संक्रमितको शल्यक्रियामा संक्रमित स्वास्थ्यकर्मी

392
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

कहिले काहि अनौठो संयोग हुने गर्छ । यस्तै एउटा संयोग दोलखा सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा भएको छ । कोरोना संक्रमित डाक्टरले कोरोना संक्रमित विरामीको शल्यक्रिया गरेको । सामान्य प्रसुतीको लक्ष्यण सहित उपचारको लागि आएकी रामेछापको उमाकुण्ड गाँउपालिका वडा नम्बर ४ को १९ बर्षिय लाप्ती शेर्पाको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लगत्तैै उनमा कोरोनाको निमोनीया देखिएपछि अस्पतालले निमोनीयाको उपचार सुरु गरेको थियो । निमोनियाको उपचारकै क्रममा उनलाई बेथा लागेको र सोहि क्रममा बच्चा अड्कीय पछि उनको आपत्तकालिन सल्यक्रिया गर्नु पर्ने भयो । अस्पतालमा जोखिम मोलेर आपत्तकालिन अप्रेसन गर्ने डाक्टर नभएपछि कोरोना संक्रमित बनेका अस्पतालका प्रमुख डाक्टर विनोद दंगाल आफैले उनको सफल सल्यक्रिया गरेका थिए ।

निमोनियाको उपचारकै क्रममा उनलाई बेथा लागेको र सोहि क्रममा बच्चा अड्कीय पछि उनको आपत्तकालिन शल्यक्रिया गर्नुपर्ने भएपछि आफु संक्रमित नै भएपनि उनको अप्रेशनमा संलग्न रहेको अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगालले बताउनु भयो । सिन्धुपाल्चोकको चौतारा संगमचोक गढी नगरपालिका वडा नम्बर ७ घर भएका डाक्टर दंगाल विगत १२ बर्ष देखि दोलखालीको उपचार सेवामा संलग्न छन् । सानैमा बुबा गुमाएका डाक्टर दंगाललाई इटली बस्ने टेरेजा निक्कोलीले पूर्ण छात्रबृत्ति सहित भानुभक्त मेमोरियल विद्यालय काठमाडौँमा विज्ञान विषय बढाएकी थिईन् । गाँउको विद्यालयमा सधै उत्कृष्ट हुने डाक्टर दंगालको पढाईमा रुचि र ज्ञानकै कारण टेरेजाले सहयोग गरेकी थिईन् ।

उनी सुरुमा दोलखा बजारमा रहेको गौरीशङ्कर जनरल अस्पतालमा कार्यरत थिए । हाल उनी सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा कार्यरत रहेका छन् । कोरोना संक्रमितको उपचारमा सक्रिय डाक्टर दंगाल सोहि क्रममा आफैपनि संक्रमित बनेका थिए । जेठ २३ गते कोरोना संक्रमण पुष्टि भएका डाक्टर विनोद दंगालले सोहि अवधिमा झण्डै एक दर्जन जटिल प्रकारका सल्यक्रिया गरेका छन् । डाक्टर दंगालले कोरोना संक्रमीत भएको अवस्थामा प्रसुति, अपेन्डिसाईटीस, हाडर्जोनी र हर्नीयाको अप्रेसन गरेका थिए । कोरोनाको पहलो भेरियन्टको समय देखिनै संक्रमितको उपचारमा सक्रिय डाक्टर दंगाल दोलखामा पहिलो पिसिआर स्वाव लिने र पहिलो खोप लिने स्वास्थ्यकर्मी समेत हुन् ।

दोलखाको १२ बर्षको बसाईको अवधिमा डाक्टर दंगालले जटिल देखि सामान्यसम्म हजारौ सल्यक्रिया गरेका छन् भने ५० हजार भन्दा बढीको बिभिन्न रोगको उपचार गरेका छन् । दोलखामा आफुलाई सबैले माया र सम्मान दिएको बताउने डाक्टर दंगाल अस्पतालमा आफुलाई खोज्दै आउने सबै विरामीलाई समय दिन नपाउदा भने दुःख लाग्ने बताउछन् । सकभर म आफुलाई खोज्दै आउने विरामीको उपचार आफै गर्छु डाक्टर दंगालले भने – तर कैले कहि समय अभाव र अस्पतालमा विरामीको बढी चाँप भएको बेला आफुले हेर्न सकिएन भने चाहि दुःख लाग्छ ।

तस्विर : डाक्टर विनोद दंगाल