काठमाडौंमा धारिलो हतियार प्रहार गरी एक जनाकाे हत्या, दुई पक्राउ



काठमाडौं ।

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु)प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।

चन्द्रागिरि–३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट र तामाङलाई सोही नगरपालिका–१ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ कारवाहीमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५३० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर चालकलाई सचेत गराएको छ । सोही क्रममा प्रहरीले निःशुल्क मास्क वितरण अभियान चलाइरहेको छ । हालसम्म चार लाख ६१ हजार ९९ लाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ लाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरी रु १५ हजार जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्