सुख्खा क्षेत्र तेमालको घर घरमा पानी

6.4k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

सुख्खा क्षेत्र तेमाल गाउँपालिकाका सबै वडाहरु, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका केहि वडाहरुमा खानेपानी उपलब्ध हुने भएको छ । पहिलो चरणको ४१ करोड र दोश्रो चरणको १ अर्ब २७ करोडको लागत अनुसार दुबै चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तेमाल सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संग्रामजित लामाले केहि महिना भित्रै सबै घरमा खानेपानी उपलब्ध हुने बताउनु भयो ।

‘खानेपानीको कार्य अन्तिम चरणमा पुगेको छ, केहि महिना भित्र घर घरमा खानेपानी उपलब्ध हुनेछ अहिले परिक्षणको कार्य भईरहेको छ’–अध्यक्ष संग्रामति लामाले भन्नुभयो–‘तेमालको सुख्खा क्षेत्र अब हराभरा बन्नेछ । पानीकै कारण बसाई सर्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।’ खानेपानीको उपलब्धता नभएका कारण तेमाल क्षेत्रबाट बसाई सर्ने क्रम बढिरहेको थियो भने बस्ति भएको टोलमा पनि बस्तुभाउ विक्री गर्ने अवस्था थियो । खानेपानीका लागि घण्टौ हिड्नु पर्ने, गुणस्तरीय खानेपानी सहज रुपमा उपलब्ध नहुने, हरियो तरकारी खान समेत बजार पुग्नु पर्ने बाध्यताको अन्त्य हुन लागेको अध्यक्ष लामाले बताउनु भयो ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले तेमाल क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्नु भएको थियो । एमाले नेता गोकुल बास्कोटाले काभ्रे जिल्लाका विभिन्न स्थानका आवश्यकता सहितको विकासको खाका प्रस्तुत गरे सँगै अर्थमन्त्री भरतमोहन अधिकारीले तेमालका लागि बजेट विनियोजन गर्नु भएको थियो । २०६८ सालमा नेकपा एमालेले तेमालको सुख्खा क्षेत्रमा खानेपानीको लागि छलफल प्रारम्भ गरेको थियो । २०७२ भदौ २१ गते आयोजना संचालन सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

पहिलो चरणको आयोजनामा ४१ करोड ७३ लाख ५४ हजार ५ सय ८६ रुपैया लागतमा ९० प्रतिशत नेपाल सरकारले ब्यहोर्ने र उपभोक्ताले १० प्रतिशत ब्यहोर्ने सम्झौता भएको थियो । जस मध्ये १ प्रतिशत नगद ४१ लाख ७३ हजार ५ सय ४५ रुपैया घरघर रकम उठाएर जम्मा गरिएको अध्यक्ष लामाले बताए । २०७३ बैशाख २६ गते देखि उक्त आयोजना सम्झौता भई कार्य प्रारम्भ भएको थियो ।

दोश्रो चरणको लागत १ अर्ब २७ करोड २४ लाख ६२ हजार ९ सय ५९ रुपैया मध्ये ९० प्रतिशत नेपाल सरकार १० प्रतिशत उपभोक्ताले ब्यहोर्नु पर्ने गरी सम्झौता भएको थियो । उपभोक्ताले ब्यहोर्नु पर्ने १ प्रतिशत नगद १ करोड २७ लाख २४ हजार ६ सय ३० रुपैया र जनश्रमदान ११ करोड ७२ लाख २ हजार ४ सय ७० रुपैयाको ब्यवस्थापन भईरहेको छ । ७७ करोड २३ लाख ७२ हजार ९ सय ३२ रुपैयामा दोश्रो ठेक्का सम्झौता भएको छ ।

जनश्रमदानबाट गर्ने कार्य शुरु भईरहेको छ भने नगद जम्मा गर्नु पर्ने मध्ये तेमाल गाउँपालिकाले ९९ लाख ८४ हजार ६ सय ८७ रुपैया, नमोबुद्ध नगरपालिकाले ३३ लाख रुपैया उपलब्ध गराएको छ । नमोबुद्ध नगरपालिकाको वडा नम्वर ३, ४ र ५ वडाका सर्वसाधारणले खानेपानी उपभोग गर्नेछन् । ९ हजार ३ घरधुरीमा उपलब्ध हुने खानेपानीका लागि स्थानीय स्तरबाट समेत रकम उठेको छ । खानेपानी आयोजना सम्पन्न भए लगत्तै २८ हजार नागरिक खानेपानीबाट लाभान्वित हुनेछन् । मेथिन्कोट, कटुञ्जे, कानपुर, संस्युखर्क, बोल्दे, सरमथली, ठुलोपर्सेल, नारायाणस्थान, चापाखोरी र मेच्छे लगायतका स्थानबाट रकम संकलन भएको अध्यक्ष लामाले बताउनु भयो ।

सुनकोशी खोला देखि साढे ५ किलो मिटर लिफ्ट गरी शुरु गरिएको खानेपानीका ट्याङ्गकी निर्माण धमाधम भईरहेको छ । सरकारले लिफ्ट पानीको विजुलीको रकम निशुल्क गरेपछि उपभोक्ताहरुले खानेपानीको महशुल पनि कम हुने भएको छ । नियमित मर्मत र कर्मचारी ब्यवस्थापनका लागि श्रोत संकलन हुने गरी खानेपानीको महशुल निर्धारण गर्न लागिएको छ ।