सिंहदरबार प्रबलीकरणको काम धमाधम, अबको ६ महिनामा निर्माण सम्पन्न हुने

1.2k
Shares

मधुसूदन रायमाझी, काठमाडौं । 

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रबलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट धमाधम पुनर्निर्माणको काम अगाडि बढेको छ । भूकम्पले क्षति पु¥याएको भवनको निर्माण शुरु भएको यस अवधिमा ५० प्रतिशत काम सम्पन्न भएको छ । लकडाउनको अवधिमा पनि प्रबलीकरणको कामलाई निरन्तरता दिएका कारण अबको ६ महिनाभित्र निर्माण सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भनाइ छ ।

सिंहदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरूको प्रबलीकरणमार्फत पुरानै शैलीमा निर्माणको काम अगाडि बढाएको थियो । राष्ट्रिय महत्वका रूपमा रहेका ऐतिहासिक भवनहरूको मौलिकता बचाउँदै पुरानै निर्माण सामग्री प्रयोग गरेर पुरानै स्वरूपमा फर्काउने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

वैज्ञानिक विधिको प्रयोग गरी जीर्ण घर तथा भवनलाई सुरक्षित बनाउने विधिलाई ‘रेक्ट्रोफिटिङ’ अथवा ’प्रबलीकरण’ भनिन्छ । प्राविधिक सुझावअनुसार प्राधिकरणले सम्भव भएका निजी आवास, सार्वजनिक भवन र सांस्कृतिक सम्पदाहरूको प्रबलीकरणमार्फत पुनर्निर्माणको काम गर्दै आएको छ । घिमिरेले भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक भवनहरूलाई प्राधिकरणले थप मजबुत बनाउने गरी आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी प्रबलीकरण गरिरहेको बताउनुभयो ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले ऐतिहासिक भवनहरूको मौलिकतालाई कायम राख्दै प्रबलीकरणको विधिबाट सम्पदा जोगाउने काम गरिरहेको छ । प्रबलीकरणमार्फत ऐतिहासिक भवनहरूको वास्तुकला, सौन्दर्य र मौलिकतालाई बचाउँदै काम गरिरहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले बताउनुभयो । उहाँले नेपालमा राणाकालीन भवनहरूको विशिष्ट वास्तुशैली र पुरातात्विक महत्वका सम्पदालाई संरक्षण गर्ने कार्य आफूहरूले काम गरिरहेको बताउनुभयो ।

निर्माण सम्पन्न उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरू सिमेन्ट, बालुवा, छड, ‘बोन्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरेर गरिएको छ । भूकम्पको कारण क्षति पुगेको भवनको उत्तर, पूर्व र दक्षिण खण्डको प्रबलीकरण २०७७ फागुन ३ गते सम्पन्न भएर भूकम्पको कारण हटेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सोही भवनबाटै सञ्चालनमा आइसकेको छ । ऐतिहासिक महत्वको भवनलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत निर्माण गरिएकाले सिंहदरबारले पुनः आफ्नो मौलिक पहिचान पाएको प्राधिकरण सहप्रवक्ता घिमिरले बताउनुभयो । काठ, फलामको पाता, सुर्की र चुनालगायतका निर्माण सामग्रीको प्रयोग गरेर सिंहदरबारको प्रबलीकरण गरिएको हो । भवनलाई भूकम्प प्रतिरोधी बनाउने भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुदरूपमा कसेर निर्माण गरिएको छ ।

नेपालको सन्दर्भमा प्रबलीकरण निकै कठिन काम भए पनि पर्याप्त अध्ययन अनुसन्धानमार्फत झन्डै अस्तित्व नै लोप हुन लागेका ऐतिहासिक भवनलाई पुरानै स्वरूपमा उठाउन सफल भएको केन्द्रीय अयोजना कार्यान्वयन एकाइका उपआयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताउनुभयो ।

हाल लकडाउनको अवधिमा पनि कठिन मानिएको सिंहदरबारको पश्चिमी खण्डको काम धमाधम भइरहेको छ । बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै निर्माणको काम गरिएको प्राधिकरणले बताएको छ । विश्वकर्माले ऐतिहासिक भवनलाई उच्च प्रविधिको प्रयोग गरेर पुरानै शैलीमा प्रबलीकरणमार्फत निर्माण गरिएको बताउनुभयो ।

शर्मा न्यु टेक्निकलले अहिले पश्चिमी खण्डको पनि प्रबलीकरणको काम गरिरहेको छ । २०७६ असोज २७ बाट शुरु भएको पश्चिमी खण्डको ५० प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी काम पनि तीव्र गतिमा भइरहेको छ । भ्याटबाहेक ४१ करोड ७९ लाखमा निर्माणाधीन सिंहदरबारको प्रबलीकरणको काम समयसीमाभित्र नै सम्पन्न गर्ने लक्ष्य राखेको निर्माण कम्पनीका प्रतिनिधि सूर्य सुवेदीले बताउनुभयो ।
प्राधिकरणले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रबलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश ऐतिहासिक भवन निर्माण गरेर दिएको छ । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउँदा आम नागकिरलाई पनि प्रबलीकरणप्रति विश्वास बढाउन सकिएको विश्वकर्माले बताउनुभयो ।

१९६० सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोपियन शैलीमा सिंहदरबारको निर्माण गर्नुभएको थियो । २०३० सालमा आगलागी हुँदा दरबारको पश्चिमी मोहडाबाहेक उत्तरपूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । आगलागीबाट नष्ट भएका तीनवटा खण्डको २०३७ सालमा पुरानै शैलीमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी पुनर्निर्माण गरिएको थियो । तर, २०७२ मा आएको विनाशकारी भूकम्पले यस भवनलाई पनि क्षति पुर्‍याएको थियो ।