गरेको भन्दै ८ जना वडा अध्यक्षले बैठक बहिष्कार गरेका छन् । असार १५ गते नीति तथा कार्यक्रम पास गरेको पालिकाले बजेटलाई अन्तिम रुप दिन आइतबार कार्यपालिका बैठक बोलाएको थियो । तर, वडा अध्यक्षहरुलाई जानकारी नदिई हेटौंडाको होटलमा बसेर बजेट बाँडफाँट गरेर अध्यक्षले एकलौटी गर्न खोजेपछि बहिष्कार गरिएको वडा अध्यक्षहरुको भनाइ छ । १० वटा वडा रहेको कैलाशमा एमाले र कांग्रेसका समान ४/४ जनाले बैठक बहिष्कार गरेका हुन् ।

वडा–५ का अध्यक्ष छेकु लामाले पालिका अध्यक्ष मोक्तानको मनलाग्दी अब सहन नसकिने बताउनुभयो । पटकपटक पालिका अध्यक्षसँग सामूहिक छलफलमा योजना निर्माण गर्न अनुरोध गरे पनि अध्यक्षले कुनै कुरा नमानेको र चोरबाटोबाट बजेट पास गर्न खोजेका कारण बहिष्कार गरिएको उहाँले बताउनुभयो । बैठक बहिष्कार गर्नेमा वडा–१, २, ५, ६, ७, ८, ९ र १० नम्बर वडा अध्यक्ष रहनुभएको छ ।