अमेरिकी अनुदानको खोप नेपाल आउने

3.8k
Shares

काठमाडौं, (नेस) ।

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो ।

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउने विषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उद्धृत गरी लेखेको पत्रले प्रस्ट्याएको छ ।

मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसार १५ लाख ३४ हजार आठ सय ५० डोज अमेरिकी खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।

हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले विकास गरेको भारतीय ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ । यी दुवै खोप दुई मात्रा लगाउनुपर्ने खोप हुन् ।

कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशत खोप नेपाललाई निःशुल्क उपलब्ध गराउने भनेकोमा तीन महिना अघि पहिलो चरणमा तीन लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको खोप लक्षण नदेखिई हुने संक्रमण नियन्त्रणका लागि पनि प्रभावकारी हुने दाबी गरिँदै आएको छ । उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । खोपको प्रभावकारिताका विषयमा थप अध्ययन अनुसन्धान रिपोर्ट विस्तृतरूपमा सार्वजनिक भने भइसकेको छैन ।