सञ्चार विधेयकको नागरिक तहबाट समेत विरोध शुरु



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको नागरिक तहबाट समेत विरोध शुरु भएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सोमवार अन्तरसंवाद कार्यक्रम नै गरेर विधेयकका बारेमा छलफल गरेको हो । प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको विद्येयक फिर्ता गरेर पूर्ण पे्रस स्वतन्त्रतामैत्री र मानव अधिकारमैत्री बनाउन शान्ति समाजले माग गरेको छ ।समाजका केन्द्रिय सभापति गोविन्द खनालले विद्येयकको ड्राफ्ट संविधानको भावना विपरित आएको बताउनुभयो । विद्येयक फिर्ताका लागि शान्ति समाजले शान्तिपूर्ण आन्दोलन शुरु गर्ने बताउनुभयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले संविधानको भावना विपरित पूर्ण प्रेस स्वतन्त्रता बिरोधी विद्येयक पुर्नलेखन नहुंदासम्म मान्य नहुने बताउनुभयो । उहाँले सरकारले आफ्ना कमजोरी लुकाउन सञ्चार विधेयक ल्याएर विषान्तर गर्न खोजेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेश संयोजक विष्णु भुसाले पत्रकारलाई सजाय दिलाउने भन्दा पनि मिडिया हाउस नै डुबाउने षडयन्त्र स्वरुप सञ्चार विधेयक ल्याइएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई नै पहिलो निशाना बनाइएकाले विधेयक पुर्नलेखनको माग गर्नुभयो ।

नेपाल पे्रस युनियन रुपन्देही सभापति रेखा भुसालले सरकारले पत्रकारहरुको सुझाव नै नलिएर एकतर्फी रुपमा विधेयक ल्याएको बताउनुभयो । उहाँले विधेयक दफा ६९ देखि ८४ सम्मका बुँदाले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दण्ड सजाय मात्रै तोकिएको बताउनुभयो ।

अन्तरसंवादमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, मानव अधिकार तथा शान्ति समाजका सचिव मिना ढकाल, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही अध्यक्ष श्यामलाल पोखरेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष डिपी खनालको अध्यक्षता, सचिव कपिल ज्ञवाली, पत्रकार फुलु सुनारले बोल्दै विद्येयक पुर्नलेखन गरी पे्रसमैत्री विद्येयक ल्याउन लुम्बिनी प्रदेश सरकारसंग माग गर्नुभयो । विधेयकको चौतर्फी विरोध भएपनि सरकारले भने यसतर्फ अझै चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्