रेबिजबाट तीनको मृत्यु, सावधानी अपनाउन आग्रह



काभ्रेपलाञ्चोक ।

प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।

दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । उनले भने, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।” उनका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेगर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।

यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर ९नार्क०को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ । सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्