स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फकै सचिवको दरबन्दी स्वीकृत

266
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खाली गरिएको स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी सोमबार बसेको मन्त्री परिषद बैठकले पुनः स्वीकृत गरेको छ । दुई बर्ष देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव दरबन्दीनै खारेज गरि प्रसाशनिक कर्मचारीलाई स्वास्थ्य सचिव बनाउँदा दुई वर्षमा ७ जना सचिव परिवर्तन भएका थिए ।

स्वास्थ्य सेवा ऐनको दफा १९ को सचिव सम्बन्धी व्यवस्थामा सचिवको नियुक्ति स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था रहेकोछ ।

तर नेपाल सरकारले भैरहेको दरबन्दी हटाएर स्वास्थ्य सेवा तर्फका तत्कालिन सचि डा.पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा खटाउँने देखि सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयमै हाजिर गराउँन अन्तरिम आदेश दिँदा समेत उहाँलाई काम दिनुको सट्टा अर्को प्रशासनिक तर्फको सचिव नियुक्त गरि स्वास्थ्य मन्त्रालयको कामकाज प्राय ठप्प पार्ने सम्मको कार्यमा जुटेको सरकारले हरेक ३ महिनामा सचिव बदल्ने सम्मका कार्य गर्दै आएको आरोप स्वास्थ्य विज्ञहरुको रहेकोछ ।

स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने वातावरण नै नदिएपछि २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गर्दै सरकारले आफु निकटका प्रशासनिक तर्फका व्यक्तिलाई सचिव बनाएकै कारण स्वास्थ्य मन्त्रालयको कामकाजमा निकै विवाद आएको स्वास्थ्य मन्त्रालयकै उच्च पदस्त कर्मचारीहरु बताउँछन् ।

प्रशासनीक तर्फको सचिव भएकै कारण स्वास्थ्य मन्त्रालय कोरोनाको पहिलो चरणमा आवश्यक औषधि तथा उपकरण खरिदका बिषयमा निकै बिबादमा परेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यदि स्वास्थ्य सेवा तर्फको सचिवको नेतृत्वमा काम भएको थियो भने नेपालमा कोरोना महामारीका बेला, औषधि, खोप व्यवस्थापन यति लथालिंग र विवादित नहुने पनि स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रालयको सचिवका लागि योग्यता पुगेका स्वास्थ्य मन्त्रालयमा कार्यरत १२औँ तहका स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह र प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ तीन जना हुनुहुन्छ भने श्रेष्ठको आउँदो साउन महिना देखि उमेर हदका कारण सेवा निबृती हुदैछ । अब कानूनी रुपमा सचिवका लागि योग्य डा. पोखरेल र सिंह हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ६ मन्त्री र ७ जना सचिव फेरिए ।