एम्बुलेन्स नै बिरामी !

182
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा १ झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ ।‘तपाइ सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् ।

स्थानीय तहको निर्वाचन हुनुअघि नै भारतीय महावाणिज्य दूतावासले निर्मल बस्ती स्वास्थ्य चौकीका लागि एम्बुलेन्स अनुदान सहयोग गरेको थियो । केही वर्ष एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाएको गाउलेहरुले बताएका छन् । गाउँपालिकाले मर्मत गर्न चासो नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको आरोप छ । बिग्रिएको एम्बुलेन्स साढे दुई लाख मर्मत गरेर सञ्चालनमा ल्याएको तर फेरि बिग्रिएपछि मर्मत गर्न नसकेर थन्किएको स्थानीय कुलबहादुर श्रेष्ठले बताउनुभयो ।

स्थानीय सन्तोष श्रेष्ठले पनि गाउँपालिकाले मर्मत नगरिदिएर जनतालाई एम्बुलेन्स सेवाबाट बञ्चित गरेको गुनासो गर्नुभयो । गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले भने स्थानीयले भने जस्तो अवस्थामा एम्बुलेन्स नरहेको जिकिर गर्नुभयो । पुरानोलाई खर्च गर्नुभन्दा नयाँ खरिद गर्न ठीक ठानेर आफूहरुले नयाँ किन्ने सोच बनाएको बताउनुभयो ।

ठोरीमा गाउँपालिकाले सञ्चालन गरेको तीन वटा, क्लब र आश्रमले सञ्चलान गरेको दुई गरी पालिकामा ५ वटा एम्बलेन्स सञ्चालनमा छ । आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स सेवा प्रदान गर्न गाउँपालिका सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।