बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षति

27.5k
Shares

नरेन्द्र केसी, घोराही ।

अविरल वर्षात्पछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ । पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ । यो पुल दाङको देउखुरीमा रहेको छ ।

पुलमा क्षति पुगेको जानकारी पाएपछि स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङले जानकारी दिनुभयो ।

‘दाङको राप्ती र गढवा पालिकाको सीमा राप्ती नदीमा बनेको देशकै दोस्रो लामो सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बुधबारको बाढीले भत्काउँदा यातायात आवागमन बन्द भएकाले शीघ्र मर्मतको काम गर्न पुल डिभिजन नेपालगन्जलाई अनुरोध गरिएको छ’ –उहाँले भन्नुभयो ।

दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ । यो कर्णाली पुलपछिको नेपालकै दोस्रो लामो पुल मानिन्छ । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण कार्य शुरू गरेको पुल निर्माण सम्झौताभन्दाअघि सम्पन्न भएको थियो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेको यो पुलको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयबासीलाई धेरै गाह्रो थियो । पुल निर्माण भएसँगै १५ मिनेटमा राप्ती नदी वारपार गर्न सकिन्छ ।

अविरल वर्षात्का कारण दाङका खोलाहरू जलमग्न भएका छन् । वर्षा शुरू भएयता दुःख दिन थालेको पत्रेखोलामा पुनः आवागमन अवरुद्ध भएको छ । केही दिन यातायात बन्द गरेर कजवे बनाइए पनि ठूलो भेलका कारण यातायात प्रभावित भएको छ ।

बन्द गरिएको यातायात २३ असार बिहानदेखि सञ्चालनमा आए पनि ठूलो भेलका कारण अवरुद्ध भएको छ । सम्झौता भएको सात वर्षसम्म पनि पुल नबन्दा यो खोला दाङका लागि वर्षात्को दुःखका रूपमा देखिएको छ । शुरूमा डिजाइन गलत भएको भन्दै काम ढिला भएको थियो भने पछि निर्माण कम्पनीले काम नगर्दा पुल निर्माण हुन सकिरहेको छैन । कुनै बेलामा दाङका दर्जन बढी खोलामा पुल नहुँदा सास्ती हुने गरे पनि अहिले अन्य खोलामा पुल बनेका छन् भने पत्रेखोलामा मात्रै पुल बन्न बाँकी छ ।

घोराही–तुलसीपुर सडकको कालाखोलामा पनि केहीबेर यातायात अवरुद्ध भएको थियो । खोला पुलभन्दा माथि आएपछि यातायात अवरुद्ध भएको हो । यो खोलामा भेन्टेड कजवे रहेको छ । त्यस्तै घोराहीको चमैसोता बढेर बस्तीमा पसेको छ भने देउखुरीका विभिन्न गाउँ डुबानमा परेको स्थानीयले बताएका छन् ।

बिहानदेखि परेको पानीका कारण राप्ती र बबईमा जल सतह बढेको छ भने बजार क्षेत्रमा पनि उपयुक्त ढल निकासको अभावमा डुबानको समस्या देखिएको छ ।