युरोपमा कोभिसिल्डलाई अनुमोदन

2k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डलाई युरोपका सात मुलुकले अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

आजसम्म नेपालमा भारतमा निर्मित कोभिसिल्ड र चीनमा निर्मित भेरोसेल खोप भित्रिएका छन् । यी खोपका सम्बन्धमा आउने सकारात्मक र नकारात्मक टिप्पणीलाई खोप लगाएका करिब २७ लाख नेपालीले महत्वका साथ हेर्ने गरेका छन् ।

भारतले २८ करोडभन्दा बढी मात्रा कोभिसिल्ड उत्पादन गरेकोमा नेपालले २४ लाख ४८ हजार डोज कोभिसिल्ड प्राप्त गरेको अवस्था छ । पछिल्लो समय विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति दिएका छन् । बीबीसीका अनुसार युरोपका सात मुलुकले पनि कोभिसिल्ड लगाउने व्यक्तिलाई आगमनको स्वीकृति प्रदान गरेको छ ।

यी सात मुलुकमा अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रिस, आयरल्यान्ड, स्विट्जरल्यान्ड र स्पेन रहेका छन् । यसबाहेक इस्टोनियाले भारतले स्वीकार गरेका कोरोनाविरुद्धका सबै खोपलाई अनुमोदन गर्ने जनाइसकेको छ । भारतले आफ्नो मुलुकले निर्माण गरेका खोपलाई अनुमोदन नदिने हो भने युरोपमा निर्मित खोप लगाउने व्यक्तिलाई आफूले पनि स्वीकार नगर्ने जनाएको थियो ।

गत बिहीबार युरोपले जारी गरेको ‘ईयू डिजिटल ग्रिन सर्टिफिकेट’ मा कोभिसिल्डलाई मान्यता नदिईएका कारण यो खोप लगाउनेले हीनताबोध गरेका थिए । तर, सो प्रमाणपत्र युरोपेली नागरिकका लागि मात्र भएको बुझिएको छ ।

कोभिसिल्ड युरोपकै एस्ट्राजेनिका खोपको भारतीय स्वरूप मात्र हो । एस्ट्राजेनिकालाई युरोपले स्वीकार गर्ने तर कोभिसिल्डलाई स्वीकार नगर्ने व्यवहार पक्षपातपूर्ण हुने भारतीय पक्षको धारणा छ ।

अन्ततः यसलाई युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले अनुमोदन गरेको जनाइएको छ । भारतीय विदेश मन्त्रालयको कूटनीतिक प्रयासका कारण ईएमएले अनुमोदन गरेको पनि जनाइएको छ । कोभिसिल्डजस्तै कोभ्याक्सिन खोप लगाएका व्यक्तिलाई पनि युरोपले आवागमनमा अनुमति दिएको छ ।