पाँचखालमा ५० रोपनीको एउटै प्लट, शुरु भयो चक्लाबन्दी र यान्त्रिकरण

22.3k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना सुपरजोन काभ्रेले जिल्लाका पाँचखाल, मण्डनदेउपुर, बेथान्चोक लगायतका क्षेत्रमा चक्लाबन्दी शुरु गरेको छ । चक्लाबन्दी गरिएका जमिनहरुमा सामुहिक खेति शुरु गरिएको छ । ‘थोरै लगानीमा धेरै उत्पादन गर्ने गरी चक्लाबन्दी र यान्त्रिकरण प्रविधि शुरु गरिएको हो’–सुपरजोन जिल्ला समन्वय समितिका संयोजक हरि खतिवडाले भन्नुभयो–‘चक्लाबन्दीले जनशक्ति, लागत घटाउँदै उत्पादन बृद्धी गरेको छ ।’

पाँचखाल नगरपालिका वडा नम्वर २ तिनकुनेमा ५० रोपनीको एउटै प्लट बनाईएको छ । हर्सेमा ५० रोपनी, माझडीमा ५० रोपनी, वडा नम्वर १२ मा १ सय २० रोपनी, वडा नम्वर १३ मा १ सय रोपनी गरी करिव ४ सय रोपनी जमिन चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीले धेरै उत्पादन लिन सकिने विश्वास लागेको कृषक बालकृष्ण सापकोटाले बताउनु भयो । उहाँहरुको समुहमा १३ जना हुनु्हुन्छ । १३ जनाको सामुहिक छलफलबाट ५० रोपनी जमिनमा चक्लाबन्दी गरी खेति शुरु गरिएको सापकोटाले बताउनु भयो । एक्ला एक्लै खेति गर्दा जनशक्ति र लागत धेरै लाग्ने गरेकाले चक्लाबन्दी पछि ठुला ठुला औजारहरुको माध्यमबाट खेति गर्दा सहज हुने र उत्पादन हुने भएकाले चक्लाबन्दी गरिएको सापकोटाले बताउनु भयो । श्रमिक कृषि सहकारी, अनेकोट साना किसान कृषि सहकारीले कस्टम हायरिङ्ग सेन्टर मार्फत उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ । आलु तथा अन्य कृषि उपजका लागि कृषि उपकरणहरु सहज भएको कृषक सापकोटाले बताउनु भयो ।

एक हजार भन्दा धेरै कृषकहरु सहभागि भएका सहकारी मार्फत कृषकहरुले सहज मुल्यमा कृषि उपकरण प्रयोग गर्न पाएको तथा चक्लाबन्दी पछि थप सहज हुने कृषक हरिकृष्ण श्रेष्ठले बताउनु भयो । २८ रोपनीमा एउटै प्लट बनाई चक्लाबन्दी गरिएको श्रेष्ठले बताउनु भयो । पाँचखालमा आलु मात्रै नभई आलुको विउ उत्पादन गर्ने गरी चक्लाबन्दी गरिएको उहाँले बताउनु भयो । चक्लाबन्दीमा यान्त्रिकरणको प्रयोगले थप सहजता भएको उहाँको अनुभव छ । वडा अध्यक्ष हरि खतिवडाले कृषकहरुलाई कम लगानीमा धेरै उत्पादन दिने गरी चक्लाबन्दी र यान्त्रिकरणको ब्यापकता गराउन लागिएको बताउनु भयो । पाँचखाल शहर, कृषि नगर भनिए पनि नगरपालिकाले कृषि कार्यक्रमलाई प्राथमिकता नदिएको कृषकहरुले बताएका छन् ।